देउडा सम्राट नन्दकृष्ण जोशीसहित २० जना प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित – Nepal Press

देउडा सम्राट नन्दकृष्ण जोशीसहित २० जना प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित

कैलाली । सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले शनिबार एक समारोहकाबीच धनगढीमा स्रष्टाहरूलाई सम्मान एबम् पुरस्कृत गरेको छ।

२११ औ‌ं आदिकवि भानुजयन्तीको अवसरमा आयोजित समारोहमा प्रतिष्ठानले लोक संस्कृति तर्फको प्रादेशिक प्रतिभा पुरस्कार २०८० बाट वरिष्ठ लोकगायक तथा देउडा सम्राट नन्दकृष्ण जोशीलाई प्रदान गरेको हाे।

यसैगरि भाषा-साहित्य तर्फको प्रादेशिक पुरस्कार वरिष्ठ कवि मनिराज जोशीलाई, गायन तर्फको प्रादेशिक पुरस्कार लालबहादुर धामी -अछामी बड्डो)लाई, ललितकला तर्फको प्रादेशिक पुरस्कार वरिष्ठ चित्रकार जीतबहादुर आउजीलाई, चलचित्र तथा नाट्य तर्फको प्रादेशिक पुरस्कार राजकुमार जोशीलाई, संगीत तर्फको प्रादेशिक पुरस्कार लीलाधर बास्कोटालाई र देउडा लोकगायन तर्फको प्रादेशिक पुरस्कार गायिका रेखा जोशीलाई प्रदान गरिएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले बताए।

सूदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारी, प्रदेश सरकारकी संस्कृति मन्त्री माया पन्त र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले स्रष्टाहरूलाई दोसल्ला, नगद पुरस्कार, टिका र मालाले सम्मानित गरेका थिए।

यसैगरि प्रतिष्ठानले प्रादेशिक प्रतिभा सम्मानबाट विभिन्न बिधाका १४ स्रष्टालाई सम्मान गरेको छ। सम्मानित हुने स्रष्टाहरूमा माधबसिंह बिष्ट, दलबहादुर बोगटी, सुरज शाह, ओमप्रकाश पुन, गौरी भट्ट, लक्षीराम आचार्य, कटक नेपाली, केपी कलौनी, धनेश्वरी रेग्मी,सागर कुश्मी चौधरी, गायिका पवित्रा भण्डारी,पुरनसिंह कडायत,रोहितप्रसाद ढुङ्गाना र जयदेव जोशी दार्चुका रहेका छन्।

समारोहमा बोल्दै मुख्यमन्त्री सोडारीले प्रज्ञा प्रतिष्ठानलाई स्वायत्त बनाउन सरकारले पहल गरिरहेको बताए। उनले आदिकवि भानुभक्तप्रति श्रद्धासुमन व्यक्त गर्दे स्रष्टाहरू राष्ट्रका गहना भएको बताए। प्रदेश भित्रका कलाकार र स्रष्टाहरूलाई खोजीगरि सरकारले उनीहरूलाई सम्मानित गर्दे जाने पनि बताए।

कार्यक्रममा संस्कृतिमन्त्री माया पन्तले आदिकवि भानुभक्त आचार्यको व्यक्तित्वको चर्चा गरिन् । मन्त्री पन्तले सुदूरपश्चिम प्रज्ञा– प्रतिष्ठानले प्रदेशको भाषा साहित्य कला र संस्कृतिको उत्थानमा गरिरहेको प्रयास प्रशंसनीय भएको बताइन्।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले एकेडेमीलाई सबैको साझा बनाउन आफूले सक्दो प्रयास गरिरहेको बताए।
उनले प्रतिष्ठानलाई स्वायत्त बनाउन, स्रष्टामुखी ऐन बनाउन र आवश्यक बजेट व्यबस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए।

एकहजार भन्दा बढीको सहभागिता रहेको समारोहमा थारू लोकनृत्य संस्कृति, डेउडा, ठाडीभाका, तथा शास्त्रीय संगीत एबम् लोकनृत्य प्रस्तुत गरिएको थियो। समारोहमा देउडा गायनका हस्तीहरू नन्दकृष्ण जोशी, रेखा जोशी, गौरी भट्ट, पबित्रा भण्डारी र लालबहादुर धामी अछामी बड्डो लगाएत कलाकारले पनि प्रस्तुति दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर