अध्यक्ष नेपालको दाबी- रेडक्रस पारदर्शी छ, परिषद्ले भ्रम फैल्याउने प्रयास गर्‍यो – Nepal Press

अध्यक्ष नेपालको दाबी- रेडक्रस पारदर्शी छ, परिषद्ले भ्रम फैल्याउने प्रयास गर्‍यो

काठमाडौं । प्रचलित कानूनअनुसार नै रक्त सञ्चार सेवा र संस्थागत सुशासनका गतिविधि अघि बढाइएको नेपाल रेडक्रस सोसाइटीले स्पष्ट पारेको छ । सोसाइटीले बुधबार पत्रकार सम्मेलन गर्दै समाज कल्याण परिषद्को छानबिन प्रतिवेदनको सन्दर्भ उल्लेख गरी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालले सोसाइटीले मानवीय सेवाका क्षेत्रमा क्रियाशील संस्थाको छवि कमजोर पार्ने र भ्रम सिर्जना गर्ने प्रयास भइरहेको बताउदैँ वर्तमान कार्यसमितिले रक्तसञ्चार सेवा र संस्थागत सुशासनको सम्बन्धमा थालनी गरेका सकारात्मक कदमप्रति नियोजित र प्रायोजित ढङ्गबाट दुष्प्रचार गरिएको बताए ।

राजनीतिक हस्तक्षेप र लामो समय कार्यसमिति विहिन नहोस् भनेर देशभरका रेडक्रसकर्मीको सहभागितामा विधिसम्मत वर्तमान कार्यसमिति चयन भएको बताउदैँ उनले केही व्यक्तिले रेडक्रसको छवि बदनाम गराउने प्रयत्न गरेकामा चिन्ता व्यक्त गरे । उनले विद्यमान कार्यसमिति पारदर्शीता, जवाफदेहिता, आर्थिक अनुसशासन र सेवाको गुणस्तर पालना गर्न प्रतिबद्ध रहेको बताए ।

विश्व स्वास्थ्य सङ्गठन तथा अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)लगायत गुणस्तर मापन गर्ने निकायमा सूचीकृत रिएजेन्ट, परीक्षण र उपकरणको प्रयोगबाट रक्तसञ्चार सेवा प्रवाह हुँदै आएको सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले बताए ।

उनले राष्ट्रिय रक्तसञ्चार नीति, २०७१ मा उल्लेख भएअनुसार रक्तदाताको छनोट, रक्तदान प्रक्रिया, रक्तसङ्क्रमण परीक्षण, उपकरणको मर्मतसम्भार र फोहर व्यवस्थापनका मापदण्ड पालना गरिएको स्पष्ट पारे । सोसाइटीले उपलब्ध गराउने रगतमा कुनै प्रकारको कमीकमजोरी नरहेको उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *