कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँग भिड्नु अघि मेस्सीको कीर्तिमान तोडेका रोड्रिगुएज
काठमाडौं। कोपा अमेरिकाको उपाधिका लागि सोमबार बिहान साविक विजेता अर्जेन्टिनाले कोलम्बियासँग खेल्दै छ। कोलम्बियाले सन् २००१ यता पहिलोपटक फाइनल खेल्न लागेको हो भने दोस्रोपटक उपाधि जित्ने प्रयासमा छ।
अर्जेन्टिनाले यो खेल जिते कोपा अमेरिकाको इतिहासमा सर्वाधिक यो प्रतियोगिता जित्ने एक्लो टोली बन्ने छ। जारी प्रतियोगितामा कोलम्बियाले शानदार प्रदर्शन गरिरहेको छ। पहिलो चरणमा ब्राजिलसँग बराबरी खेलेको कोलम्बियाले क्वाटरफाइनलमा पनामालाई ५–० गोलले हराएको थियो भने सेमिफाइनलमा उरुग्वेमाथि १–० गोलको जित निकालेको थियो।
यतिबेला कोलम्बियाका स्ट्राइकर जेम्स रोड्रिगुएज शानदार लयमा छन्। उनले अर्जेन्टिनीक कप्तान लियोनल मेस्सीको नाममा रहेको कोपा अमेरिकाकै कीर्तिमान तोडेका छन्। कोपा अमेरिकाको एकै संस्करणमा सर्वाधिक असिस्टको कीर्तिमान तोड्दै रोड्रिगुएजले मेस्सीलाई पछाडि पारेका हुन्।
जारी कोपा अमेरिकामा रोड्रिगुएजले १ गोल र ६ असिस्ट गरेका छन्। सन् २०२१ मा आयोजित अघिल्लो संस्करणमा मेस्सीले ५ असिस्ट गरेर नयाँ कीर्तिमान बनाएका थिए। त्यतिबेला मेस्सीले सर्वाधिक गोलकर्ताका रुपमा गोल्डेन बुट र सर्वोत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल पनि जितेका थिए।
यसपटक मेस्सीले एक गोल र एक असिस्ट गरेका छन्। उरुग्वेलाई सेमिफाइनलमा हराउँदा कोलम्बियाले रोड्रिगुएजको पासमा गोल गरेको थियो। उनले समूहगत चरणमा पाराग्वेविरुद्ध २ र कोस्टारिकाविरुद्ध एक र क्वाटरफाइनलमा पनामाविरुद्ध २ असिस्ट गरेका थिए।
रोड्रिगुएज कोलम्बियाका अनुभवी खेलाडी हुन्। सन् २०११ मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेयता उनले राष्ट्रिय टोलीबाट एक सय ५ खेल खेल्दै २८ गोल गरेका छ्न। सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा उनले तहल्का मच्चाएका थिए। मेस्सी, क्रिस्टियानो रोनाल्डो, नेमार, लुइस स्वारेजजस्ता खेलाडीलाई पछाडि पार्दै उनले सर्वाधिक गोल गरेर गोल्डेन बुट जितेका थिए।
त्यतिबेला उनले ६ गोल र २ असिस्ट गरेका थिए।सोही प्रदर्शनले उनी स्पेनिस क्लब रियल म्याड्रिडको नजरमा परेका थिए। तर रियल म्याड्रिडमा उनको बसाई व्यक्तिगतरुपमा सुखद रहन सकेन। त्यहाँ उनले ६ सिजन रहँदा केवल एक सय २५ खेल खेल्न पाए जसमा ३७ गोल गरेका थिए। त्यसमध्ये पनि दुई सिजन उनलाई रियलले बायर्न म्युनिख पठाएको थियो।
अन्तिमपटक सन् २०१९र२० सिजन उनले रियलका लागि खेल्दै घरेलु लिगमा केवल ८ खेल मात्र खेल्न पाएका थिए। त्यहाँ उनी गारेथ बेल, करिम बेन्जेमा, रोनाल्डोजस्ता खेलाडीको छायामा परे। प्लेइङ सेटमा स्थान बनाउन उनलाई हम्मेहम्मे पर्थ्यो। रियल म्याड्रिडबाट विदा भएयता उनले ठुला क्लबहरुमा अवसर पाएनन्।
इङ्लिस क्लब एभर्टनमा एक वर्ष विताएका उनी कतारी क्लब अल रायन, ग्रिक क्लब ओलम्पियाकोस हुँदै पछिल्लो समय ब्राजिलको साओ पाउलोका लागि खेलिरहेका छन्।
रोड्रिगुएजका लागि यसअघि उल्लेख्य वर्ष नै त्यही २०१४ रहेको छ। त्यतिबेला कोलम्बिया ऐतिहासिक यात्रा तय गर्दै क्वाटरफाइनलसम्म पुगेको थियो। सन् २०१८ को विश्वकपमा प्रिक्वाटरफाइनलसम्म पुगेको यो दक्षिण अमेरिकी टोली करिब डेढ वर्षअघि कतारमा भएको संस्करणमा छनोट पनि हुन सकेको थिए।
यसपटक उच्च लयमा रहेको अर्जेन्टिनालाई हराउँदै उनी खेल जिवनकै उच्च सफलता प्राप्त गर्न चाहन्छन्। रोड्रिगुएजलाई जोन कोर्डोबा, ड्यानिल मुनोज, लुइस डियाज, जेफर्सन लर्माको गतिलो साथ रहने छ। उनिहरु सबैले जारी प्रतियोगितामा २र२ गोल गरेका छन्। कोर्डोबा र मुनोजको नाममा गोल असिस्ट पनि छ।