डी मारियाका लागि उपाधि जित्न चाहन्छन् मेस्सी
काठमाडौं । ‘आज खेल सुरु हुनुभन्दा अगाडि मेस्सीले मेरा लागि फाइनल पुग्न चाहेको बताएका थिए। त्यो सुनेर मलाई निकै गर्व महसुस भयो। हरेक कुरा प्राप्त हुने सम्भावना रहनु र उनीहरूसँग (अर्जेन्टिना) प्राप्त गर्नु मेरा लागि घमन्ड गर्न लायक छ’, अमेरिकामा जारी कोपा अमेरिकाको सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई हराएपछि विंगर एन्जेल डी मारियाले भनेका थिए।
यो खेलमा डी मारियाले ७८ औँ मिनेटमा मैदान छाडेका थिए जतिबेला अर्जेन्टिना खेलमा २-० गोलले अगाडि थिए। मेस्सी र युवा खेलाडी जुलियान अल्भारेजको गोलमा अर्जेन्टिना फाइनल नजिक पुगेको थियो। अन्ततः अर्जेन्टिना त्यही नतिजामा फाइनल पुग्यो र उपाधि रक्षा गर्ने संघारमा देखियो। त्यसले डी मारियाको शानदार बिदाइको ढोका खुल्लै राख्यो पनि।
डी मारियाले गत नोभेम्बरमै भनेका थिए- आगामी कोपा अमेरिका मेरो करियरको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुने छ। त्यसले कम्तीमा मेस्सीलाई भावुक बनाउने थुप्रै कारणहरू थिए। तीमध्ये उनको जीवनमा प्राप्त थुप्रै सफलतामा डी मारिया जोडिनु हो।
सिनियर अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीभन्दा तीन वर्षपछि डेब्यु गरेका हुन् डी मारियाले, सन् २००८ मा। त्यही वर्ष डी मारिया र मेस्सीसहितको अर्जेन्टिनी यू-२३ टोली ओलम्पिक खेल्न बेइजिङ आएको थियो। त्यतिबेलासम्म मेस्सीले बेलोन डीअर र फिफा वर्ष खेलाडीजस्तै कुनै पनि प्रतिष्ठित अवार्ड जित्न थालेका थिएनन्।
क्वाटरफाइनलमा मेस्सी र डी मारियाको गोलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई २-१ गोलले हराएको थियो। सेमिफाइनलमा ब्राजिललाई पाखा लगाएर ओलम्पिक स्वर्ण पदक नजिक पुगेको अर्जेन्टिनाले त्यसका लागि नाइजेरियालाई हराउनुपर्ने थियो।
करिब ९० हजार दर्शकसामु डी मारियाले ५८ औँ मिनेटमा गोल गरे। अन्ततः त्यही गोलमा अर्जेन्टिनाले नाइजेरियालाई १(० गोलले हराएर ओलम्पिक स्वर्ण जित्यो । उमेर समूहकाे राष्ट्रिय टोलीका लागि मेस्सीको त्यो दाेस्राे उपाधि थियो । त्यसअघि सन् २००५ मा यु२० विश्वकपकाे उपाधि जितेका थिए । सन् २००७ मा सिनियर राष्ट्रिय टोली कोपा अमेरिकाको फाइनल पुगे पनि मेस्सीले उपाधि जित्न सकेका थिएनन् ।
सन् २००८/०९ सिजन मेस्सी क्लब फुटबलमा खरो उत्रिए । बार्सिलोनाको एकेडेमीबाट हुर्किएका मेस्सीले क्लबका लागि त्यस सिजन ला लिगा र युरोपियन च्याम्पियन्स लिग दुवै जिते। मेस्सीले त्यही प्रदर्शन र नतिजाले बेलोन डीअर र फिफा वर्ष खेलाडी दुवै जित्न सफल भए। उनी लगातार चार वर्ष अवार्ड जित्न सफल भए।
तर सिनियर राष्ट्रिय टोलीको उपाधि खडेरीले मेस्सी र डी मारिया दुवैलाई गिज्याइरह्यो। सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा उनीहरूले अर्जेन्टिनालाई फाइनलसम्म पुर्याए। तर मेस्सीका लागि गोल्डेन ब्वाई डी मारिया फाइनलका लागि उपलब्ध थिएनन्।
डी मारिया चोटका कारण खेल्नै नसक्ने भए। २४ वर्षपछि विश्वकपको फाइनल पुगेको अर्जेन्टिना र मेस्सी दुवैले डी मारिया नहुनुको घाटा महसुस गर्न सक्थे। प्रिक्वाटरफाइनलमा स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनाले गरेको एक मात्र गोल डी मारियाकै नाममा थियो। जर्मनीविरुद्धको प्रतिस्पर्धात्मक फाइनल अतिरिक्त समयसम्म पुग्यो। अन्तिम समयमा बेन्चबाट आएका जर्मन मारियो गोट्जीले गोल गर्दै अर्जेन्टिनालाई निराश बनाए।
अर्जेन्टिनाको अन्तर्राष्ट्रिय उपाधि जित्ने प्रयास भने रोकिएन। सन् २०१५ र २०१६ मा कोपा अमेरिकाको फाइनल पुग्यो। तर दुर्भाग्य अर्जेन्टिनाले उपाधि खडेरी टार्न सकेन। निराश भएका मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास पनि लिए जुन चौतर्फी दबाबका कारण केही महिनापछि उनले फिर्ता लिएका थिए।
सन् २०२१ मा मेस्सी र डी मारियासहितको अर्जेन्टिना फेरी ब्राजिल पुगेको थियो, यस पटक कोपा अमेरिका खेल्न। ब्राजिलले पेरु र अर्जेन्टिनाले कोलम्बियालाई हराएर फाइनल यात्रा तय गरे।
प्रतियोगितामा मेस्सीले सर्वाधिक चार गोल गरिसकेका थिए। डी मारियाको नाममा एक गोल पनि थिएन। रियो दी जेनेरियोस्थित माराकानामा भएको फाइनलमा अर्जेन्टिनाले घरेलु टोलीलाई १-० गोलले हराएर २८ वर्ष लामो सिनियर अन्तर्राष्ट्रिय उपाधि खडेरी टार्यो।
गोल गर्ने खेलाडी थिए डी मारिया। यसले मेस्सीको सपना पनि पुरा भयो। त्यसको केही महिनापछि युरो कप विजेता र कोपा अमेरिका विजेताबीच हुने फाइनलिस्सिमाको उपाधिका लागि अर्जेन्टिना र इटाली भिडे।
अर्जेन्टिनाले यो खेल ३-० गोलले जित्यो। करिब ८७ हजार दर्शकसामु इटालीलाई गोल गर्ने तीन खेलाडीमध्ये डी मारिया पनि एक थिए। मेस्सीले पनि गोल गर्न सकेनन्।
गत वर्ष डी मारिया र मेस्सीसहितको अर्जेन्टिना विश्वकप खेल्न कतार आयो। अब उनीहरूले विश्वकप मात्र जित्न बाँकी थियो। सेमिफाइनलमा क्रोएसियालाई हराएर अर्जेन्टिनाले विश्वकप जित्ने सम्भावना कायमै राख्यो। मेस्सीले समूहगत चरण, प्रिक्वाटरफाइनल, क्वाटरफाइनल र सेमिफाइनल सबैमा गोल गरेका थिए। उपाधि जित्न फ्रान्ससँग भिड्नुपर्ने थियो।
लुसाइलस्थित करिब ९० हजार दर्शकसामु खेलिएको फाइनलमा मेस्सीले सुरुवाती अग्रता दिलाए। ३६ औँ मिनेटमा डी मारियाले शानदार गोल गरेपछि अर्जेन्टिना २-० गोलले अगाडि बढेको थियो। अन्तिम समयमा फ्रान्सले गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो। दोस्रो हाफमा निस्किएका डी मारिया फ्रान्सका हरेक गोलमा भक्कानिए।
यो खेल टाइब्रेकरसम्म पुगे पनि अर्जेन्टिनालाई फ्रान्सले उपाधि जित्नबाट रोक्न सकेन। कोपा अमेरिका र फाइनलिस्सिमा हुँदै मेस्सी र डी मारियाको विश्वकप उपाधिको सपना पुरा भयो।
‘मलाई लाग्छ, राम्रो प्रदर्शनसहित म बिदा हुने छु। मैले गर्न सक्ने जति सबै गरेको छु मेरो देशका लागि’, डी मारिया जुन १५ मा कोलम्बियाविरुद्ध हुने कोपा अमेरिकाको फाइनल अघि भन्छन्, ‘ समय थियो जतिबेला म भाग्यशाली थिइनँ। पछिल्ला दिनहरूमा म निकै भाग्यमानी छु। मलाई सहयोग गर्ने सबैप्रति कृतज्ञ छु, मेरो टिम र परिवारप्रति जसले मलाई सबै कुरा दिएको छ।‘
३६ वर्षीय डी मारियाले अर्जेन्टिनाका लागि एक सय ४४ खेल खेल्दै ३१ गोल र ३२ असिस्ट गरेका छन्। उनी अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्नेको सूचीमा चौथो स्थानमा पर्छन्।
मेस्सी व्यावसायिक फुटबलमा उच्च लयमा रहेका बेला उनी खेल्ने बार्सिलोनाको कट्टर प्रतिद्वन्द्वी रियल म्याड्रिडमा थिए डी मारिया। डी मारियाले झन्डै ४ वर्ष क्रिस्टियानो रोनाल्डोसँगै खेले बार्सिलोनाविरुद्ध।
राष्ट्रिय टोलीमा भने डी मारिया र मेस्सी पक्का सहयात्री देखिए। मेस्सीले कहिलेसम्म राष्ट्रिय टोलीमा खेल्छन् निश्चित छैन नत यसबारे उनले केही बोलेका छन्।
कम्तीमा एउटा कुरा पक्का छ- आफ्नो सपना पुरा गर्न विशिष्ट योगदान गरेका डी मारियासँग उपाधि जितेर ६५ हजार दर्शकसामु अन्तिम पटक नाच्न चाहन्छन्।