नेकपा एसको महाधिवेशन : नेताले छाने नेता, अरू पदाधिकारी कता ? – Nepal Press

नेकपा एसको महाधिवेशन : नेताले छाने नेता, अरू पदाधिकारी कता ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीको असार १६ देखि २० गतेसम्म काठमाडौंमा भएको दशौँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा अपूरो कमिटी घोषणा गरेर टुंग्यायो ।

महाधिवेशन सकिएको १० दिनभित्र पार्टीले नयाँ नेतृत्व पाउने भनिएपनि त्यो सफल हुन सकेको छैन । महाधिवेशनले अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई नै दोहोर्‍याएको थियो ।

केन्द्रीय कमिटीलाई पूर्णता दिने म्याण्डेट सचिवालयलाई दिइयो । महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटीमात्रै घोषणा गरेको थियो । अहिले नेताहरूलाई नयाँ जिम्मेवारी नतोकेसम्म पुरानै जिम्मेवारी सम्हाल्न भनिएको छ ।

महाधिवेशनलगत्तै बसेको बसेको पहिलो केन्द्रीय कमिटीको बैठकले प्रदेश इन्चार्ज र सचिवहरूसँग केन्द्रीय कमिटी सदस्यको नाम मागेको नेता जीवनराम श्रेष्ठले बताए ।

उनले भने, ‘हामीले सबै प्रदेश र जिल्लाबाट क्लस्टर मिलाएर केन्द्रीय सदस्यका लागि नाम सिफारिस गर्न भनेका छौं । अब केन्द्रीय कमिटीले पूर्णता पाएपछि मात्रै पदाधिकारी चयन प्रक्रियामा जान्छौं ।’

उनले केन्द्रीय सदस्यहरूको नाम आउने क्रममा रहेकाले चाँडै पूर्णता दिने तयारी रहेको बताए । नेकपा एसमा २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी छ ।

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे, बेदुराम भुसाल र प्रमेश हमालको बलियो दाबी छ । त्यसमध्ये पाण्डको सम्भावना रहेको एक नेताले बताए ।

ती नेताले भने, ‘केन्द्रीय सदस्य छानिसकेपछि पूर्ण केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने भनिएको छ । पदाधिकारीमा आकांक्षी धेरै छन्, त्यसैले अझै मिलाउन केही समय लाग्ला ।’

पदाधिकारीमा आकांक्षी धेरै भएकाले पुरानैमा केही हेरफेर गरेर त्यही टीम आउनसक्ने बताइन्छ ।

नेकपा एसमा वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चयन गर्नुपर्नेछ । त्यसो त आवश्यकताअनुसार वरिष्ठ नेता पद पनि सिर्जना गर्नसक्ने नेकपा एसको निर्णय छ ।

त्यो पद एमालेबाट डिलमा धकेलिएका भीम रावलको लागि सिर्जना गरिन लागेको चर्चा छ । रावललाई पार्टीमा भित्र्याउनबारे छलफल भइरहेपनि सकारात्मक जवाफ नआएको एक नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर