पहिरोको कहर : भाग्न सजिलाका लागि झ्याल खुल्लै राखेर सुतेका परिवारले नै उज्यालो देख्न पाएनन् – Nepal Press

पहिरोको कहर : भाग्न सजिलाका लागि झ्याल खुल्लै राखेर सुतेका परिवारले नै उज्यालो देख्न पाएनन्

कास्की । कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटकी राधिका परियारले बिहीबार राति देवर कुलबहादुरलाई भनेकी थिइन्, ‘आज हामी सुत्नु हुँदैन । झ्याल ढोका खुला राखेर बस्नुपर्दछ ,पहिरो आयो भने भागौँला ।’

सासूआमा ८५ वर्षीया लक्षिमा राधिकाको घरमा खाना खाएर सुत्न देवरको घर गएकी थिइन् । साँझ छोरीज्वाईँ आएकाले राधिका पनि घरसँगै जोडिएको देवरको घर गए ।

सासूआमा ८५ वर्षीया लक्षिमा पिँढीमा बसेकी थिइन् । अन्य सबै जना घरमा एउटै कोठामा थिए । राति १० बजेतिर राधिका देवरको घरबाट फर्किएको १२ मिनेट पनि भएको थिएन । उनी र श्रीमान् सुवर्ण कोठामा बसेर मोबाइल फोन चलाउँदै थिए । भूकम्प जस्तो भयो । दुवैजना डरले कोठाबाट बाहिर निस्किए ।

राधिका डरले पल्लोघरतिर भागिन् । श्रीमान् सूवर्ण भाईको परिवारलाई बचाउँछु भनेर जाँदा टिनले छाएको ढुङ्गा माटोले बनेको एकतले घर पहिरोले पुरिसकेकेको थियो ।

पहिरोले कुलबहादुरसहित आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, १५ वर्षीया छोरी प्रशना, २० वर्षीया छोरी प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियारलाई एकै ठाउँमा पुरेको थिए । पहिरोमा परेर उद्धारका लागि पुगेका छिमेकी राधिका परियारको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुलबहादुरका १७ वर्षीय छोरा पवन भने हुत्तिएर बाँच्न सफल भए । पवनलाई छिमेकीले उद्धार गरी अस्पताल लगेका थिए । घरमाथि अघिल्लो दिननै सानो पहिरो खसेको थियो । जमिन धेरै भिरालो नभएकाले थप पहिरो नजाला भन्ने अनुमान गरेपनि पानी निरन्तर परिरहेकाले त्रासले रातभर नसुत्ने योजनामा दुवै परिवार थिए ।

‘अस्ति सानो पहिरो खसेको थियो । अब तल आउँदैन होला भन्ने भयो । आयो भने भाग्ने भनेर बसेका पनि थियौँ ।’ राधिकाले भनीन् । उनकाअनुसार, कुलबहादुरका ज्वाईँ र कान्छी छोरी राति छाता ओढेर घर माथितिर हेर्न जानुभएको थियो । माथि सामान्य रहेकाले चिन्ता नगर्न ज्वाईले भनेपछि उहाँ आफ्नो घर फर्किनुभएको थियो । ‘माथि हेरेर आएपछि ज्वाइँले भगवानले हाम्रो रक्षा गर्नुहुन्छ । पहिरो आउँदैन भन्नुभयो । तर मैले लापरबाही गर्नुहुँदैन, आज सुत्नु हुँदैन भनेर हिँडेको केही समयमै गुर्र घरमाथि पहिरो खस्यो ।’ उनले भनिन् ।

कुलबहादुरलाई पहिराको त्रास भएपनि घरमा पाहुना आएकाले घर छाड्न नमानेको उनले बताइन् ।

पहिराले राधिकाको घरको एक कोठामा पनि क्षति पुगेको छ । अर्को कोठामा बसेकाले उनी पहिरोबाट जोगिएकी हुन् । राधिकाको सुत्ने कोठा पहिराले पुरिएको हो । गएराति आफू अर्को कोठामा गएर बसेकाले बाँच्न सफल भएको राधिकाले बताइन् । पहिरोबाट आफू जोगिए पनि देवरको पूरै परिवार सखाप भएकाले उनी विक्षिप्त छिन् । ‘जापान भएकी छोरीले अब कसरी आफूलाई सम्हाल्ली । कसरी खबर गर्नु, कस्तो दिन भोग्नु पर्योँ ।’ राधिकाले आँखाबाट आँसु झार्दै भनीन् ।

स्थानीयका अनुसार कुलबहादुरलाई पहिरोको जोखिम रहेकाले घरमा नबस्न सल्लाह दिइएको थियो । छिमेकीहरुले वैकिल्पक व्यवस्था गर्न भनेका थिए । अर्को विकल्प नभएकाले कुलबहादुरको परिवारले घर छाडेन । पहिरोको त्रासमा भने बसेको थियो ।

पोखरा–१९ का वडासदस्य विकास आचार्यले बिहीबार साँझ बजेतिर कुलबहादुरलाई खाना घरमै खाएपनि बास नबस्न आग्रह गरेको बताए । उनले भने,’पानी परिरहेको छ, पहिरोको जोखिम छ आजलाई खाना पकाएर खाएपनि रात नबस्नु हामी अर्को व्यवस्था गछौँ भनेर निस्केको थिएँ, त्यसै गर्नुपर्ला भन्नुभएको पनि थियो । राति ठूलो आवाज सुनेँर बाहिर निस्कँदा अरुलाई पहिराले पुरिसकेको रहेछ । छोरालाई मात्र जोगाउन सफल भयौँ ।’

कृष्ण दवाडी/ रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर