लागू औषध नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री भाट – Nepal Press

लागू औषध नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री भाट

कैलाली । सुदूरपश्चिम प्रदेशका स्वास्थ्य, महिला तथा ज्येष्ठ नागरिक मन्त्री ओम विक्रम भाट सरलले लागू औषध नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।

कैलालीको टिकापुरमा आयोजित ‘बहुमूल्य स्वास्थ्य मेरो स्वास्थ्य’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री भाटले लागू औषधका कारण प्रदेशमा ठूलो समस्या पैदा भएको भन्दै प्रदेश सरकार त्यसविरुद्ध लागिरहेको बताए । उनले परिवारबाटै यस विषयमा सचेतना फैलाउन आवश्यक रहेको जनाए ।

‘लागु औषध दुर्व्यसनीका कारण पुरै पुस्ता सकिने खतरा बढेको छ हामीले यसलाई नियन्त्रण गर्नु पर्छ’ उनले भने ‘प्रदेश सरकार यस विषयमा गम्भीर छ तपाइहरू पनि आफ्नो ठाउँबाट लागु औषध विरुद्धको अभियानमा सरिक हुनुहोस् ।’

सामूहिक रुपमा अभिभावक, शिक्षक प्रहरी सबै लाग्छु लागेर सभ्य समाज बनाउन सकिने उनले बताए ।

डिप्रेसनका कारण अहिले नसर्ने रोगहरू बढिरहेको भन्दै यस विषममा पनि सचेत हुनुपर्ने अवस्था रहेको मन्त्री भाटको भनाइ थियो ।

टीकापुर वडा नम्बर १ का वडाध्यक्ष मोहन विकले समुदायस्तरबाट लागु औषध नियन्त्रण गर्न सहज हुने बताए ।

विद्यालय र स्वास्थ्य क्षेत्रको करिब एक सय मिटर वरिपरि मदिरा तथा सुर्तीजन्य बस्तु विक्रि वितरण गर्न रोक लगाइएको समेत उनले बताए। टिकापुरमा लागू औषध नियन्त्रण गर्न महाअभियान सुरु गर्नुपर्ने उनको भनाइ थियो ।

इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले पछिल्लो समय टिकापुरमा लागू औषधको अखडा बनिरहेको बताए ।

धनगढी पछि सबै भन्दा धेरै टीकापुरमा यसको मुद्दा दर्ता भइरहेको भन्दै उनले अझै लागू औषध प्रयोगकर्ता बढ्दै जाँदा समाज सखाप हुने सम्मको खतरा रहेको बताए ।

कल्पेश कुवर, शारदा तिमिल्सेना, सर्वानन्द चपाई, भुवनेश्वर अधिकारी, ज्ञानु पौडेल,शिशिर साधक लगायतले पनि लागू औषध दुर्व्यसनीका नियन्त्रण गर्न विषयमा सबै तहका सरकार लाग्नु पर्ने बताए । उनीहरुले डिजिटल कुलतको नियन्त्रण गर्न पनि आवश्यक रहेको बताएका थिए ।

प्रादेशिक स्वास्थ्य केन्द्रको आयोजनामा गरिएको कार्यक्रममा प्रवर्द्धन केन्द्रका प्रमुख हेमराज खड्काले आफ्नो स्वास्थ्यप्रति सबैभन्दा पहिले आफै जिम्मेवार हुनुपर्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर