सभामुखको पत्र शीतल निवास पुग्यो, आजै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्ने कांग्रेस-एमालेको विश्वास – Nepal Press

सभामुखको पत्र शीतल निवास पुग्यो, आजै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्ने कांग्रेस-एमालेको विश्वास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएर पदमुक्त भएको जानकारी संसद सचिवालयले राष्ट्रपतिलाई गराएको छ । १३८ मत आवश्यक पर्नेमा ६३ मात्र पाएर प्रधानमन्त्री पदमुक्त भएकाले नयाँ सरकार गठनको आह्वानका लागि सभामुखले मत परिणामसहितको जानकारी शीतल निवास पठाएका हुन् ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदको पत्र शीतल निवास पुगिसकेकाले अब राष्ट्रपतिको आह्वानको पर्खाइमा आफूहरु रहेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन कांग्रेससहितका दलहरुको समर्थन रहेको पत्र तयार रहेकाले राष्ट्रपतिले बोलाउनासाथ जाने तयारी छ ।

राष्ट्रपतिले आजै संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्ने अपेक्षा रहेको वर्तौलाले बताए । त्यसो भएमा आजै दुई तिहाई बढी सांसदको समर्थनसहित ओलीलाई प्रधानमन्त्री बनाउन दावी पेश हुनेछ ।

पदमुक्त भएलगत्तै प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भवन गएका छन् । उनले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार बनाउन राष्ट्रपतिलाई आग्रह गरेका छन् । राष्ट्रपतिले आजै शीतल निवासमा संविधानविदहरुसँग पनि छलफल गरेका छन् । राष्ट्रपतिले सरकार गठनको आह्वान नगरे दलहरु समर्थन पत्र लिएर शीतल निवास जाने भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर