चाँगुनारायणलाई एभोकाडो सिटी बनाउने अभियानले यस वर्ष पनि पायो निरन्तरता – Nepal Press

चाँगुनारायणलाई एभोकाडो सिटी बनाउने अभियानले यस वर्ष पनि पायो निरन्तरता

भक्तपुर । जिल्लाको चाँगुनारायण नगरपालिकालाई एभोकाडो सिटी बनाउने अभियानले यस वर्ष पनि निरन्तरता पाएको छ । गत वर्ष सुरु भएको ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’अन्तर्गत यस वर्ष पनि नगरवासीलाई निःशुल्क एभोकाडोको विरुवा वितरण भइरहेको छ ।

वर्षायाममा मात्र विरुवा रोप्ने कार्यक्रम गर्दै आएको यस अभियानले गत वर्ष नगर क्षेत्रका सबै वडामा करिब ७ हजार एभोकाडोको विरुवा निःशुल्क वितरण गरेको थियो । यस वर्ष वडा नम्बर १, ३, ६ र ७ नम्बरमा करिब ३ हजार विरुवा वितरण गरिएको अभियानका संयोजक नरेश खड्काले जानकारी दिए ।

उनले अभियानअन्तर्गत भाद्रसम्म निःशुल्क विरुवा वितरण गरिने बताए ।

शुक्रबार बिहान वर्षाझरीको पर्वाह नगरी चाँगुनारायण नगरपालिका-६ नगरकोटका वासिन्दा एभोकाडोको विरुवा लिन जम्मा भएका थिए । अभियानले वडा नम्बर ६ का अध्यक्ष धनबहादुर तामाङको नेतृत्वमा एभोकाडोका विरुवा वितरण गरिएको छ ।

उक्त अवसरमा ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’का संरक्षक डीपी ढकालले चाँगुनारायण क्षेत्रका प्रत्येक घरमा कम्तीमा २ वटा एभोकाडोका विरुवा रोप्ने लक्ष्यअनुरुप निःशुल्क विरुवा वितरण गरिएको बताए ।

‘हामीले १७ हजार घरपरिवारबाट ३४ हजार एभोकाडोको विरुवा रोप्ने लक्ष्य लिएका छौं’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर