प्रचण्डको हास्यरस- म कस्तो लाटो, ओलीले स्वर्ग र नर्क सँगै जाने भनेर झुक्क्याए ! (भिडिओ) – Nepal Press

प्रचण्डको हास्यरस- म कस्तो लाटो, ओलीले स्वर्ग र नर्क सँगै जाने भनेर झुक्क्याए ! (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले विश्वास गर्दा धोखा पाएको भन्दै संसदमा रोचक टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै उनले बाहिर एमाले र कांग्रेस मिलेको समाचार आइरहे पनि ओलीले ‘स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने’ भनेर विश्वास दिलाएको बताए ।

ओलीले आफूलाई वामपन्थी आन्दोलन अगाडि बढाउँदै आगामी चुनावसम्म सरकार लैजाने र एउटै पार्टी बनाएर चुनाव लड्नेसम्मको आश्वासन दिएको प्रचण्डको भनाइ छ ।

उनले भने, ‘चर्चाका बीचमा क्याबिनेटमा हस्ताक्षर हुन मात्रै बाँकी छ भन्ने कुरा गर्नुभएको थियो । तर, मैले एमाले अध्यक्षसँग चार घण्टा कुरा गरेर आएको छु । राम्रो कुरा भएको छ, ढुक्कसँग काम गर्नु भनेँ । कति लाटो म । ओलीजीको कुरा सुनेपछि म फुर्केँ ।’

प्रधानमन्त्री प्रचण्डको यो भनाइ, जसले सदनमा हाँसोको माहोल सिर्जना गरेको थियो:

वामपन्थी आन्दोलनको भावुक बहकाउले मलाई एमालेसहितको गठबन्धनमा लगेको हो । एमाले अध्यक्षको कला, क्षमता तारिफ गर्न लायक छ । धेरै नै तारिफ गर्न लायक छ । उहाँको हैसियतमा यहाँ कोही छैन ।

मलाई राम्रो फकाउनुभयो । वामपन्थी पो मिल्नुपर्छ कांग्रेस को हो र भन्नुभो । धेरै धेरै धेरै धेरै… । म मान्छे यस्तै छु, प्रचण्ड यस्तै छ । तपाईँहरूले चिन्नुभएको छ । अलिअलि सेन्टिमेन्टल, भावुक, मिठो गरी बोलेपछि होला त नि भनेर विश्वास गरेँ । फेरि वामपन्थी नै परेँ । अको चुनावमा पश्चिम बंगाल भइन्छ भनेपछि हो जस्तो लाग्यो । सरकारको गियर परिवर्तनका लागि हो जस्तो ठानेँ । जनतामा आशा पनि जगाइयो । तर जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, विश्वास गरेँ त्यो षडयन्त्र रहेछ भन्ने थाहा पाउन म ढिला भएँ । केही मान्छे कुण्ठा र प्रतिशोधबाट बाहिर निस्किन सक्दैनन् भन्ने हिसाबै गर्न सकिनँ ।

लामा–लामा मिठा संवादहरूबाट लट्ठ्याइएँ । म अल्मलिए । स्वर्ग र नर्क सँगै जाने कुरा १६ गतेको हो । सरी है सरी… १७ को हो । बिहान स्वर्ग र नर्क सँगै जाने, मिलेर चुनाव लड्ने, पार्टी पनि एउटै बनाउने, ढुक्क हुनुस् भनेपछि मक्ख परेँ । पत्रिकामा छरपस्ट आएको थियो । मूल नेतृत्वले नै स्वर्ग गए पनि सँगै भनेपछि फुर्किँदै क्याबिनेटमा गएँ । उपप्रधानमन्त्री, मन्त्री सबैलाई शंका थियो । लास्ट हस्ताक्षरको तयारी भएको छ भनेका थिए । तर मैले चार घण्टा एमाले अध्यक्षसित कस्तो राम्रो कुरा भएको छ, ढुक्कसित काम गर्नुस् भनेँ । कति लाटो म । झुक्याईएँ म । नैतिक जिम्मेवारी लिन तयार छु । नयाँ समीकरणमा मेरो जस्तो नहोस् । अगाडिपट्टिबाट मुसारेर पछाडिबाट…(छुरा घोपेको इशारा) यस्तो चाहिँ नहोस् मेरो शुभकामना छ । तपाईँहरू मिल्नुस्, मलाई कुनै टेन्सन छैन । पहिलो पटक मिल्न लागेको पनि होइन । अन्तिम पटक मिल्नुहुने पनि होइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर