बक्यौता नतिर्ने २ ठूला उद्योगको बिजुली प्राधिकरणले काट्यो – Nepal Press

बक्यौता नतिर्ने २ ठूला उद्योगको बिजुली प्राधिकरणले काट्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता तिर्न बाँकी रहेका थप २ उद्योगको विद्युत् काटेको छ । यसभन्दा अघि मङ्गलवार ३ उद्योगको लाइन काटिएको थियो ।

प्राधिकरणले हालसम्म ५ वटा उद्योगको लाइन काटेको बताएको छ । ६१ वटा उद्योगले विद्युतको बक्यौता तिर्न बाँकी रहेको छ ।

प्राधिकरणले जगदम्बा सिन्थेटिक्स र हुलास स्टीलको लाइन काटेको हो । जगदम्बाले १६ करोड ४ लाख रुपैयाँ र हुलासले ११ करोड २९ लाख रुपैयाँ विद्युत् बक्यौता तिर्न बाँकी रहेको छ ।

प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न पत्र काटे पनि तिर्न नआएको भन्दै यस अघि रिलायन्स स्पेनिङ मिल्स, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्ट विद्युत् काटेको हो ।

रिलायन्स ६० करोड २९ लाख, घोराही र अर्घाखाँची सिमेन्ट क्रमशः ४० करोड ६८ लाख र ३५ करोड ८८ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म ६१ वटा उद्योगले प्रयोग गरेको डेडिकेटेड र ट्रंकलाइनको ६ अर्ब ६० करोड बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले बताएको छ । त्यसको जरिवानासहित करिब साढे ८ अर्ब हुन आउँछ ।

प्राधिकरणले बक्यौता तिर्न बाँकी रहेको उद्योगहरूको क्रमशः लाइन काट्ने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *