राजीनामा दिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री महरा, समर्थन दिएका ४८ मध्ये ११ मात्रै साथमा – Nepal Press

राजीनामा दिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री महरा, समर्थन दिएका ४८ मध्ये ११ मात्रै साथमा

रुपन्देही । संघीय सरकारमा नेकपा माओवादी नेतृत्वको सरकार ढलेसँगै प्रदेश तहमा पनि यसको सिधा प्रभाव परेको छ ।

लुम्बिनी प्रदेशमा नेकपा एमालेसहित ५ दलका ४८ सांसदहरुको समर्थनमा चैत २३ गते मुख्यमन्त्री बनेका माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई अब उनकै पार्टीका १० र नेकपा एसका १ सांसद मात्रै अब उनको पक्षमा रहेका छन् ।

असार २० गते नै २९ सांसदसहित प्रदेशमा ठूलो दल रहेको प्रमुख सत्ता साझेदार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जोखबहादुर महरा पूर्ण अल्पमतमा परेका छन्।

त्यसअघि असार ९ गते नै जसपा नेपालमा सांसद अम्बिका काफ्लेले सरकारलाई दिएको समर्थन फिर्ता लिएकी थिइन् । केन्द्रीय राजनीतिमा फेरिएको नयाँ समीकरणले प्रदेश सरकार ढल्ने भएपछि मुख्यमन्त्री महराले राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ ।

‘केन्द्रको अवस्था हेरौं भनेर रोकिनुभएको हो, एमालेले छाडेपछि उहाँ पहिले नै बाटो खुला गर्ने मनस्थितिमा हुनुहुन्थ्यो, एमालेबाट मन्त्री बनेका माननीयहरुलाई नै केही दिनमा सँगै राजीनामा दिने कुरा सुनाउँदा पनि उहाँहरुले छिटो दिनुभयो’ स्रोतले भन्यो–‘असार मसान्तको समय भएको र केही नियमित भइसकेका काम पूरा गर्नुपर्ने कर्मचारीको काम भएकोले ढिलाई भएको हो, उहाँ राजीनामाको तयारीमा हुनुहुन्छ, सदनमा विश्वासको मत लिने समयसम्म कुर्ने अवस्था छैन तर पार्टी केन्द्रले अझै ठ्याक्कै यो विधिमा जानु भनेको अवस्थामा मात्रै रोकिने कुरा होला, नभए राजीनामा नै दिनुहुन्छ ।’

महरालाई साथ दिएका एमालेका २९ र जसपाका ३ सांसदले समर्थन फिर्ता लिइसकेका छन् भने ४ सांसद रहेको नागरिक उन्मुक्तिले केन्द्रमा पनि माओवादीलाई विश्वासको मत दिएको छैन । महरालाई साथ दिएको ५ दलमध्ये १ सांसदसहित मन्त्री बनेकी नेकपा एसकी भगवती घिमिरे मात्रै पक्षमा रहेकी छ । लुम्बिनीमा ८७ सदस्य प्रदेश सभा रहेको छ।

बहुमत पुर्‍याउनका लागि ४४ सीट चाहिन्छ। केन्द्रमा भएको दलीय समीकरण अनुसार एमालेको २९ र कांग्रेसको २७ गरी ५६ सांसदको सहज बहुमत पुग्छ। अन्य साना दलहरु पनि सत्ता साझेदारको लागि तयारी रहेका छन् । जसपा, लोसपा, जसपा नेपाल, जनमत, नागरिक उन्मुक्ति नयाँ गठबन्धनमा साथ दिन केन्द्रबाट नै तयारी रहेको छ ।

तर प्रदेशमा भागवण्डा मिलाउन समस्या छ । प्रारम्भिक सहमतिअनुसार लुम्बिनीको नेतृत्व एमालेले पाउने छ । तर कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेका कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्य नेताहरुलाई भेटेर आफ्नो दावी पेश गरेर फर्केका छन् ।

तर यहाँ ठूलो दल एमाले भएकाले कांग्रेसले पाउने संभावना न्युन छ । एमालेको नेतृत्वमा कांग्रेसबाट सरकारको नेतृत्वका लागि यसअघि मन्त्री बनेका दाङका राजु खनालले नेतृत्व गर्ने कांग्रेस नेताहरुको भनाइ छ ।

नयाँ समीकरणसँगै एमाले कांग्रेसका नेताहरु अहिले मन्त्री मण्डलमा आफू समावेश हुनका लागि आफू निकटका नेताहरुकोमा दौडधुप गरिरहेका छन् । कांग्रेसका धेरै सांसदहरु यसको लागि काठमाण्डौ नै पुगेर धर्ना बसेका छन् ।

नेकपा एमालेका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले केन्द्रको समीकरण अनुसार आफूहरुले कांग्रेससँग औपचारिक र अनौपचारिक कुराकानी थालिसकेको बताउँदै पहिले मुख्यमन्त्रीले मार्गप्रशस्त गरेपछि नयाँ प्रकृयामा जाने बताए ।

अल्पमतमा परेपछि जतिसक्दो छिटो यसको निकास दिनुपर्ने जानकारी माओवादीलाई गराइएकाले अब छिटै हुने विश्वास लिएको उनको भनाइ छ । कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिलसिनाले केन्द्रको सहमतिअनुसार नै अगाडि बढ्नेगरी एमालेसँग कुराकानी भइरहेको जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर