मःमःको अचारमा गन्ध आएपछि बर्गर हाउसलाई महानगरले गरायो २ लाख जरिवाना – Nepal Press

मःमःको अचारमा गन्ध आएपछि बर्गर हाउसलाई महानगरले गरायो २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्गर हाउसलाई २ लाख जरिवाना गरेको छ । कलंकीमा रहेको वर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको हो ।

अनलाइनबाट मःमः अर्डर गर्ने ग्राहकलाई गन्ध भएको अस्वस्थ्यकर अचार पठाएको पुष्टि भएपछि ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन’ बमोजिम आज कारबाही गरिएको हो ।

महानगरपालिकाले आफ्नै कार्यालय भवनमा सञ्चालित नारायणी चमेना गृहलाई पनि २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधी न्यौपाने भने, ‘चमेना गृहबाट बिक्री हुने खाना तथा खाजाको स्वच्छताका विषयमा उपभोक्ताबाट गुनासो आएपछि खाद्य प्राविधिकले निरीक्षण गरेर लिखित निर्देशन दिइएको थियो । यसरी दिइएको निर्देशनको पनि पालना नभएपछि कारबाही गरिएको हो ।’

महानगरपालिकाका खाद्य प्राविधिक अनिल बस्नेत घटनाका बारेमा वर्गर हाउसलाई जनकारी दिँदा पनि दोस्रो पटक गन्ध आएको अचार पठाएको बताए ।

ग्राहकले अचारमा गन्ध आएको भनेपछि वर्गर हाउसका सञ्चालकलाई पनि बोलाइएको थियो ।

उजुरीको छानबिनका लागि कार्यालयमा बोलाइएका वर्गर हाउसका सञ्चालक बिक्रम गिरीले मः मः को अचारमा गन्ध आएको स्वीकार गर्दै भने, ‘तयार पार्ने बित्तिकै फ्रिजमा राख्नु पर्ने अचार भुलवश बाहिर रहन गएकोले गन्ध आएको हो । यसमा कर्मचारीको लापरवाही भएको हो । खानाको स्वच्छतामा लापरवाही गर्ने कर्मचारीलाई हामीले पनि कारबाही गरिसकेका छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *