कोशीका दूध किसानको ३२ करोड भुक्तानी गर्न मुख्यमन्त्री कार्कीले थाले पहल – Nepal Press

कोशीका दूध किसानको ३२ करोड भुक्तानी गर्न मुख्यमन्त्री कार्कीले थाले पहल

विराटनगर । कोशी प्रदेशका किसानले बेचेको दूधको बक्यौता तिर्न दुग्ध वितरण आयोजनाले ढिलाई गरेको । दूध बेचेको पैसा दिन किसानहरुले पटक पटक माग गर्दा पनि आयोजनाले दुधको पैसा तिर्न सकेको छैन ।

आयोजनाले किसानको ३२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशको धनकुटा, तेह्रथुम, उदयपुर, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथरसाथै मधेश प्रदेशको सप्तरी जिल्लासमेत गरेर किसानलाई सो रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

कार्यालयका प्रमुख परमेश्वर चौधरीका अनुसार बजारमा खुल्लारुपमा बिक्री भइरहेको दूधभन्दा आयोजनाले बेच्ने दूध महँगो भएको र बजारीकरणमा पनि समस्या भएकाले अहिलेको अवस्था आएको बताए । आयोजनाले प्रतिलिटर ९८ रुपैयाँमा दूध बिक्री गरिरहेको छ ।

दूधको मूल्य नपाएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसानहरूलाई रकम उपलब्ध गराउनका लागि पहल थालेका छन ।

प्रदेशका विभिन्न जिल्लाका किसानहरूले दूधको रकम नपाएको गुनासो मुख्यमन्त्री कार्कीसँग गरेपछि उनले रकम उपलब्ध गराउने विषयमा पहल थालेका हुन् ।

शुक्रबार विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख र कर्मचारीहरूलाई कार्यालयमा बोलाएर रकम कसरी उपलब्ध गराउन सकिन्छ र प्रदेश सरकारले केके गर्न सक्छ भन्ने विषयमा छलफल गरे ।

प्रदेश सरकार तीनै तहको संरचनासँग समन्वय गरेर अगाडि बढ्ने सरकार भएकाले किसानको गुनासोलाई सम्बोधन गर्न सरोकारवालालाई बोलाएर समन्वय र निर्देशन दिइएको मुख्यमन्त्री कार्कीले बताए । उनले आयोजनाको कार्य प्रगति, संस्थाको अवस्था र बजारका विषयमा छलफल गरेका थिए ।

आयोजना सङ्घीय सरकारको संरचना भए पनि किसानहरूको हितलाई ध्यानमा राखेर आयोजनासँग सहकार्य गर्ने र पूर्णरुपमा सञ्चालन र बजारीकरणका लागि सङ्घीय सरकारसँग पनि छलफल गरेर अगाडी बढ्ने कार्कीले बताए ।

मुख्यमन्त्री कार्कीले सङ्घीय सरकारसँग पनि किसानको रकम उपलब्ध गराउन तत्कालै कुराकानी गर्ने र चाँडोभन्दा चाँडो रकम दिनका लागि समन्वय गर्ने बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *