कांग्रेस-एमाले सहकार्यले सेयरमा जगायो आशा, लगानीकर्तामा मौद्रिक नीतिको थप भरोसा – Nepal Press

कांग्रेस-एमाले सहकार्यले सेयरमा जगायो आशा, लगानीकर्तामा मौद्रिक नीतिको थप भरोसा

काठमाडौं । नयाँ सक्ता समीकरण परिवर्तन भएको भोलिपल्ट अर्थात् गत असार १८ गते सेयर बजार खुलेको एक मिनेटमै ४ प्रतिशतले नेप्से परिसूचक बढेर २० मिनेटका लागि कारोबार बन्द भयो । २० मिनेटपछि खुलेको सेयर बजार एक मिनेट नबित्दै पुन: दोस्रो सर्किट ब्रेक लगेर ४० मिनेटका लागि कारोबार बन्द भयो । यस दिन नेप्से परिसूचक ४७ अङ्कले बढेर २१ सय बिन्दुमाथि पुग्यो ।

गत फागुन २१ गते मन्त्रिपरिषद्को पुनर्गठनको तयारी भयो । यो दिन पनि सेयर बजार खुलेको तीन मिनेटमै ४ प्रतिशतले बढेर सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार बन्द भयो । पहिलो सर्किट ब्रेक खुलेको एक मिनेटमै ५ प्रतिशतले नेप्से बढेपछि दोस्रो सर्किट ब्रेक लगेर ४० मिनेटका लागि कारोबार बन्द भयो । भने, दोस्रो सर्किट ब्रेक खुलेको एक मिनेटमै ६ प्रतिशतले सेयर बजार बढेपछि उक्त दिनभरिको कारोबार नै बन्द भयो ।

त्यस्तै, गत मङ्सिर २४ गते सेयर बजार खुलेको ५ मिनेटमा ४ प्रतिशतले नेप्से परिसूचक बढेर सर्किट ब्रेक लगेर २० मिनेटका लागि कारोबार बन्द भयो । पहिलो सर्किट ब्रेक खुलेको १ मिनेटपछि ५ प्रतिशतले बढेर सेयर बजारमा दोस्रो सर्किट ब्रेक लगेर ४० मिनेटका लागि कारोबार बन्द भयो । दोस्रो सर्किट ब्रेक खुलेको दुई मिनेट नबित्दै ६ प्रतिशतले बढेर बढेर उक्त दिनभरको कारोबार नै बन्द भयो ।

नेपाल स्टक एक्सचेन्जको व्यवस्था अनुसार सेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले नेप्से परिसूचक बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले नेप्से परिसूचक बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ । त्यसै गरी ६ प्रतिशतले परिसूचक बढेमा दिनभरिको कारोबारमा ब्रेक लाग्ने गर्दछ । अर्थात् दिनभरको कारोबार नै बन्द हुने गर्दछ ।

आर्थिक वर्ष २०८०/८१ को एक वर्षे अवधिमा तीन पटक सेयर बजारमा सर्किट ब्रेक लागेको छ । अर्थात् सेयर बजारमा सबै भन्दा बढी उछाल यही तीन पटक भएको छ । गत असार १८ गते शेयर बजारमा लागेको सकारात्मक सर्किट ब्रेकको कारण कांग्रेस-एमाले नयाँ सत्तासमीकरण रहेको थियो । त्यस्तै, गत फागुन २१ गते तिन पटक सकारात्मक सर्किट ब्रेक लगेको कारण मन्त्रिपरिषद्को पुनर्गठनको तयारी रहेको थियो ।

त्यस्तै, गत मंसिर २४ गते शेयर बजारमा लागेको सकारात्मक सर्किट ब्रेकको कारण भने, लगानीकर्ताहरूले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षालाई दिएका थिए । गत मंसिर २२ गते नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको थियो । त्यसको प्रभाव मंसिर २४ गते बजार खुलेको दिन देखिएको लगानीकर्ताहरूले बताएका थिए ।

मंसिर २२ गते नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाई १२५ प्रतिशत कायम गरेको थियो । भने, बैङ्क दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको थियो । मंसिर २४ गते शेयर बजारमा आएको उछालको कारण मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले रहेको लगानीकर्ताहरूले बताएका थिए ।

तर, त्यसबाहेक यस आर्थिक वर्षभरिमा सेयर बजारलाई नीतिगत कुराले कुनै प्रभाव परेको देखिँदैन । भने, राजनीतिक परिवर्तनले मात्रै उथलपुथल नै बनाएको देख्न सकिन्छ ।

नेपालमा लगानीकर्ताहरू भन्दा पनि राजनीतिज्ञहरू बढी भएको शेयर विश्लेषक गोपाल भट्ट बताउँछन् ।

विश्लेषक गोपाल भट्ट भन्छन्, ‘अहिलेको सेयर बजारलाई हेर्दा वास्तविक लगानी गर्न चाहने र वास्तविक लगानीकर्ताहरूको मनोबल बढेको छैन । अहिले पनि हामी आर्थिक मन्दीको रिकभरीको फेजमा गएका छैनौँ । आर्थिक स्थिति पनि खास्सै सुधार भएको छैन । लगानीकर्ताहरू भन्दा पनि राजनीतिज्ञहरू बढी भए हाम्रो सेयर बजारमा । हल्लाकै भरमा तीव्र उतारचढाव देख्नु पर्छ । जुन कदापि राम्रो होइन । पोसिली सेक्टर र ड्राइभिङ सेक्टरको टुङ्गो छैन ।’

उनले अहिले बजार अराजक बन्दै गइरहेको उल्लेख गर्दै कुनै पनि राजनीतिक कारणले पुँजी बजारलाई प्रभाव पार्नुनपर्ने बताउँछन् ।

विश्लेषक भट्टले भने, ‘सबै लगानीकर्ताहरू मौद्रिक नीति मात्रै भनिरहेका छन् । मौद्रिक नीति लगानीकर्ताहरूका लागि मात्रै आउने होइन । मौद्रिक नीति त समग्र अर्थतन्त्रका लागि आउने हो । मौद्रिक नीतिले सेयर धितो कर्जाको क्याप बढाउनुपर्ने थियो बढाइसक्यो । जे जे गर्नुपर्ने हो विगतमा गरेकै हो । त्यसको कुनै असर देखिएको छैन । खाली त्यही राजनीतिक परिवर्तनले मात्रै असर गरेको देखिन्छ । जुन राम्रो होइन । नेपालमा वास्तविक लगानीकर्ताहरू हुन्थे भने, बैङ्क तथा वित्तीय संस्थाहरूको वित्तीय विवरण आउँदा सेयर बजारमा उतारचढाव आउनुपर्थ्यो । तर, छैन केबल राजनीतिक परिवर्तन मात्रै चाहिएको छ । वास्तविक लगानीकर्ताहरूले आफैले विश्लेषण गर्छ । त्यसका लागि कम्पनीहरूको वित्तीय विवरणले प्रभाव पर्छ ना कि राजनीतिक उथलपुथलले ।’

नीति निर्माताहरुले पुँजीबारलाई बिगारेको सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुलेल बताउँछन् । उनका अनुसार राजनीतिक उथलपुथलमा शेयर बजार तलमाथि हुन थालेको छ ।

फुलेल भन्छन्, ‘हाम्रो पुँजीबजार राजनीतिक उथलपुथलमा तलमाथि हुन थाल्यो । हाम्रो विडम्बना यस्तो छ । धितो पत्र बोर्डको नियुक्तिदेखि नीतिगत व्यवस्थासम्म हरेक पटकको राजनीति परिवर्तनमा निर्भर हुने भयो । नीति निर्माताहरुले पनि कुनै स्थिर नीति बनाउन सकेनन् । दलबलबाट सेयर बजार सधैँ प्रभावित नै रह्यो ।

‘विगतमा मौद्रिक नीतिले पुँजीबजारलाई प्रभाव पार्‍यो । हाम्रो पुँजीबजार विगत ३ वर्षदेखि प्रभावित भएको छ । तीन वर्षदेखि लगानीकर्ता र बजारलाई मौद्रिक नीतिले मारमा पारेको छ’, फुलेलले भने, ‘ठूलाठूला लगानीकर्ताहरू डराइरहेका छन् । लगानीका लागि अब राष्ट्र बैङ्कले सेयर धितो कर्जाको क्यापलाई हटाउने छ भन्ने आशामा छौँ । अबको मौद्रिक नीतिले केहि राहत दिनुपर्छ ।’

अहिलेको अवस्थामा लगानीकर्ताहरू वाक्क भएर बसेको लगानीकर्ता टीका कोइराला बताउँछन् । उनका अनुसार बजारमा लगानी गर्ने पैसा पर्याप्त रहेको तर, लगानीका लागि स्थिर नीतिको खोजीमा लगानीकर्ताहरू रहेका छन् ।

कोइराला भन्छन्, ‘अहिले बजारमा तरलता पर्याप्त रहेको छ । लगानीयोग्य रकम पनि छ । बढी लगानी सेयर बजारमा छ । लगानीकर्ताहरू पनि केही आशावादी रहेका छन् । नयाँ सरकारले लगानीकर्ताहरूको मागलाई सम्बोधन गर्नेछ । बजेटले हामीलाई हेरेर तर, मौद्रिक नीतिले सेयर बजारलाई सम्बोधन गर्छ होला । हामीले राष्ट्र बैङ्कलाई भनेर केही हुँदैन राष्ट्र बैङ्क आफैले सेयर बजारको प्रभाव थेग्नुपर्छ । त्यसैले राष्ट्र बैङ्कले आफैलाई कसरी सहज करण गर्नुपर्छ त्यो कुरामा ध्यान दिनुपर्छ ।’

असार मसान्तको चटारोपछि बजारले लय समात्ने सेयर लगानीकर्ता रोहन कार्की बताउँछन् । लगानीकर्ता कार्की भन्छन्, ‘चालू आर्थिक वर्ष २०८०/८१ को अन्तिम महिना भएकोले बजार सुस्त गतिमा चलिरहेको देखिएको हो । नयाँ आर्थिक वर्षबाट सेयर बजारमा हरियाली हुने हाम्रो विश्वास रहेको छ । नयाँ मौद्रिक नीतिबाट पनि हामी आशावादी छौँ ।

मौद्रिक नीति र सेयर बजार

गत असोज (२०८०) मा नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमालाई खुकुलो बनायो । राष्ट्र बैङ्कले व्यक्तिगततर्फको १२ करोडको सीमालाई बढाएर १५ करोड र संस्थागततर्फको १५ करोडबाट २० करोड पुग्यो ।

लामो समयसम्म सेयर धितो कर्जाको सीमालाई खुकुलो बनाउनका लागि दबाब दिइरहेका लगानीकर्ताको मागलाई राष्ट्र बैङ्कले सम्बोधन गर्‍यो । तर, पनि सेयर बजारमा भने कुनै रौनक नै देखिएन । यति बेला मौद्रिक नीतिले कुनै प्रभाव देखाएन । तर, राजनीतिक प्रभावले भने बजारलाई एक एक उछाल ल्याउने गरेको छ ।

मौद्रिक नीतिबाट लगानीकर्ताहरुले अत्यधिक आशावादी हुन नपर्ने सेयर विश्लेषक गोपाल भट्ट बताउँछन् । उनका अनुसार मौद्रिक नीति कुनै निश्चित क्षेत्रका लागि नभएर समग्र अर्थतन्त्रको विकासमा लागि आउने हो । त्यसैले पुँजीबजारले अत्यधिक आशावादी हुन नपर्ने उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *