‘अमुक व्यापारीको घरमा मध्यरातमा गरिएका गोप्य सहमति माओवादीलाई स्वीकार्य हुँदैन’ – Nepal Press
नेपाल टक

‘अमुक व्यापारीको घरमा मध्यरातमा गरिएका गोप्य सहमति माओवादीलाई स्वीकार्य हुँदैन’

पम्फा भुसाल भन्छिन्- प्रतिपक्षमा बसेर संविधान र व्यवस्थाविरुद्ध गर्न खोजिएका रहस्यमय षड्यन्त्रको विरोध गर्छौं

काठमाडौं । प्रतिनिधिसभाको दुई ठूला दल मिलेपछि प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार भोलि ढल्ने निश्चित छ । स्पष्ट अल्पमतमा हुँदा पनि प्रधानमन्त्री प्रचण्डले १८ महिनामा पाँचौंपटक भोलि विश्वासको मतको सामना गर्दैछन् ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेले असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेर अघि बढिसकेका छन् । दुवै ठूला दलले आलोपालो सरकारको नेतृत्व लिनेगरी सरकार गठनको सहमति र निर्णय गरेका छन् । भोलि प्रधानमन्त्री विश्वासको मत नपाएपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढ्छ । दुई दलबीच भएको सहमति अनुसार एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बन्दैछन् । तर, आफूलाई धोखा दिएर कांग्रेससँग मिलेकै कारणले ओलीलाई रोक्न चाहन्छ माओवादी ।

ओली नेपालको संविधान ७६ (२) अनुसार प्रधानमन्त्री बन्ने सहमति भएको छ । तर, माओवादी केन्द्र ओलीलाई रोक्ने ७६ (३) मा धकेल्न चाहन्छ । आफूले विश्वासको मत नपाएको खण्डमा ७६ (३) पुग्दा ठूलो दलको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने माओवादीको तर्क छ । यीसहित सत्ताबाट बाहिर पुगेपछि माओवादीको अबको रणनीतिको विषयमा केन्द्रित रहेर माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालसँग गरेको संक्षिप्त कुराकानीः

– दुई ठूला दल मिलेपछि अल्पमतमा परिसकेपछि पनि प्रधानमन्त्रीले भोलि विश्वासको मत लिँदै हुनुहुन्छ। अरु दलसँग छलफल भइरहेको छ ?

उहाँहरू दुई ठूला दल मिलेर जाने भनिसक्नुभएको छ । त्यसैले भेटेर कसैलाई भनेका छौं । भोलि प्रधानमन्त्रीले सदनमै बोलेर आफूलाई विश्वासको मत दिन आह्वान गर्नुहुन्छ ।

-भोलिबाट माओवादी त सत्ताबाहिर पुग्ने देखियो ?

त्यसले हामीलाई कुनै असर गर्दैन । हामी प्रमुख प्रतिपक्ष भएर बस्छौं । हामीले संविधान र व्यवस्थाविरुद्ध गर्न खोजिएका रहस्यम षड्यन्त्रको विरोध गर्छौँ ।

-अब माओवादी कसरी अगाडि बढ्छ ?

यो अहिले भएको षड्यन्त्रको संसदबाट पनि विरोध गर्छौं, जनतामा पनि जान्छौं । दुई पटक संविधानसभाको निर्वाचनपछि लेखेको संविधान जन्माउने आमा माओवादी हो । यद्यपि, सबै दलको सहमति र समझदारीबाट लेखेका हौं । त्यसैले मध्यरातमा कुनै व्यापारीको घरमा गरिएका सहमति स्वीकार्य हुँदैनन् ।

त्यो पनि बाहिर आउनुपर्‍यो । संविधान, संधोशन, समानुपातिक समावेशी, गणतन्त्रलाई पनि फर्काएर ०४७ तिर जाने पो हो कि भन्ने आशंका छ । हामी त्यसप्रति खबरदारी गर्छौँ । त्यो कुनै हालतमा हुन दिँदैनौं । १० औं हजारको त्याग तपस्या र बलिदानले बनेको संविधान हो । त्यसलाई पछाडि फर्काउन दिँदैनौं ।

संविधानको रक्षाका साथै सुशासनको जति विषय छन्, सरकारलले अघि बढाएका र बढाउन खोजेका जसका कारणले पनि गठबन्धन भत्कियो भन्ने लागेको छ ।

– कांग्रेस र एमालेको मिलनलाई माओवादीले कसरी बुझेको छ ?

एजेण्डा मिल्दा मिले हुन्छ । हामीलाई त्यसमा केही छैन । तर, रहस्यमय र षड्यन्त्रमूलक ढंगले अघि बढेको देखिन्छ । उता नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि यो भत्किएको हो कि भन्ने बुझिन्छ । त्यसैले स्वार्थमा आधारित भएर मिलेकोजस्तो देखिएको छ ।

सरकार बाहिर भएपनि सुशासनको विषयलाई पनि हामी जोडदार ढंगले उठाउँछौं । भ्रष्टाचार प्रकरणमा दुई ठूला दल मिलेर जो भएपनि अनुसन्धान र कारबाही रोक्न पाइन्न । अर्को, संविधान र व्यवस्थाप्रति नै जे प्रश्न खडा भएको छ, सात बुँदे सहमति भनिएको छ, त्यो बाहिर आएको पनि छैन । हामी कुनै पनि ढंगले देश पश्चगमन र प्रतिगमनतिर जाने सोच र योजनालाई पूरा हुन दिँदैनौं ।

-प्रधानमन्त्रीले विश्वासको मत नपाए नसके ७६ (२) कि (३) अनुसार भन्नेमा विवाद देखिएको छ नि !

यो सरकार ७६ (२) अनुसार बनेको हो । अब प्रधानमन्त्रीले विश्वासको मत नपाए स्वतः ३ मा जान्छ भन्ने हाम्रो विश्वास हो । तर, यो राष्ट्रपतिको स्वविवेकमा भर पर्छ, अब उहाँ कता जानुहुन्छ, हेरौं ।

– फेरि २ को सरकार बने माओवादीले न्यायिक बाटो समात्छ ?

अरु जालान् उत्रो नागरिक समाजले बोलिरहेका छन्, यो व्यवस्था हामीले मात्रै ल्याएको होइन, यसको रक्षा गर्ने जिम्मेवारी सबैको हो । त्यसैले अब भोलिसम्मको परिस्थिति हेरौं, कसरी अगाडि बढ्छ ।


प्रतिक्रिया

4 thoughts on “‘अमुक व्यापारीको घरमा मध्यरातमा गरिएका गोप्य सहमति माओवादीलाई स्वीकार्य हुँदैन’

  1. नमाने के भो त ? तिमीहरूजस्ता लुटेराहरूले किन मान्नु पर्यो ?

  2. भारतिय सस्थापनको तलुवा चटाइले काम गरेन?

  3. माओवादी नाम गरेको आपराधिक समुहले भारतमा बसेर गरेको हत्याहिंसा ( कथित जनयुद्ध ) अनि दिल्लिमै भएको १२ बुँदे षडयन्त्र चाहिँ नेपाली जनताले किन मान्ने, जंगली प्रवक्ता?!

  4. त्यही अमुख व्यापारीकाे अबैधधन्दालाई जाेगाउदै विना काम, न जागिर आलिशान जीन्दगी विताउदै आएका छाै याे चाहिँ पक्ष भुल्नु भएन नी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर