मिथक बनेका बालेन: आशाका किरण कि अलोकतान्त्रिक राजनीतिका बीउ ?
स्थानीय निर्वाचन सकिएलगत्तैको एक टीभी कार्यक्रममा अग्रज पत्रकार किशोर नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाइ हिन्दू धर्म प्रचारक भनेर अभिव्यक्ति दिए । त्यसले सामाजिक सञ्जालमा राम्रै प्रतिक्रिया पायो । नेपालमाथि गालीको वर्षा भयो । उनले कसरी त्यसो भने, उनै जानून् ।
केही दिनअघि व्यवसायिक कामको सिलसिलामा एक जना मित्रको कार्यालय पुग्दा एक जना हिन्दू धार्मिक सङ्गठनका अगुवा आए । उनले ती मित्रलाई आफ्नो सङ्गठनको विषयमा लामै प्रवचन दिए । धार्मिक सङ्गठनसँगै हिन्दू राष्ट्र र राजतन्त्र पुनःस्थापनासम्मको राजनीतिक उद्देश्य पनि बताउन भ्याए । कुराकानीकै क्रममा उनले भने- ‘हाम्रो अभियानमा बालेन पनि हुनुहुन्छ । अहिले गोप्य रूपमा हुनुहुन्छ । हामी बलियो भएपछि र आवश्यक देखिएपछि उहाँ पनि हाम्रो अभियानमा रहेको सार्वजनिक हुनेछ ।’ चन्दा बढी लिन होस् या धेरैलाई संगठित गर्न होस्, उनले बालेनको नाम बेचे । मित्रको छेउमै रहेको मैले सुनिरहें, प्रतिक्रिया जनाइनँ । ती व्यक्ति गएपछि मैले भनें- ‘के साँच्चिकै बालेन यस्तो अभियानमा जोडिएका होलान् र ?’ उनको प्रतिक्रिया थियो- ‘सायद होलान्, नत्र किन भन्थे ?’
कतिपय यस्ता घटना हुन पनि सक्छन्, नहुन पनि सक्छन् । यस्ता घटना भविष्यमा सार्वजनिक हुनसक्छन् र नहुन पनि सक्छन् । धेरै पुरानो कुरा छोडौं, भारतमा एक दशकअघि कांग्रेस सरकारविरूद्ध अन्ना हजारेले गरेको आन्दोलन भारतीय जनता पार्टी (बीजेपी)लाई बलियो बनाउन आरएसएसले सञ्चालन गरेको आरोप लाग्यो । अन्ना हजारेले त्यसलाई स्वीकार गरेनन्, तर आरएसएसले अस्वीकार गरेन । अरविन्द केजरीवाल हजारेबाट छुट्टिएर छुट्टै राजनीतिमा लागे र विवादका बीच केही हदसम्म सफल नै छन् । हजारे त्यसपछि सेलाए । समयक्रममा हजारेको अभियानमा लागेकामा किरण वेदी, डा. कुमार विश्वासहरू बीजेपीमा लागे । बीजेपी शक्तिमा आएपछि हजारे र उनको समूहले भारतमा जतिसुकै समस्या आए पनि आन्दोलन गर्नुपर्ने आवश्यकता देखेको छैन । सायद सक्दैन पनि । त्यही भएर बालेन हिन्दू धर्मको अभियानमा जोडिएको कुरा हजारे जस्तै हो र होइनमा नै सीमित रहन पनि सक्छ ।
नेपाली समाज राजतन्त्रमा फर्कंदैन । फर्कने भए त्यत्रो तामझामसहित इलाम पुगेका राप्रपाका नेताहरू ५०० तलको मत ल्याएर फर्कने थिएनन् । कहीँकहीँ व्यक्तित्वले फरक परेर र मूलधारका राजनीतिक दलले जनचाहनाविपरीत उम्मेदवार बनाएपछि केही थान सांसद आउनु ठूलो कुरा होइन ।
नेपालमा राजतन्त्रवादीहरूले हिन्दू राष्ट्र पुनःस्थापना, राजतन्त्र पुनःस्थापना र सङ्घीयता खारेजीको मुद्दा उठाएका छन् । अर्को समूह छ, जसले हिन्दू राष्ट्र पुनःस्थापना र सङ्घीयता खारेजीको मुद्दा उठाएको छ । यसमा कांग्रेस वरिपरिका मान्छे छन् । तेस्रो समूह छ, जस्ले सङ्घीयता खारेजीको मुद्दा उठाएका छन् । यसमा युवादेखि राजनीतिक दलसम्म लागेको देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीदेखि बालेनसम्मका नयाँ शक्ति भनाउँदाहरूले पनि यो मुद्दा बोकेको देखिन्छ । बालेनले त्यसमा स्पष्ट धारणा पेश गरिसकेका छन् । निर्वाचनमा प्रदेशको मतदान नै नगरेका बालेनले प्रदेशले आयोजना गरेको बैठकसमेत बहिष्कार गरिसकेका छन् । त्यसो त उनले जुन तन्त्र भए पनि फरक पर्दैन भनिसकेका छन् । अमेरिका, चीन, बेलायत र भारतलाई हेर्दा तन्त्रले विकासलाई फरक पारेको देखिँदैन । आखिर नेपालमा जुन तन्त्र आए पनि फरक परेको छैन । पहिलेदेखि अहिलेसम्म जिम्मेवारी बहन गरेकाले जिम्मेवारीअनुसारको काम नै गरेका छैनन् ।
व्यवस्थाप्रति बालेनले जे भए पनि हुन्छ शैली अनुशरण गरेपछि उनको व्यवस्थाप्रतिको प्रतिबद्धता खोजिरहनु परेन । उनलाई जुन व्यवस्था भए पनि केही फरक पर्दैन भन्ने उनकै अभिव्यक्तिले पुष्टि गर्छ । जसले जे भने पनि नेपाली समाज राजतन्त्रमा फर्कंदैन । फर्कने भए त्यत्रो तामझामसहित इलाम पुगेका राप्रपाका नेताहरू ५०० तलको मत ल्याएर फर्कने थिएनन् । कहीँकहीँ व्यक्तित्वले फरक परेर र मूलधारका राजनीतिक दलले जनचाहनाविपरीत उम्मेदवार बनाएपछि केही थान सांसद आउनु ठूलो कुरा होइन । राजालाई हेर्न हजारौं मान्छे आएको र उनीहरूले राजाबाट आशा गरेका छन् भन्दै राजतन्त्रको माग राख्नेहरूले लोपोन्मुख एकसिंगे गैंडा हेर्न हजारौं मान्छे चितवन पुग्ने गरेको घटनासँग तुलना गरे पनि फरक पर्दैन । उनका प्रियजनलाई यो अप्रिय लाग्छ भने कुनै सेलिब्रेटीलाइ हेर्न धेरै मान्छे आउँछन् र भीड लाग्छ भन्ने घटनासँग जोडौंला । वास्तविकता के चाहिँ हो भने ज्ञानेन्द्र जीवित रहेसम्म उनलाइ हेर्न उनको वरिपरि भीड लागिरहन्छ र उनलाई छुन चाहनेले त्यो अवसर पाए भने त धन्य महसुस नै गर्नेछन् ।
यतिखेर नेपाली समाजमा निराशा ब्याप्त छ । समाज यति धेरै निराशामा रहेपछि राजनीतिक रोटी सेक्नेहरूले आफ्नो धन्दा चलाउने नै भए । नेपाली समाज निराशाका बीचमा पनि सधैँ कुनै न कुनै व्यक्तिलाई हेर्दै आशाको किरण खोजिरहन्छ । त्यो व्यक्ति समयक्रममा नाङ्गिएपछि अर्को व्यक्ति खोज्छ । केही समय अघिसम्म रवि लामिछाने त्यस्तै व्यक्ति थिए । अब उनलाई सहकारी काण्डले आशाको किरणबाट निराशाका अगुवामा पु¥याइसकेको छ । उनले निर्वाचन जित्लान्, आखिर जति गाली गरे पनि शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपालहरूले निर्वाचन जित्दै आएका छन् ।
यतिखेर नेपाली समाजमा निराशा ब्याप्त छ । समाज यति धेरै निराशामा रहेपछि राजनीतिक रोटी सेक्नेहरूले आफ्नो धन्दा चलाउने नै भए । नेपाली समाज निराशाका बीचमा पनि सधैँ कुनै न कुनै व्यक्तिलाई हेर्दै आशाको किरण खोजिरहन्छ । त्यो व्यक्ति समयक्रममा नाङ्गिएपछि अर्को व्यक्ति खोज्छ ।
कुनै बेला डा. बाबुराम भट्टराई पनि आशाका किरण भनेर प्रचारित थिए । त्यही समयमा उनी प्रधानमन्त्री पनि भए । आज कहाँ छन् ? सबैले देखेकै छौं । उनको राजनीति एउटा राजनीतिक दलको नाङ्ले पसलमा आइपुगेको छ । त्यो पनि नगर प्रहरीले नाङ्ले पसल उठाए जसरी नै कुन बेला कसले उडाइदिने हो, कुनै ठेगान छैन । कुनै बेला लालबाबु पण्डितलाई पनि आशाको किरण मानेकै हो । त्यस्तैमध्येका एक मानिएका हर्क साम्पाङ एकातिर फ्याङ्लेपन र अर्कोतिर जातीय राजनीतिमा खुलेपछि एकपाखे भइसकेका छन् । जातीय राजनीतिको कारण उनी पूर्वी नेपालमा केही समय चर्चामै रहने देखिन्छ । असहिष्णु राजनीतिले त उनी विवादमा पनि परिनै रहनेछन्, तर उनी आशाको किरणभन्दा पनि घृणाको राजनीतिक बाटोमा छन् ।
पछिल्लो चरणमा बालेन नेपाली समाजको आशाको किरण भनेर प्रचारित छन् । बालेनको विषयमा आएका केही प्रतिक्रिया हेर्दा लाग्छ, अब यो मुलुक बनाउने भनेकै बालेनले मात्र हो । ‘I Hate Politics’ भन्ने टिनएजरदेखि राजनीतिक तथा सांगठनिक रूपमा कतै नखुलेका व्यक्तिहरू र सामाजिक सञ्जालमा आएका सामान्य कुराहरूको आधारमा धारणा बनाउनेसम्मको लागि बालेन आशाका किरण हुन् । अझ विदेशमा बस्ने केहीको लागि त उनी नेतृत्वमा आउन ढिला भएको कारण देश बिग्रिएको हो । स्वदेशमा रोजगारी नपाएपछि बाध्य भएर (सरकारले फ्री भिसा भने पनि दलाल र म्यानपावरलाई लाखौं रूपैयाँ बुझाएर) सस्तोमा श्रम गर्न खाडी पुगेका धेरै युवाहरूले बालेनलाई समर्थन गरेकै छन् । मूलधारका राजनीतिक दल र शीर्ष नेताहरूबाट वाक्क भएर उनीहरूले बालेन आउँछन् र चमत्कार हुन्छ भन्न थालेका छन् ।
बाध्य भएर खाडी पुगेकाभन्दा अघि बढेर नेपालको उच्च र मध्यमस्तरको जीवनले नपुगेर लाखौं खर्च गरी पश्चिमी देश पुगेकाहरूको प्रतिक्रिया त झन् उदेकलाग्दो छ । उनीहरू बालेनले देश बनाएमा फर्कने हो, नत्र यतै बस्ने भन्छन् । नेपालमा छुट्टी मनाउन र बेला बेला आउन टेको राखेर भएको सम्पत्तिसमेत अवैध बाटो (हुण्डी)बाट उतै लगेका उनीहरू केहीको त्यो कुरा गफ गर्ने माध्यममात्र हो । बुढ्यौलीमा पुगेपछि र कल्याणकारी रकम पाउने भएपछि उनीहरू पक्कै पनि नेपालमा बढी बस्नेछन्, सस्तो उपचार र थोरै पैसाबाट पाइने सम्मानित जीवन जिउन । अहिले बालेनको कुरा गर्नु भनेको यता बस्नेलाई अर्ती दिनु सिवाय केही पनि होइन भन्ने उनीहरूलाई समेत थाहा छ ।
वास्तवमै बालेन ‘मिथक’ बनेका छन्, बनाइएका छन् । उनले केही काम नगरे पनि जस पाउने अवस्था सिर्जना गरिन्छ । काठमाडौंमा जसले काम गरे पनि बालेनले गरेको भन्न थालिएको छ । राजनीति र समाजको बारेमा जानकारी नलिइ फेसबुकका छोटाछोटा अपुष्ट विवरण र रिल्सबाट धारणा बनाउनेको लागि बालेन साँच्चिकै मिथक बनेका छन् ।
गत सोमबारको एक प्रसंग, पुल्चोकबाट टेम्पोमा बबरमहल आउँदै गर्दा कुपण्डोल आइपुगेपछि दुई युवाले सफा सडक हेर्दै कुरा गरे, वास्तवमा बालेन आएपछि काठमाडौं सफा भएको छ है ! एक जना महिलाले यो त ललितपुर हो र यहाँका मेयर चिरीबाबु महर्जन हो भनेपछि एक जना युवाले घोषणा गरिहाले, बालेन आएपछि छेउछाउका नगरपालिकाले पनि काम गर्नुपर्छ भन्ने सिके । यस्तो यात्राको क्रममा खासै प्रतिक्रिया नजनाउने मैले त्यस दिन थोरै हाँस्दै भनें- ‘बालेन वास्तवमा ‘मिथक’ बनेका छन् है !’ त्यो भनेको के भनेपछि मैले भने- ‘मिथ !’ ती युवाले-‘मिथ होइन’ भने । मैले थप प्रतिक्रिया जनाइन्, तर सम्झें, वास्तवमै बालेन ‘मिथक’ बनेका छन्, बनाइएका छन् । उनले केही काम नगरे पनि जस पाउने अवस्था सिर्जना गरिन्छ । काठमाडौंमा जसले काम गरे पनि बालेनले गरेको भन्न थालिएको छ । राजनीति र समाजको बारेमा जानकारी नलिइ फेसबुकका छोटाछोटा अपुष्ट विवरण र रिल्सबाट धारणा बनाउनेको लागि बालेन साँच्चिकै मिथक बनेका छन् ।
नेपाली समाजको लागि आशाको किरण भनेर बालेनको गुणगान गाउन सामाजिक सञ्जालमा व्यवस्थित प्रचार संयन्त्र परिचालित छ । बालेनबाहेक सबै विशेष गरी शीर्षस्थ नेताहरूलाई ट्रोल गर्न सयौं पेज बनाइएको छ । बालेनलाई स्थापित गर्न ‘ब्रेन वास, डर र नायकत्व शैली’ अनुशरण गरेर गतिविधि देखाइन्छ । मूलधारका राजनीतिक दलले यी यी काममा गलत गरे भनेर सबैभन्दा पहिला ब्रेन वास गरिन्छ । राजनीतिक दलका कार्यकर्ताले पनि विरोधी दलको केही आउने बित्तिकै बालेनको अभियानमा साथ दिन्छन् । ब्रेन वासपछि देश डुब्न लागेको सन्देश दिन खोजिन्छ । त्यसपछि सुरू हुन्छ, बालेन आउँदैछन् र देश बचाउँदैछन् भन्ने अभियान । अभियान सञ्चालनको लागि धेरै स्वयंसेवक र केही बालेनका तलबी कार्यकर्ता छन् । यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शैलीको कपी हो भन्न सकिन्छ । हिन्दू धर्मलाई टेकेर भारतमा प्रधानमन्त्री मोदीले यही शैली अनुशरण गरिररहेको आरोप लाग्ने गरेको छ ।
नेपालकै नेतृत्व गर्न बालेन आउँदैछन् भन्नेहरूले काठमाडौं महानगरपालिकामा भइरहेको कामको बारेमा भने खासै जानकारी राखेको पाइँदैन । गत आर्थिक वर्षमा २० प्रतिशत पनि पुँजीगत खर्च नगरेको काठमाडौं महानगरपालिकाले यो वर्ष ३० प्रतिशत पनि पुँजीगत खर्च गर्न सकेन । भएको बजेट खर्च गर्न नसक्नेले यो र उ गर्छु भन्नु हाँस्यास्पद छ । निर्वाचनअघि उनले गर्छु भनेका काम त सुरू नै भएका छैनन् । अन्य स्थानीय तह बजेट नपुगेर काम गर्नबाट वञ्चित छन्, तर काठमाडौं महानगरपालिका भएको बजेट खर्च गर्न नसकेर बैंकमा पैसा राखेर ब्याज खानमा सीमित छ ।
ब्रेन वासपछि देश डुब्न लागेको सन्देश दिन खोजिन्छ । त्यसपछि सुरू हुन्छ, बालेन आउँदैछन् र देश बचाउँदैछन् भन्ने अभियान । अभियान सञ्चालनको लागि धेरै स्वयंसेवक र केही बालेनका तलबी कार्यकर्ता छन् । यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शैलीको कपी हो भन्न सकिन्छ ।
बालेनले न्यूरोड आसपास र शहरका मुख्य क्षेत्रमा शहरी सुन्दरतासँग सम्बन्धित केही काम गरेको देखिन्छ, तर त्यो काम पनि भत्काउँदै बनाउने परीक्षणमा सीमित छ । विवादास्पद न्यूरोडमा फुटपाथ विस्तारकै काम हेरौं, पहिले रेलिङ लगाएर फुटपाथ बढाइयो, तर त्यसले नपुगेर पुन फुटपाथ बढाउन खोज्दा सडक विभाग हस्तक्षेप गर्न आइपुग्यो । पहिले नै यति फराकिलो फुटपाथ चाहिन्छ र यस्तो बनाउने भनेर ‘डीपीआर’ बनाएर काम गर्नुपर्नेमा त्यो गरिएन । काठमाडौंका मुख्य शहरी क्षेत्रमा अघिल्लो साल बनाएका सडकपेटी अर्को साल पुनः बनाइन्छ । इन्जिनियर मेयर भएको काठमाडौं महानगरपालिकामा २–४ साल टिक्ने सडकपेटी बनाउन सकिँदैन ? यसको जवाफ बालेनबाट खोज्नु मूर्खतामात्र होइन, उनको भजनमण्डलीबाट दलका झोले कार्यकर्ताको उपमा पाउनु पनि हो ।
अलोकतान्त्रिक बालेन !
अहिलेको व्यवस्थाको लागि धेरैको बलिदानी भएको छ । अहिलेका धेरै शीर्षस्थ नेताहरूले जेलनेल भोगेका छन् र संघर्ष गरेका छन् । बालेन पुस्ताले लोकतन्त्रको लागि संघर्ष गर्नु परेन । लोकतन्त्र भोग्न पाएका छन् । अनि भोगिरहेका छन् कुशासन, बेरोजगारी र पलायन । राम्रो पक्षभन्दा पनि नराम्रो पक्ष उठाएर उनी नेतृत्वमा पुगेका हुन् । जुन स्वाभाविक पनि हो । नेतृत्वले गर्छु भनेकोमात्र होइन, गर्नैपर्ने काम पनि गर्न नसकेपछि आउने बालेनहरू नै हो, तर उनीहरू आएर के गरे अनि के गर्दैछन् भन्ने सवाल महत्वपूर्ण हो । अहिले काठमाडौं महानगरपालिकाले गरिरहेको जतिमात्र काम गर्ने हो भने नयाँ नेतृत्व किन ? शिक्षा र कानून कार्यान्वयनको क्षेत्रमा भएको प्रयासले आशा जगाउँछ, तर बाँकी क्षेत्र भने अन्य स्थानीय तहभन्दा कमजोर देखिन्छ ।
बालेन स्वतन्त्र र एक्लै भएकाले राम्रो काम गर्न नसकेको भन्नेहरू पनि भेटिन्छन्, तर काठमाडौं महानगरपालिकालाई राम्रोसँग बुझेकाहरू त्यो मान्न तयार छैनन् । बालेनको चाहनामा विनियोजन गरिएको सुचना प्रविधि क्षेत्रको बजेट उनका सहयोगीहरूले अनावश्यक चासो दिएपछि खर्च भएन । बालेन मौन बस्ने तर उनका सहयोगीहरू महानगरपालिकाका कर्मचारीहरूलाई यसो र उसो गरौं भन्दै हस्तक्षेप गर्न पुगेपछि बजेट खर्चको प्रक्रिया नै अघि नबढेका धेरै उदाहरण छन् । समयक्रममा ती खुल्ने नै छन् । बालेनले कार्यपालिकाका सदस्यहरूसँग कुनै सल्लाह नगरी निर्णय लाद्न खोजेपछि धेरै काम हुन नसकेका हुन् । बन्द कोठामा बसेर मर्यादाहीन स्टाटसको वर्षा गर्ने र दोष जति अरूलाई थोपर्ने प्रवृत्तिले उनी अलोकतान्त्रिक छन् भन्ने देखाउँछ ।
आममान्छेको जीवनशैली बनिसकेको लोकतन्त्रकै कारण उनले पदीय मर्यादा भुलेर स्टाटसको वर्षा गर्न पाएका हुन् । अनि उनका भजनमण्डलीले जसलाई मन लाग्यो, त्यसैलाई गाली गर्न पाएका हुन्, तर बालेन आफैं भने अहिलेसम्म संस्थागत मिडियाभन्दा टाढा छन् । आलोचना र छलफल त उनको शब्दकोषमा छँदैछैन ।
आममान्छेको जीवनशैली बनिसकेको लोकतन्त्रकै कारण उनले पदीय मर्यादा भुलेर स्टाटसको वर्षा गर्न पाएका हुन् । अनि उनका भजनमण्डलीले जसलाई मन लाग्यो, त्यसैलाई गाली गर्न पाएका हुन्, तर बालेन आफैं भने अहिलेसम्म संस्थागत मिडियाभन्दा टाढा छन् । आलोचना र छलफल त उनको शब्दकोषमा छँदैछैन । जिम्मेवारी बहन गर्नुनपर्ने, एक व्यक्तिले जे मनलाग्यो, त्यही तयार गरेर सामग्री पस्कने न्यू मिडिया उनका सहारा बनेका छन् र त्यसैलाई प्रयोग गरेर उनी राजनीति गर्दैछन् । उनको कार्यशैलीमात्र होइन, जीवनशैली पनि पारदर्शी छैन । लोकतन्त्रमा सार्वजनिक पदमा रहने व्यक्तिबाट पारदर्शी कार्यशैली र जीवनशैलीको अपेक्षा गरिन्छ र त्यस्तैलाई नेतृत्वमा देख्न खोजिन्छ । कतिपय कमी कमजोरीका बावजुद अहिलेको प्रणाली उत्कृष्ट प्रणाली हो । यसलाई सुधार गरेर अघि बढ्न सकिन्छ, तर पछाडि फर्कन सकिँदैन । बालेन अघि बढ्ने कि पछाडि फर्कनेमा स्पष्ट देखिँदैनन् । अरूलाई दोष देखाएर राजनीति गर्दै आफ्नो जिम्मेवारी बहन गर्न चुकिरहेका छन् । यति लामो गन्थन गरेपछि भन्न सकिन्छ, बालेन कतै अलोकतान्त्रिक राजनीतिका बीउ त होइनन् ? जसको फाइदा माथि उल्लेख गरिएका धार्मिक अगुवा जस्तैले उठाइरहेका त होइनन् ?
थेत्तरो संयन्त्रमाथि धावा
नेपालमा कानून पास हुन्छ, तर लागू हुँदैन । यससम्बन्धी धेरै उदाहरण दिन सकिन्छ । भएका कानून कार्यान्वयन नभएपछि लोकतन्त्र भीडतन्त्रमा जान्छ । नेपाल अहिले त्यही बाटोमा गइरहेको अनुमान गर्न सकिन्छ । बालेनले उनीमाथि लागू हुनेबाहेकका कानून कार्यान्वयनमा हस्तक्षेपको प्रयास गरिरहेको देखिन्छ । शिक्षा क्षेत्रमा भइरहेको हस्तक्षेपले पक्कै पनि राम्रो परिणाम दिनेछ । अन्य क्षेत्रमा उनले गर्न खोजेको हस्तक्षेपले पनि स्थानीय तहको अधिकार स्थापित हुन्छ । नेपालमा कानून कार्यान्वयन गर्नुपर्ने निकायहरू थेत्तरो छन् । जसमाथि बेला बेला बालेनले धावा बोलिरहेका छन् । यो सकारात्मक काम भए पनि नकारात्मक कार्यशैलीबाट अघि बढिरहेका छन् । एउटा काम पूरा गर्न अर्को कमजोरी पक्रने उनको गतिविधिले समाधानभन्दा पनि द्वन्द्व सिर्जना गरिररहेको छ । त्यसैले आशाका किरण मान्नेहरूको लागि बालेन चाँडै निराशाको अर्को पात्रको रूपमा थपिन पनि सक्छन् । त्यो नहोस्, कामना गर्नबाहेक के नै पो गर्न सकिन्छ र ?
काठमाडौंले बेला बेलामा नयाँ नाैटङ्गी हेर्न पाउँछ ।