कांग्रेस-एमालेप्रति प्रधानमन्त्रीको आक्रोश : नियत सफा भए बन्द कोठा र अन्धकार चाहिन्छ ? – Nepal Press

कांग्रेस-एमालेप्रति प्रधानमन्त्रीको आक्रोश : नियत सफा भए बन्द कोठा र अन्धकार चाहिन्छ ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेबीच बनेको नयाँ गठबन्धनको तीव्र आलोचना गरेका छन् ।

आज संसदमा विश्वासको मत माग्नुअघि सम्बोधन गर्दै उनले आक्रामक टिप्पणी गरे ।

प्रधानमन्त्री प्रचण्डले पहिलो र दोस्रो दललाई विश्वास र आदर्शले जोडेको नभएर सुशासनको त्रासले जोडेको आरोप लगाए ।

उनले भने, ‘नाटकीय घटनाक्रमबाट पहिलो र दोस्रो ठूलो दललाई विश्वास र आदर्शले वा निश्चित उद्देश्यले जोडेको भए मेरो लागि चिन्ताको विषय हुने थिएन । तपाईंहरुलाई डरले जोड्यो । भयले जोड्यो । त्यो डर हो, सुशासनको डर । सुशासन कायम हुँदै जान थाल्यो भन्ने डरले जोडेको हुनाले जे कारणले एमाले र कांग्रेस मिल्न खोज्नुभएको छ, तपाईँहरूको सहकार्यलाई जनताले अनुमोदन गरेका छन् कि छैनन् ?’

प्रधानमन्त्रीले आफूलाई अर्को चिन्ता प्रतिगमन र निरंकुशताको रहेको बताए ।

उनको भनाइ यस्तो थियो :

‘सामान्यत लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरु मिलेर सरकार बनाउँदैनन् । अमेरिका, बेलायत र भारतमा कहिल्यै प्रमुख प्रतिस्पर्धी दलहरु मिलेर सरकार बनाएका छन् ? पहिलो र दोस्रो मिल्दा लोकतन्त्र कमजोर र निरंकुशतालाई प्रश्रय मिल्छ । यहाँ त कांग्र्रेस र एमाले मिलेर रहस्यमय तरिकाले संविधानमाथि छेडछाड गर्ने प्रयास गर्नुभएको छ । तपाईँहरूको यात्रा प्रतिगमनतिर हो भन्ने सहमति गर्ने तरिका, कसका घरमा सहमति गर्नुभयो, हस्ताक्षर कसका घरमा गर्नुभयो, समय कुन रोज्नुभयो भन्नेबाटै थाहा हुन्छ । जनताले हिसाब राखेका छन् । नियत सफा भए बन्द कोठा चाहिन्छ ? अन्धकार चाहिन्छ ? मैले सबै भनेँ भने तपाईंहरुलार्ई लाज लाग्छ भन्ने मलाई डर छ । कतिसम्म झूट बोल्न । सकेको ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर