सिरहामा सहजा नदीमा आएको बाढीले डाइभर्सन बगायो, हुलाकी राजमार्ग अवरुद्ध – Nepal Press

सिरहामा सहजा नदीमा आएको बाढीले डाइभर्सन बगायो, हुलाकी राजमार्ग अवरुद्ध

जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत सिरहाको औरही गाउँपालिका ४ स्थित सहजा नदीमा आएको बाढीले डाइभर्सन बगाएपछि आवतजावत ठप्प भएको छ ।

नदीमा आएको बाढीले डाइभर्सन बगाएपछि हुलाकी सडक अवरुद्ध बनेको स्थानीय रोषण पासवानले बताए । उनका अनुसार अहिले अन्य गाउँको बैकल्पिक बाटो प्रयोग गरेर सिरहा सदरमुकाम पुग्नुपर्छ ।

सहजाको डाइभर्सन बाढीले बगाएपछि सिरहा–राजविराज चल्ने सवारी साधनहरु बन्द भएको छ । अहिले औरही, बरियारपट्टी, नवराजपुर, भगवानपुरसहितका पालिकाकाको सिरहा सदरमुकामसँग सम्पर्क नै टुटेको छ ।

सरकारी कामका लागि जानैपर्ने बाध्यतामा रहेका व्यक्तिहरु नदीमा जोखिम मोलेर आवत जावत गर्ने गरेको स्थानीय बताउँछन् ।

पुल निर्माण अलपत्र

सहजा नदीमा पुरानो पुल भत्केपछि अहिले नयाँ पुल निर्माणाधिन अवस्थामा छ । निर्माण कम्पनीले समयमा पुल निर्माण नगर्दा अहिले बाढीले समस्या सृजना गरेको छ ।

०७९ मंसिर १६ मा सहजमा पुल निर्माणको ठेक्का जनकपुरस्थित सुगम निर्माण सेवाले लिएको छ । दुई वर्षमै पुल निर्माण सकिने गरी सम्झौता भएको थियो । तर अहिलेसम्म पुल निर्माणको ५० प्रतिशत काम पनि भएको छैन ।

स्रोतका अनुसार पुल निर्माणको ठेक्का सुगम निर्माण सेवाले लिएपनि सो कम्पनीले धनुषाकै सुप्रिया निर्माण सेवालाई पेटी ठेक्का दिएको छ । सुप्रिया निर्माण सेवाले अहिलेसम्म पिलर समेत खडा गर्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *