गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, अझै निकालिएको छैन माटोमा धसिएको बुद्धको विमान – Nepal Press

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, अझै निकालिएको छैन माटोमा धसिएको बुद्धको विमान

रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गछेउमा बिहीबार राति बुद्ध एयरको जहाज धसारिएपछि रोकिएको उडान शुक्रबार मध्यान्हबाट सञ्चालनमा आएको छ ।

अहिले काठमाडौंबाट आएका विमानले अवतरण गरेर पुनः गन्तव्यमा उडान भरिरहेका छन् ।

चालक दलका सदस्यसहित ५९ जना सवार बुद्धको जहाज बिहीबार राति १० बजेतिर अवतरण गर्ने क्रममा चिप्लिएको थियो । लगत्तै उद्धारकर्मीले सबै यात्रुलाई सुरक्षित निकालेका थिए । धावनमार्गबाट चिप्लिएको विमानका तीनवटै चक्का माटोमा धसेका कारण निकाल्न समय लागेको छ।

विमानस्थलका सूचना अधिकारी विनोद रावतले मध्यान्हबाट विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आइसकेको जानकारी दिए । अहिले उडान र अवतरणमा कुनै समस्या नरहेको उनले बताए ।

रावतका अनुसार बिहीबार राति अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको बुद्ध एयरको जहाज अझै हटाउन सकिएको छैन । जहाज संवेदशील हुने भएकाले सावधानीपूर्वक हटाउने काम भइरहेको उनले बताए ।

धावनमार्गबाट ४-५ मिटर टाढा घाँसे मैदानमा पुगेको जहाजलाई शुक्रबार बिहानबाट बुद्ध एयरको प्राविधिक टीम, विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ टीम र सुरक्षाकर्मीले निकालेर अराइभलमा ल्याउने प्रयास गरिरहेका छन् ।

विमानस्थलको धावनमार्ग लामो र फराकिलो भएकाले सञ्चालनमा बाधा नपुग्ने रावतले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *