प्राकृतिक विपदमा परी अहिलेसम्म १०३ जनाको मृत्यु – Nepal Press

प्राकृतिक विपदमा परी अहिलेसम्म १०३ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शुक्रबारसम्म १०३ जनाको मृत्यु भएको छ ।

जसमा बैभन्दा बढी गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कोशी प्रदेशमा १९ जना, सुदूरपश्चिम प्रदेशमा ७ जना, बागमती प्रदेशमा ६ जना, मधेश प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा ४ जना र काठमाडौं उपत्यकामा १ जना गरेर जम्मा १०३ जनाको मृत्यु भएको हो । मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

बाढी, पहिरो लगायतका विपद्‍मा परेर कोशी प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा २८ जना, कर्णाली प्रदेशमा १५ जना, सुदूरपश्‍चिम प्रदेशमा ११ जना, लुम्बिनी प्रदेशमा ९ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४ जना र काठमाडौं उपत्यकामा ३ जना गरेर जम्मा १०९ जना घाइते भएका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार घाइतेलाई उपचारको लागि स्थानीय अस्पताल पुर्याएको छ भने कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ ।

बाढी पहिरोमा परी कोशी र बागमती प्रदेशमा २–२ जना र गण्डकी तथा सुदूरपश्‍चिम प्रदेशमा १–१ जना गरी ६ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बाढीको कारण जम्मा १८२ घर डुबानमा परेका छन् भने १८९ वटा घर, ७२ वटा गोठ, ४१ वटा पुल, २ वटा सरकारी कार्यालय र एउटा विद्यालयमा क्षति पुगेको छ । यस्तै ५०९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ३ हजार ५४७ घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गर्दै आएको जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *