ज्ञानेन्द्र शाहीको गर्जन- प्रधानमन्त्रीज्यू ! जातजातिलाई भड्काएर आफ्नो स्वार्थको रोटी सेक्न बन्द गर्नुस् (भिडिओ) – Nepal Press

ज्ञानेन्द्र शाहीको गर्जन- प्रधानमन्त्रीज्यू ! जातजातिलाई भड्काएर आफ्नो स्वार्थको रोटी सेक्न बन्द गर्नुस् (भिडिओ)

छुवाछूत ऐन तपाईंहरूले बनाएको हो कि महेन्द्रले ? तपार्ईंको मन्त्रिपरिषदमा खोइ एकजना दलित ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जातजाति भड्काएर राजनीति नगर्न सुझाव दिएका छन् । संसदमा प्रधानमन्त्रीले दलित र जनजातिलाई आफूहरूले दिलाएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको टिप्पणी गरेको प्रति शाहीले कडा जवाफ फर्काए ।

प्रधानमन्त्रीले दलितको कुरा गरिरहँदा आफ्नो मन्त्रिपरिषदलाई फर्केर हेर्न उनले सुझाव दिए । प्रधानमन्त्रीको पार्टीमा दलित/जनजाति अध्यक्ष कहिले हुन्छन् भन्ने प्रश्न पनि गरे ।

शाहीको सम्बोधनको एक अंश-

आज संसदमा रमाइलै छ । सबैजना हुनुहुन्छ । मलाई बडो अचम्म लागेका चाहीँ सरकारका तर्फबाट प्रधानमन्त्री र गृहमन्त्रीले बोल्नुभो । उहाँहरूको कुरा सुन्दा देश त कायापलट भइसकेछ भन्ने लाग्यो । तर, याद राख्नुस्, आज पनि आठ लाख युवाले एक वर्षमा देश छोड्दै छन् । हुन त हामी गृहमन्त्रीसँग बोल्न सक्दैनौं । उहाँले बोलेर गिनिजबुकमै नाम लेखाएको हो ।
प्रधानमन्त्रीले आदिवासी, जनजाति, दलितको कुरा गर्नुभयो । तपाईंको बोलीको स्वागत गर्छु । तर एकछिन तपाईंको पार्टीलाई फर्केर हेर्नुस् न । एकपटक जनजाति, दलितको छोरा यो पार्टीको अध्यक्ष भएमा हामी पनि पर बसेर ताली पड्काउथ्यौं । तर, राप्रपामा आदिवासी जनतातिको छोरालाई अध्यक्ष बनाइसक्यौं । हामी बोल्दैनौं ।

अर्को दलितको कुरा गर्नुभो । आज आफ्नो मन्त्रिपरिषद् पल्टाएर हेर्नुस न एकजना दलित मन्त्री छ ? छैन शून्य । यो रोष्टममा उभिएर काम नगर्ने, कुरा ठूलो गर्ने गर्नु भएन । दलितका छोराछोरी राजाका पालामा केही थिएनन् भन्नुभयो । हीरालाल विश्वकर्माको नाम सुन्नुभएको छ ? शिक्षामन्त्री हुनुहुन्थ्यो राजाको पालामा, जसले बूढानीलकण्ठ स्कुलको स्थापना गर्नुभयो । त्यहाँ गरिब धनी सबैका छोराछोरी समानस्तरमा पढ्न सक्छन् । आज पनि जातीय छुवाछूतविरुद्धको कानून तपाईंहरूले बनाएको हो ? २०२०/२१ मा महेन्द्रले बनाएको हो । केही बुँदा तपाईंहरूले संशोधन गर्नुभएको होला ।
सबैलाई खुल्ला छ राजनीति गर्नुस् । चुनाव जितेर आउनुस् । खुला छ मैदान । तर, जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी सेक्ने काम संसदको रोष्टमबाट नहोस् । अति भइसक्यो । जातिकै कुरा गर्ने हो भने रुकुममा नवराज विकको हत्या राजाको पालामा भएको हो ? यही गणतन्त्र हुँदा हो । माओवादी सरकारमा थियो । त्यतबेला भएको हो । अहिलेसम्मकै जातीयताका लागि मान्छे मारेको ठूलो घटना हो ।

हाम्रो जात एउटा छ, नेपाली । देश एउटामात्रै छ, नेपाल । हामीले जात-जातिलाई टुक्र्याएर राजनीति गर्नु छैन । जातजातिका नाममा फेरि सडकमा आगो बालेर, सुरक्षाकर्मी दाजुभाइको रगत बगाएर राजनीति गर्न नखोज्नुस् । । बरु राजनीतिकबाट सन्नयास लिनुस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर