गृहमन्त्रीको दाबी- बेचन झा र प्रतीक थापा पक्राउ परेकैले सरकार ढल्यो (भिडिओ) – Nepal Press

गृहमन्त्रीको दाबी- बेचन झा र प्रतीक थापा पक्राउ परेकैले सरकार ढल्यो (भिडिओ)

‘यो देशमा कोही त जेल जानैपर्छ, अब मलाई ठग प्रमाणित गरेर जेल हाल्नुस्’

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सरकारले हाइप्रोफाइलहरूको फाइल खोल्दा नै वर्तमान सरकार ढलेको दाबी गरेका छन् । सुशासनका काममा आफूलाई सहयोग गरेको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद समेत दिए ।

संसद बैठकमा बोल्दै लामिछानेले आफूहरु चेकलिस्टसहित आएको तर कसैले त्यसलाई फेकलिस्ट भनेको गुनासो । आफूहरू सन्तुष्ट नभए पनि तीन-चार महिनामा जनताको पक्षमा इमान्दार भएर काम गरेको उनको दाबी छ ।

गृहमन्त्री लामिछानेले भने, ‘आधार, प्रमाण, मुद्दा, उजुरी केही पनि नभएको केसमा म सहकारी ठग भनेर चिनिएँ । प्रमाणै प्रमाण बजारभरि भएको केसमा अब बन्ने सरकारले कसरी मुद्दा अगाडि बढाउँछ हेर्न बाँकी छ । हल्ला सुनिएअनुसार माननीय रमेश लेखक सम्भावित गृहमन्त्री हुनुहुन्छ रे । तपाईंले मलाई स्टन्ट गर्नुभयो भन्नुभयो । बाँसबारीको जग्गा, बालमन्दीरको जग्गा फिर्ता ल्याइएको छ, जनकपुरको जग्गाको अनुसन्धान सुरु भएको छ, पतञ्जलीको जग्गाको काम भएको छ, यसलाई अघि बढाउनुहोला, म तपाईंबाट यस्तो स्टन्टको अपेक्षा तपाईंबाट गर्छु ।’

उनले थपे, ‘यही सदनमा उभिएर एकजना माननीयले भन्नुभएको थियो खोइ फाइल खोलेको ? फाइल खोलेको २४ घन्टामा सरकार ढाल्नुभयो कसरी खोल्ने ? सरकार के कारणले ढल्यो, हाम्रो सहमति के भयो भनेर ढाँट्नुभयो । यो देशको बच्चा बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो । बेचन झा र प्रतीक थापाको पक्राउबाहेक सरकार ढलेको कुनै कारण जनतालाई थाहा छैन ।’
प्रधानमन्त्री प्रचण्डको लामिछानेले तारिफ गरे ।

उनले भने, ‘उहाँको राजनीतिक इतिहासमा प्रश्नहरु छन् । उहाँको भविष्य उहाँले चिन्ता गर्ने हो । तर वर्तमानमा आफ्नो राजनीतिक र सुशासनको प्रतिवद्धतामा कायम रहनुभएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिन चाहन्छु ।’

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाईं ईंगित गर्दै उनले केहीको नामै लिँदा पनि लोकतन्त्र र प्रेस स्वतन्त्रता खतरामा पर्ने भन्दै कटाक्ष गरे । सुशासन समितिको सभापति नै उनलाई भेट्न गएर ढाढस दिएको भन्दै आलोचना गरे ।

‘कति ठाउँबाट विज्ञप्ति आए ? कतिले विज्ञप्ति चढाउन गए ? राजाका पालामा दाम चढाएजस्तो विज्ञप्तिमाथि विज्ञप्ति चढाउन जानुभएको होइन ? सुशासन समितिको सभापति सिंगो पार्टीको सांसद बोकेर पक्राउ पूर्जि जारी भएको अभियुक्तलाई भेटेर म तपाईंको साथमा छु भन्नुहुन्छ । अनि सुशासनको अपेक्षा गर्ने ? यति बोलेका कारण मैले कतिवटा सम्पादकीय भोग्नुपर्ने हो ? अब त संसदीय समितिमा मलाई ठग प्रमाणित गर्न कुनै आपत्ति हुँदैन होला । यो देशमा कोही न कोही त जेल जानैपर्छ । सुरुवात मबाट गर्नुस, शुभकामना छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर