अम्रिकाने काशी: प्रकृति लेखनको ‘रकेट’ रफ्तार – Nepal Press
ग्रन्थ गुञ्जन

अम्रिकाने काशी: प्रकृति लेखनको ‘रकेट’ रफ्तार

काठमाडौं । झण्डै तीन दशक अगाडि सन् १९९७ मा नेपालका वैश्विक पत्रकार कुन्द दीक्षितले प्रकृति लेखनसम्बन्धी किताब लेखेका थिए । ‘डेटलाइन अर्थ’ नामको अंग्रेजी भाषाको किताबले साढे दुई दशकपछि गत साल नेपाली अवतारमा ‘डेटलाइन पृथ्वी’ भएर बजारमा आयो । सन् १९९१ मै खुम्बु हिमनदीलाई ‘खुम्बु झरना’ भनेर कार्टुन बनाएर जलवायु न्यायको पक्षको यो तहको बुझाइ देखाइसकेका दीक्षितले लेखेको किताबले पृथ्वी पत्रकारिताबारेमा जानकारी दिन्छ । यसले धेरै नेपाली तथा विदेशी पत्रकारहरूलाई प्रकृति पत्रकारिता गर्न प्रेरणा दिएको छ ।

पत्रकारिताबाट साहित्यमा र साहित्यसँगै पत्रकारितामा सक्रिय सरला गौतमले आफ्नो तरोताजा किताब ‘अम्रिकाने काशी’मा प्रकृति पत्रकारिता गरेकी छन्, पृथ्वी लेखन गरेकी छन् । उनको प्रकृति पत्रकारिता उनले आफैं गरेकी छैनन् । उनले कथामा खडा गरेका पत्रकार पात्रहरूले गरेका छन् । उनले पृथ्वी लेखन आफ्नो अर्थात् मान्छेको कोणमा गरेकी छैनन् । जीवनजन्तुको कोणमा गरेकी छन् । अध्ययनको आधार क्षेत्रमा सरलाले जलवायु न्याय, प्रकृति प्रेम र प्राणीहरुको सहअस्तित्वका मुद्दालाई आकर्षक उठान गरेकी छन् ।

‘डुमेरो’ पछिको उनको दोस्रो आख्यान हो । विषयको कोणमा यो उपन्यास धेरै लामो समयसम्म यात्रा गर्ने आख्यान बन्नसक्छ । अहिलेको बलियो वैश्विक मुद्दा जलवायु न्याय हो, प्रकृति प्रेम हो । हिजो विद्यार्थी र विज्ञको सानो कोठामा बहस हुने जलवायु न्याय तथा प्रकृति प्रेमका मुद्दा अहिले कवितामा मात्रै पोखिएका छैनन्, कूटनीतिमा पनि अनिवार्य भएका छन् ।

यी कुरा विश्वविद्यालयका थेसिसका ठेलीहरुमा मात्रै सीमित छैनन्, यी कुरा सी चिनफिङ र जो बाइडेन, भ्लादिमिर पुटिन र नरेन्द्र मोदीको छलफलमा पनि जोडिन थालेका छन् । अर्थात् जुन समयमा जलवायु न्यायले विश्वको राज्य सत्तादेखि प्राज्ञिक सत्तासम्म सबैमा आयतन जमाएको छ, ठीक त्यसैबेला सरलाले नेपाली माटो सुहाउँदो, खासगरी काठमाडौं उपत्यकालाई मियो बनाएर देशभरका जलवायु मुद्दा र प्रकृतिमा प्राणीहरुको सहअस्तित्वका मुद्दामा सही समयमा सही आख्यान लिएर आएकी छन् ।

किताबी क्षेत्रफलः नेपालदेखि अमेरिकासम्म, प्रकृतिदेखि प्रकृतिसम्म

अम्रिकाने काशीको क्षेत्रफल नेपालदेखि अमेरिकासम्म छ । नेपालभित्र काठमाडौं, जनकपुर, मुस्ताङ, चितवन, मेलम्ची र सेरोफेरो आख्यानको क्षेत्रफल छ । किताबमा मुस्ताङबाट आएको पात्रको नाम काशी । मेलम्चीबाट आएको पात्रको नाम जोगिन्दर । मुस्ताङबाटै आएको पात्रको नाम पेम्बा । काठमाडौंकी पात्रको नाम मुरली । अमेरिकाकी पात्रको नाम कैली । चितवनको पात्र शिवप्रसाद, तर यिनीहरु मान्छे होइनन्, जनावर हुन् । काशी कुकुर हो । जोगिन्दर बाँदर । पेम्बा घोडा । मुरली बिरालो । कैली कुकुर । शिवप्रसाद हात्ती । अरु पनि धेरै पात्र छन् । धेरै जीवजन्तु छन् । यिनै पात्रहरुको आँखाबाट कथा भनिएको छ । ग्यारेजकी माया दिदी मुस्ताङका लेतेमा काशी भेट्ने सुफी तथा भैरव टोलका सरदार काका तथा काठमाडौं र ललितपुरका मेयरलगायत भने मान्छे पात्रहरु छन् ।

यी पाटन क्षेत्रमा मुकाम बनाएका जनावरहरु मिल्छन्, रमाइलो गर्छन् । देउसी खोल्छन्, खोकना पुगेर वनभोज खान्छन् । चितवन पुगेर जंगल सफारी गर्छन् । तिनीहरुको प्रेम हुन्छ, झगडा हुन्छ । ईर्ष्या हुन्छ, तर प्रकृति सबैको हो भन्नेमा एकमत हुन्छ । मान्छेले बनाएको विश्व व्यवस्थामा तिनीहरुको भद्र विमति हुन्छ । विभिन्न प्रसंगमा तिनीहरुले मान्छेमा सोझ्याएका सवाल हेरौं –

  • हावा पनि विष नै विष भइसक्यो । खेतमा विष नै विष । पानीमा पनि विष । अब त मान्छेले विष खान्छ । मान्छेको लापरवाहीले सबैले विषय खानुपर्छ ।
  • सबै प्राणीको बुद्धि हुने भएर त आफ्नो जीवन चलाउँछन् । मौरीले फूलको रस चुसेर मह निकाल्छ । मान्छेले त्यही मह काढेर खान्छ, अनि आफूलाई सबैभन्दा उत्तम र बुद्धिमान प्राणी ठान्छ ।
  • तपाईंहरुको संसारमा कुकुरलाई अलग राखेर हेर्नुस् त, कस्तो देखिन्छ । अनुसन्धान गर्ने काममा हामी छौं । भेडा चराउने लेकका साथी हामी छौं । घरघरमा मान्छेको साथी र सहारा छौं ।
  • शहरको कुनाकाप्चातिर भएका ठाउँहरु खोज्ने हो । नयाँ मेयर आएको बेलामा जनावर पार्कको कुरा पनि अगि बढाउने हो ।
  • देशको गीत त सबैले लेख्छन्, हामी पृथ्वीको गीत लेखौंला ।

सुत्केरी कुकुर मारिएका कुरा, बाँदर हत्याका प्रस्ताव, शहरमा जनावारले खानेपानी, हिँड्ने बाटो र बस्ने बासको अभाव भएका कुरा पात्रहरुबाट रोचक रुपमा उठाइएको छ । तिनीहरुका मूल मुद्दा जनावर पार्क स्थापनै भएर छोड्छ । कथालाई संयोगान्त रुपमा टुङ्ग्याउन लेखकको आँखा प्रकृति लेखनमा सकारात्मक ऊर्जाले भरिएको देखिन्छ, तर जनावार पार्क बन्ने तहको संघर्षको कथा बुझ्न र त्यो भावभूमिमा भ्रमण गर्न पाठकले केस्राकेस्रा केलाएर किताबै पढ्नुपर्ने हुन्छ । यत्ति चैँ भनौं तिनीहरुले दुःख गरेर उभ्याएको जनावर पार्कको उद्घाटन मूर्तिमा लेखेका थिए, ‘पृथ्वी सबैकी आमा हुन् । पृथ्वीको लोकतन्त्रमा हाम्रो पनि ठाउँ हुन्छ ।’

कला, देशभक्ति अनि सरलाका साविक सफरहरु

आख्यानलाई कलात्मक बनाउन लेखक सरलाले राम्रो मेहनत गरेकी छन् । दृश्यलाई राम्रो देखाउन बाँदरले सिलिन्डर बोकेको, कुकुर र बाँदरले तलाउमा डुबेको मान्छेलाई उद्धार गरेको, कुकुरले कुकुर तिहारको समयमा देउसी खेलेको, पैसा उठाएर सडक कुकुर र असहाय मान्छेलाई सहयोग गरेका जस्ता कुरा रोचक छन् । अमेरिका जाने क्रममा कुकुरले पनि अमेरिकी दूतावासमा अन्तर्वार्ता दिएको कुरा होस् वा कुकुर (काशी)ले बाकस होइन, झ्यालको सीटमै जान गरेको परराष्ट्रमन्त्री कर्मा राईदेखि अमेरिकी दूतावास हुँदै कतार एअरवेजसम्मको प्रयास गजब छ । यहाँ कला पक्ष बलियो भएर आएको छ । मूल पात्र अम्रिकाने काशीलाई पेज नम्बर ५ देखि १३७ सम्म यही नाम दिएर नामको न्याय भएको छ ।

अम्रिका पुगेको भएकाले मात्रै तिनलाई अम्रिकाने कासी भनिएको हो । तिनको मनमा त नेपाल छ । काशीले नेपालकै घरेलु उत्पादनको जुत्ता गोल्डस्टार लगाउँछ, नेपाली ब्राण्ड सोनाको टोपी लगाउँछ, जर्मन सेफर्ड होइन, भोटे कुकुर पालनको पक्षपोषण गर्छ ।

किताबमा सरलाका साविक सफरका झकहरु आएका छन् । उनले लेखेको उपन्यास डुमेरोको नाम उनले पेज ४९ मा ल्याएकी छन् । उनी पुगेका संखुवासभादेखि मुस्ताङसम्मका कुरा उनले ल्याएकी छन् । चितवनकी लेखकले पात्रहरुलाई चितवन एक फेरा घुमाएकी छन् । उनको दैनिकीमा झल्कने ‘बाल नदिने’ उवाच यहाँ पात्रहरुबाट किस्ताकिस्तामा आएका छन् । सरलाकै भौतिक, काल्पनिक र यथार्थ धरातलको क्षेत्रफलबाट आख्याउन उदाएको छ ।

अलमलका कुरा र आखिरी कुरा

१६० पृष्ठको उपन्यासमा अलमलका कुरा पनि छन् । पेज १०० मा उनले भोटे टोल र भैरव टोल भनेकी छन् । भोटे ग्याङ भन्दै आइएकोमा अचानक भोटे टोल आउँदा पाठक अलमलमा पर्छन् । किताबको गातामा ‘काशी, कैली र भुसीको त्रिकोणात्मक प्रेमकथा’ भनिएको छ, तर दुई दिन हराएको काशीलाई कैलीसँग देखिएको बाहेक प्रेम नै हो भन्ने अतिरिक्त प्रमाण कैलीसँग देखाइएको छैन । भुसीसँग पनि प्रेमको कथा बलियोसँग उभ्याइएको छैन ।

पठाओको युगको कथा छ, तर साउजी लाक्पाले भने टाइगर ब्याट्रीबाट बज्ने फिलिप्सको रेडियो घन्काउँछ । उनले इन्टरनेटबाट कुनै गीत प्ले गरेको सामान्य लाग्ने युगमा ब्याट्रीबाट चल्ने रेडियो घन्काउने पाटनको साहुको कुरामा सबैले विश्वास गर्न नसक्ने हुनसक्छ । अपवाद हो भने त्यो कुरालाई लेखकले भन्नसक्ने ठाउँ थियो, जुन कुरालाई उनले पेज ४ मा ‘कोइसन’ व्याख्या गरेर बुझाइदिइन् । पेज ७७ र ७८ मा धेरै पटक अम्बा भनिएको छ । पेज ७८ मा एक ठाउँमा बेलाउती भनिएको छ । यी दुइटै एकै हुन् भन्ने जानकारी नहुनेलाई सकस हुने अवस्था देखिन्छ ।

पाठकीय कोणमा यस्ता केही प्राविधिक कुरामा अलमल देखिए पनि कथाको मेरुदण्ड अर्थात् प्रकृति प्रेम, जलवायु तथा वातावरणीय न्यायको कुरामा लेखक प्रस्ट छिन् । यो उनको सफलता हो । आख्यान एकै बसाइमा खरर पढ्न सकिने सलल बग्ने सरल तरिकाको छ । यो किताब नेपाली आख्यानका पाठकहरुले मात्रै नभएर जलवायु क्षेत्रमा काम गर्ने, वातावरणीय न्यायका अभियानकर्मीहरु, पशु अधिकारकर्मीहरु सबैले पढ्नैपर्ने किताब हो । मुद्दा, मर्म र मन्थनको कोणमा सरलाको पृथ्वी लेखनलाई ‘रकेट’ लेखन भन्न सकिन्छ । रकेट किताबमा काशीकी प्रेमिका भुसीले ‘दामी’ भन्ने अर्थको शब्द हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *