सीमलताल दुर्घटना: ऋषिपालका भाइले गरे सनाखत, जोरपाटीबाट हिँडेको बसको यात्रु भएको पुष्टि
चितवन । भरतपुर २८ गोलाघाटमा आज बिहान भेटिएको शव काठमाडौंबाट गौर जान हिँडेको बसका यात्रु रहेको पहिचान भएको छ ।
भारतको सीतामरी जिल्ला बरगनिया थाना ग्राम जमुवा ९ नम्बर बस्ने २८ वर्षीय ऋषिपाल साह भएको खुलेको हो । चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार उनका भाइ सत्यपाल साहले आफ्नो दाइको सनाखत गरेका हुन् ।
साह जोरपाटीबाट बस चढेका थिए । उनी काठमाडौं बौद्धमा बसेर व्यवसाय गर्दै आएका थिए । उनको शव आज बिहान गोलाघाटको नारायणी नदीमा तैरिएको अवस्थामा भेटिएको थियो ।
हिजो शुक्रबार सीमलतालमा काठमाडौंबाट गौरतर्फ जान लागेको र वीरगञ्जबाट काठमाडौंतर्फ जान लागेको दुइटा बसलाई लेदोसहित आएको पहिरोले त्रिशूलीमा डुबाएको थियो । दुइटै बसमा सवारमध्ये तीन यात्रुले ज्यान बचाएका थिए । अन्य यात्रु त्रिशूलीमा बेपत्ता छन् ।
गोताखोरसहितको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको तालिम प्राप्त टोली हिजोदेखि नै बस र यात्रुको खोजी तथा उद्दारमा खटिएका छन् ।