कांग्रेसबाट ५ जना मन्त्रीको नाम टुंगियो, ११ औं नम्बरमा राष्ट्रपतिका ‘उम्मेदवार’ – Nepal Press

कांग्रेसबाट ५ जना मन्त्रीको नाम टुंगियो, ११ औं नम्बरमा राष्ट्रपतिका ‘उम्मेदवार’

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको सरकारमा मन्त्री पठाउने विषयमा आन्तरिक छलफल बढाएका छन् ।

ओली भोलि प्रधानमन्त्री नियुक्त हुने भएपछि कांग्रेसले पार्टीका इतर पक्षका नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापासहित पार्टीका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै छलफल गरेका हुन् ।

देउवाले यसपछि पार्टीभित्र सन्तुलन मिलाएर विवाद नआउनेगरी पार्टीबाट सरकारमा मन्त्री पठाउने तयारी गरेका छन्। पार्टीबाट मन्त्री बनाउन मापदण्ड बनाउनको लागि आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति हुने उनले बताए ।

देउवाले यस पटक आफूलाई १४ औं महाधिवेशनमा साथ दिएका प्रकाशमान सिंहको नेतृत्वमा ओली सरकारमा मन्त्री पठाउने तयारी गरेका छन् । स्रोतका अनुसार अहिलेसम्म सिंहसहित रमेश लेखक, आरजु राणा, जीवन परियार र अजय चौरासिया मन्त्री बन्ने निश्चित भएको छ ।

एमालेसँगको सहमतिअनुसार कांग्रेसले बढीमा १० मन्त्रालय पाउनेछ । अहिलेसम्म मन्त्री बन्ने निश्चित भएका परियार शेखर समूहका हुन् । अरु चार जना देउवा निकटकै हुन् ।

सहमहामन्त्री समेत रहेका परियारले आजको बैठकमा मन्त्री बनाउने मापदण्डबारे छलफल हुने बताए । उनले भने, ‘मन्त्री कसलाई पठाउने भन्ने अहिले नै टुंगिसकेको छैन । मैले पनि आकांक्षा राखेको छु, अब पार्टीले के निर्णय गर्छ ।’

पाँच जनाको नाममा अनौपचारिक सहमति भए पनि थप मन्त्रीको विषयमा देउवाले छलफल गरिरहेका छन् । १४ औं महाधिवेशनबाट देउवा निकटमा रहेका शशांक कोइरालाले पनि एक जना मन्त्री भाग पाउँदैछन् ।

उनले संखुवासभाका दीपक खड्का र दाङका दीपक गिरीमध्ये एकलाई पठाउने तयारी गरेका छन्, तर खड्काको सम्भावना बलियो रहेको बताइन्छ । उनी शशांकसँग देउवा गुटमा पनि नजिकिँदै गरेकाले देउवाले पनि खड्काको नाममा सहमति जनाउने सम्भावना धेरै छ ।

यस्तै कर्णाली प्रदेशबाट मुगुका ऐनबहादुर शाही र सुर्खेतका हृदयराम थानीमध्ये एकजना मन्त्री बन्दैछन् । थामी शेखर समूहका हुन् तर, पूर्णबहादुर खड्का देउवा परिवारसँग दूरी बढ्दै गएपछि थानीले सम्बन्ध बढाएको चर्चा छ ।

यस्तै कांग्रेसका पुराना नेता अर्जुननरसिंह केसी र रामनाथ अधिकारीबारे पनि मन्त्री छलफल भए पनि दुवै नहुन सक्ने स्रोतले बतायो ।
ओली क्याबिनेटमा सहमहामन्त्री किशोरसिंह राठोर, विनोद चौधरी, उदय शमशेर राणा पनि मन्त्रीको दाबेदार थिए, तर देउवाले आफू प्रधानमन्त्री भएको बेलामा मन्त्री बनाउने भन्दै मनाउने प्रयास गरिरहेका छन् । एमालेसँगको सहमतिअनुसार ओलीपछि चुनावी सरकारको नेतृत्व देउवाले गर्नेछन् ।

राठोरले कांग्रेसका आफू निकटस्थहरुसँग ‘केपी ओलीको अनुहार पनि हेर्न मन छैन, तर पनि परिस्थितिले उनकै क्याबिनेटमा जानुपर्ने हुँदैछ’ भनेर बोलेको कुरा अहिले कांग्रेस वृत्तमा चर्चित छ । तर, राठोरले भने यही क्याबिनेटमा मन्त्री बन्न सबै शक्ति लगाइरहेकाे नेताहरू बताउँछन् ।

यस्तै शेखर समूहका नेता चन्द्र भण्डरीले पनि मन्त्री बन्नका लागि देउवा र शेखर ‘इमोसनल कुरा’ गरिरहेका छन्, तर अझै मन्त्री बन्ने नबन्ने सुनिश्चित भइनसकेको बताइन्छ ।

महामन्त्री गगन थापाले पनि आफ्नो कोटामा काठमाडौंबाट निर्वाचित प्रदीप पौडेललाई पठाउन देउवालाई दबाब दिइरहेका छन्, तर पौडेलको नाममा देउवा सकारात्मक भइसकेका छैनन् । थापाले अझै पनि देउवालाई प्रदीपको पक्षमा मनाउने प्रयास भने छाडेका छैनन् ।

यस पटक सरकारमा मन्त्री पठाउँदा राष्ट्रपति रामचन्द्र पौडेलको कोटाबाट पनि एकजना मन्त्री बन्ने सम्भावना छ । राष्ट्रपति पौडेलले सप्तरीको तेजुलाल चौधरीलाई मन्त्री बनाउन देउवालाई आग्रह गरेका छन् ।

राष्ट्रपतिले आग्रह गरेपछि १० मन्त्री पाउने सहमति एमालेसँग भए पनि तेजुलालको नाम ११ औं नम्बरमा छलफल भइरहेको कांग्रेस स्रोतले बतायो ।


प्रतिक्रिया

One thought on “कांग्रेसबाट ५ जना मन्त्रीको नाम टुंगियो, ११ औं नम्बरमा राष्ट्रपतिका ‘उम्मेदवार’

  1. सत्यतथ्य समाचारको लागि अभार सहित धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर