बाढी प्रभावित क्षेत्रमा सङ्क्रामक रोग फैलिन नदिन स्वास्थ्य सामग्री हस्तान्तरण – Nepal Press

बाढी प्रभावित क्षेत्रमा सङ्क्रामक रोग फैलिन नदिन स्वास्थ्य सामग्री हस्तान्तरण

धनगढी । सुदूरपश्चिम प्रदेशका स्वास्थ्य महिला तथा बालबालिकामन्त्री ओमविक्रम भाट सरलले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । असार २३ र २४ को वर्षासँगै बाढी र डुबानमा परेका कञ्चनपुरका पाँच स्थानीय तहमा शनिबार स्थलगत निरीक्षण गर्दै मन्त्री भाटले प्रभावितहरूलाई औषधिलगायतका स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरेका छन् ।

भाटले पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका, बेलडाँडी गाउँपालिका र दोधारा चाँदनी नगरपालिकाका प्रभावित क्षेत्रको अनुगमन निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ ।

बाढी तथा डुबान प्रभावित क्षेत्रमा फैलिन सक्ने सङ्क्रामक रोगको उपचार तथा रोकथामका लागि स्वास्थ्य कार्यालय कञ्चनपुरको समन्वयमा औषधि, विभिन्न कीट र अन्य स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरिएको छ ।

सचिवालयका अनुसार प्रभावित क्षेत्रका स्थानीय तहका स्वास्थ्य शाखालाई औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै मन्त्री भाटले बाढी तथा डुबानबाट प्रभावित भएका, प्रकोपजन्य रोग फैलिन सक्ने क्षेत्रको पहिचान गरी आवश्यकताका आधारमा वितरण गर्न निर्देशन दिए ।

‘बाढी र डुबानले प्रभावित भएको क्षेत्रमा सङ्क्रामक रोग नफैलियोस्, फैलिए पनि समयमै रोकथाम होस् भन्ने उद्देश्यले हामीले औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छौं’, मन्त्री भाटले भने, ‘अहिले अति आवश्यक सामग्री दिइएको छ । थप आवश्यक परेमा स्थानीय तहको मागका आधारमा वितरण गर्छौं ।’

उनले स्थलगत निरीक्षणका क्रममा दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर ३, ६, ८ र १०, बेलडाँडी गाउँपालिकाको वडा नम्बर ५ सबैभन्दा बढी प्रभावित भएको पाइएको जानकारी दिए ।

यी ठाउँमा बाढी र डुबानबाट विस्थापितहरूलाई क्षतिका आधारमा प्रदेश सरकारले राहत वितरण गर्ने उनले बताए ।

मन्त्रालयले यीबाहेकका बाढी र डुबान प्रभावित क्षेत्रमा समेत स्वास्थ्य सामग्री र औषधि वितरण गर्ने योजना रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *