प्रदेशप्रतिको घृणा र आक्रोश बदल्नेगरी काम गर्न सचिवहरुलाई मुख्यमन्त्री कार्कीको निर्देशन – Nepal Press

प्रदेशप्रतिको घृणा र आक्रोश बदल्नेगरी काम गर्न सचिवहरुलाई मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशप्रतिको घृणा र आक्रोशलाई बदल्नेगरी काम गर्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् ।

शुक्रबार प्रदेश सरकार अन्तर्गतका मन्त्रालय र निकायका सचिवलाई निर्देशन दिँदै उनले प्रदेशप्रति असन्तुष्टि बढेको र त्यसलाई कम गर्नेगरी काम गर्नका लागि सचिवहरुलाई निर्देशन दिए ।

उनले भने, ‘अहिले प्रदेशमा घृणा, आक्रोश छ । त्यसलाई बदलेर अब प्रदेश सरकार देख्न, सकिने, छाम्न सकिने र हेर्न सकिने गरी काम गर्नुपर्छ ।’

सचिवहरुलाई निर्देशन दिँदै कार्कीले आगामी वर्षको कार्ययोजना साउन १५ भित्र बनाउन र ठूला योजनाहरुलाई पहिलो चौमासिकबाटै सुरु गर्नुपर्ने बताए ।

उनले असारे विकासका बारेमा आलोचना व्यापकरुपमा आएको र अब आउँदो वर्ष जेठ १५ पछि कुनै पनि तालिम, गोष्ठी लगायतका अन्य कामहरु नगर्न निर्देशन दिए । उनले भने, ‘सबै कामहरु जेठ १५ भित्र सक्नेगरी अठोट गरेर योजना बनाउने र त्यसैगरी लाग्ने तयारी गरौँ ।’

प्रदेश सरकारले कुनैपनि कानुनहरु सच्याउनुपर्ने, खरिद ऐन सच्याउनुपर्ने अवस्था भए तत्कालै सच्याउन तयार रहेको र सोही अनुरुप मन्त्रालयले काम गर्नुपर्ने उनले बताए ।

उनले शासकीय सुधारमा जोड दिँदै सुशासनमा ध्यान दिन र भ्रष्टचारमा शून्य सहनशीलता अपनाएर काम गर्नसमेत निर्देशन दिए । आगामी वर्षदेखि योजना बैंक सञ्चालन गरेर अर्को आर्थिक वर्षमा योजना बैंकमा आएका योजना हेरेर बजेट बनाउनेगरी अहिले देखिनै त्यसको तयारी गर्नुपर्ने जानकारी दिए ।

उनले योजना बैंकका बारेमा सबैलाई जानकारी दिने र त्यसको औचित्य र आवश्यकताबारेमा बताउँदै त्यसतर्फ आकर्षित गर्नका लागि सचेतना कार्यक्रम गर्नपनि निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर