सुदूरपश्चिममा नयाँ गठबन्धनका दलहरुको एउटै स्वर: मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरून् – Nepal Press

सुदूरपश्चिममा नयाँ गठबन्धनका दलहरुको एउटै स्वर: मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरून्

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनका दलहरुले मुख्यमन्त्री दीर्घ सोडारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्।

आज प्रदेश सभा सचिवालयमा काङ्ग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री सोडारीलाई राजीनामा दिएर नयाँ सरकार गठनको प्रकृयामा सहजीकरण गर्न आग्रह गरेका हुन् ।

नेपाली काँग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री कमल बहादर शाहले सरकार अल्पमतमा परेका भन्दै नयाँ सरकार गठन र बजेट माथिको छलफलका लागि सहजीकरण गर्न मुख्यमन्त्रीलाई सुझाव दिएका थिए।

‘नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परिसकेका छन् । उनले विश्वासको मत लिन खोजेपनि पाउने अवस्था छैन । बजेट माथिको छलफल हुन सकेको छैन । अल्मतमको सरकारले केही ठूला निर्णयहरु पनि गर्न सक्दैन, त्यसैले उहाँलाई राजीनामा दिएर सरकार गठनको बाटो सहज पार्न आग्रह गर्दछौं’ उनले भने ।

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सन्तोष थापा (शर्मा) ले पनि अल्पमतमा परेको सरकारलाई निरन्तरता दिनु भन्दा राजीनामा दिनु उपयुक्त हुने बताइन्।

नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरीले प्रदेशलाई अनिर्णयको बन्दी बनाउन नहुने बताएका थिए।

संयुक्त पत्रकार सम्मेलनमा एमाले प्रमुख सचेतक बीर बहादुर थापा पातल, पूर्वमन्त्री रामेश्वर चौधरी लगायतको सहभागिता रहेको थियो ।
केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिममा नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँग सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

नयाँ गठबन्धन बनेपछि असार १ गते पेश भएको बजेटमाथिको छलफल हुन सकेको छैन । मुख्यमत्री सोडारीले अहिलेसम्म पनि राजीनामा नदिने बताउँदै आएका छन्। उनले विश्वासको मत लिने मिति पनि निर्धारण गरेका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर