डा. मुकुल ढकालको राजनीतिक व्यभिचार !
राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट बर्खास्त भएका डा. मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्दै मनको भँडास पोखे । भँडासमात्र पोखेनन्, हिजोसम्म आफैंले कमाण्ड गरेको पार्टी, यसका सभापति र नेताहरुलाई नराम्ररी आक्षेपसमेत लगाएका छन् ।
मुकुलको मुख्य निशानामा थिए पार्टी सभापति रवि लामिछाने । हिजोसम्म उनै रविको काँधमा चढेर पार्टीमा रजगज गरिरहेका ढकालले आज काँधमै पिसाब फेरिदिएका छन् । रविविरुद्ध विगतदेखि जुन हतियार विरोधीहरुले प्रयोग गर्दै आएका छन्, तिनै हतियार आज मुकुलले उज्याए, तर यसरी उज्याउँदा आफ्नो राजनीतिक इमान र निष्ठा खरानी भएको पत्तो पाएनन् ।
डा. ढकालले रवि लामिछानेमाथि उठाएका केही प्रश्न जायज पनि मानिन सक्थे, तर हिजोको दिनसम्म तिनै मुद्दामा फ्रन्टलाइनमा उभिएर बचाउ गर्दै आएका व्यक्तिले आज कारबाहीमा परेपछि बोल्नुको कुनै तुक होला र ? रविविरुद्ध छानबिन समिति बनाउनुपर्ने प्रस्ताव उनले आफू शक्तिशाली महामन्त्री हुँदा नै किन बैठकमा लगेनन् ? पासपोर्ट र सहकारी प्रकरण अहिले भर्खर जन्मेका विवाद हुन् र ? रवि गलत नै हुन् भन्ने लाग्थ्यो भने आजका दिनसम्म किन उनको पुच्छर समातेर बसिरहे ? किन पहिल्यै राजीनामा दिएर हिँडेनन् ? आन्तरिक लोकतन्त्रको दिव्यज्ञान उनलाई पदबाट लखेटिएपछि मात्रै किन फुर्यो ?
यी प्रश्नहरु आजको पत्रकार सम्मेलनमै उठ्ने थिए, तर मुकुलले पत्रकारलाई प्रश्न सोध्ने मौका नै दिएनन् । आफ्नो एकतर्फी भाषण सकिनासाथ उनी पत्रकार सम्मेलनबाट टाप कसे । पत्रकारले रोक्न खोज्दा भने, ‘मेरो एउटा अन्तर्वार्ता बुक भइसकेको छ, त्यसमा बोल्छु ।’ सायद त्यो ‘अन्तर्वार्ता’ मा उनले चाहेका प्रश्नहरुको मात्रै सामना गर्नुपर्नेछ ।
हिजोसम्म उनै रविको काँधमा चढेर पार्टीमा रजगज गरिरहेका ढकालले आज काँधमै पिसाब फेरिदिएका छन् । रविविरुद्ध विगतदेखि जुन हतियार विरोधीहरुले प्रयोग गर्दै आएका छन्, तिनै हतियार आज मुकुलले उज्याए, तर यसरी उज्याउँदा आफ्नो राजनीतिक इमान र निष्ठा खरानी भएको पत्तो पाएनन् ।
आफूले अरुलाई अनेक प्रश्न सोध्ने, तर पत्रकारलाई प्रश्नमै बन्देज लगाएर ढकालले आफ्नो अधिनायक चरित्रको एक झलक देखाइदिए, जुन चरित्रबाट आजका दिनसम्म रास्वपाका नेता कार्यकर्ताहरु आजित भइरहेका थिए । पार्टीमा उनी यतिसम्म अलोकप्रिय रहेछन् कि ५२ सदस्यीय केन्द्रीय समितिमा उनलाई कारबाही गर्न नहुने पक्षमा एक जना केन्द्रीय सदस्य पनि उभिएनन् । दुई वर्षसम्म पार्टी हाँक्दा एक जनालाई मात्र पनि खुशी बनाउन सकेका रहेछन् । यसैबाट उनको कार्यशैलीबारे अन्दाज लगाउन सकिन्छ ।
डा. मुकुल ढकालको आजको प्रस्तुति उनलाई नजिकबाट चिन्नेहरुका निम्ति अनपेक्षित होइन, तर तल्लो तहका नेता कार्यकर्ताहरु तीनछक परेका छन् । हिजोसम्म रविको आड लिएर अरुमाथि तानाशाही लाद्ने व्यक्तिले आज यही पार्टीलाई ‘रविको क्लव’ भनिदिए । आफूले हालिमुहाली गर्न पाउँदासम्म ‘पार्टी’ थियो, नपाएपछि क्लव भयो । यतिसम्म कि उनले पार्टीको आर्थिक पारदर्शितामा पनि प्रश्न उठाए । जबकि पार्टीमा यो सबै विषय उनकै पकड र नियन्त्रणमा थियो ।
रास्वपाले मुकुललाई कारबाही गर्दा उनी पार्टीमा पुनःस्थापिन हुनसक्ने सानो स्पेस राखेको थियो । अनुशासन आयोगले उनलाई पूर्ण रुपमा निष्कासन नै गर्नुपर्ने प्रतिवेदन दिए पनि केन्द्रीय समितिले सदासयता देखाएर साधारण सदस्यता कायम राख्ने निर्णय लियो । साथसाथै उनलाई कारबाही चित्त नबुझेमा ३५ दिनभित्र पार्टीमा पुनरावेदन गर्नसक्ने लचिलो अप्सन पनि दिइयो ।
कतिपयलाई अझै आशा थियो कि मुकुलले आफ्नो गल्तीको रियलाइजेसनसहित पुनरावेदन गर्नेछन् र केन्द्रीय समितिमा फिर्ता हुनेछन्, तर आजको पत्रकार सम्मेलनपछि त्यो सम्भावनाको पनि ढोका सायद बन्द भएको छ । उनी कसैले नसोचेको ‘एक्स्ट्रिम’ मा गइदिए । क्षणिक लोकप्रियताको लोभमा हो वा कसैको उक्साहटमा हो, अहिले भन्न सकिने अवस्था छैन, तर जे गरे त्यो आश्चर्यजनक छ ।
पार्टीमा उनी यतिसम्म अलोकप्रिय रहेछन् कि ५२ सदस्यीय केन्द्रीय समितिमा उनलाई कारबाही गर्न नहुने पक्षमा एक जना केन्द्रीय सदस्य पनि उभिएनन् । दुई वर्षसम्म पार्टी हाँक्दा एक जनालाई मात्र पनि खुशी बनाउन सकेका रहेछन् ।
हिजो विवेकशील पार्टीबाट रास्वपामा आएका उनी हुनसक्छ, अर्को पार्टीमा हाम्फाल्ने तयारी गरिरहेका छन् । केही समयदेखि उनी निरन्तर बालेनको चाकडी गरिरहेकोबारे पनि रास्वपा बैठकमा चर्चा चलेको थियो, तर अब यस्तो व्यक्तिलाई कसले विश्वास गर्ला, जसले जुन थालमा खायो, त्यसैमा प्वाल पारेर हिँड्छ ? मुख्य कुरा नयाँ पुस्ताका राजनीतिकर्मीमा पनि इमानको उस्तै खडेरी छ भन्ने देखियो । यो स्तरको छुराधसाइ त सायद पुरानै नेताहरुले पनि नगर्लान् । राजनीतिक व्यभिचार हो यो ।
रवि लामिछाने उनै हुन्, जसले सार्वजनिक प्रोफाइल नभएका एक मामुली अभियन्तालाई पार्टीको महामन्त्रीमा स्थापित गरिदिएका थिए । ढकाल आफैंले महामन्त्रीलाई प्रशस्त अधिकारको व्यवस्थासहित पार्टीको विधान बनाए । पार्टीका यावत नीति-निर्णयहरुमा उनी हावी भए । रवि लामिछानेको नाम लिएर सबैतिर फाइदा उठाए । पार्टीभित्र मात्र होइन, पार्टीका मन्त्रीहरुको सचिवालयको नियुक्तिमा पनि हस्तक्षेप गर्थे । उनका यस्ता सबै अनर्गल क्रियाकलापलाई छुट दिँदै आएका थिए सभापति लामिछाने । अन्ततः ढकालले अन्तिम प्रहार उनैलाई गरे ।
राजनीतिमा लागेयता चौतर्फी प्रहार खेप्दै आएका लामिछाने सम्भवतः थेत्तरो भइसकेका होलान्, तर सबैभन्दा नमीठो प्रहार चाहिँ यही नै हुनसक्छ । विरोधीले गर्ने गालीभन्दा ‘आफ्ना’ले लगाउने वचन सहन गाह्रो हुन्छ । रवि विरोधीको सूचीमा अर्को एक जना थपिएका छन् । अब केही दिन मुकुल ढकालका अन्तर्वार्ताहरु छ्याप्छ्याप्ती हुनसक्छन्, तर आशा छ उनी अर्को युवराज सफल नबनून् ।
दलालको काम मालिकको आदेश मान्ने हो । आदेश मानेर बरबराईरहेको अवस्था ।
निभ्न लागेको बत्तिको चहकिलो चमक।
मान्छे कतिसम्म कृतघ्न हुनसक्छ भन्ने एउटा गतिलो उदाहरण भयो मुकुल!
आफ्नै राजनितिक कैरियर सखाप पारे मुकुलले ! अब यिनलाई कस्ले विश्वास गर्छ ?