साथ दिने दललाई पनि सरकारमा समेट्नेबारे कांग्रेस-एमालेबीच छलफल – Nepal Press

साथ दिने दललाई पनि सरकारमा समेट्नेबारे कांग्रेस-एमालेबीच छलफल

काठमाडौं । कांग्रेस-एमालेको सहकार्यलाई समर्थन गरेका दलहरूलाई पनि सरकारमा समेट्नेबारे शीर्ष तहमा छलफल थालिएको छ ।

कुनै उलटफेर नभए यही अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाउने सम्भावना छैन । त्यसैले भोलिबाटै नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नेछ ।

हिजो साँझा नयाँ सरकार गठन, मन्त्रीहरूको सहभागितालगायतका विषयमा एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको देउवा सचिवालयले जनाएको छ । दुई नेताबीच पछिल्ला राजनीतिक घटनाक्रम र सहमति कार्यान्वयनमा केन्द्रित भई कुराकानी भएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

उनले भने, ‘प्राय: सबै साना दलहरूले कांग्रेस-एमाले गठबन्धनमा समर्थन जनाइसक्नुभएको छ । अब उहाँहरूलाई सँगै लिएर जानुपर्छ भन्ने विषयमा छलफल चलिरहेको छ ।’

उनले राष्ट्रिय सहमतिको सरकार गठन गर्न दुई ठूला दलहरूबीच सहमति भएको उल्लेख गर्दै ओली प्रधानमन्त्री बनेपछि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी सबैलाई सरकारमा सहभागी हुन सदनबाटै आह्वान गर्ने बताए ।

एमालेका अध्यक्ष ओलीले सरकारको नेतृत्व गरेपछि कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने प्रारम्भिक सहमति भएको छ । मन्त्रालयको भागबण्डा मिलाउन कांग्रेसबाट रमेश लेखक र एमालेबाट शंकर पोखरेल आन्तरिक गृहकार्यमा छन् ।

तर, साना दलहरू पनि सहभागी हुने भएकाले अहिले नै मन्त्रालयबारे टुंगो लागि नसकेको ओलीले हिजो बसेको संसदीय दलको बैठकमा पनि ब्रिफिङ गरेका थिए ।

‘मन्त्रालयको बाँडफाँट भइसकेको छैन । को-को सरकारमा सामेल हुने टुंगिएको छैन । साधारणतया हैसियतको आधारमा कांग्रेस र एमालेको बराबर हुन्छ’ उनको भनाई थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर