शेखर-गगन समूहको निष्कर्ष : एमालेसँग मिलेर मात्रै हुँदैन, सरकारमा कांग्रेसले भूमिका देखाउन सक्नुपर्छ – Nepal Press

शेखर-गगन समूहको निष्कर्ष : एमालेसँग मिलेर मात्रै हुँदैन, सरकारमा कांग्रेसले भूमिका देखाउन सक्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पार्टीको भूमिका देखाउन सक्ने व्यक्तिलाई मन्त्री पठाउनुपर्ने निष्कर्ष निकालेको छ।

पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्न विशालनगरस्थित नेता कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकले दुई ठूला ठूला पार्टी मिलेर सरकार बनाउनु चुनौती र अवसर दुवै भएको निष्कर्ष निकालेको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले बताए।

उनले भने, ‘आज रूपमा जनतामा देखिएको असन्तुष्टि र निराशालाई सम्बोधन गर्दै नयाँ आशा र भरोसा निर्माण गर्ने काममा गर्नुपर्छ। संविधान संशोधनको मूल विषय उठाइएको छ, उपलब्धिमूलक रूपमा अगाडि बढ्न सक्यौँ भने अवसरको रूपमा परिणत हुन्छ। पुरानै प्रवृत्ति र संस्कार हो भने सरकार परिवर्तनले मात्रै तात्त्विक असर गर्दैन।’

उनले एमालेसँग मिलेर सरकारमा गएपछि पार्टीको भूमिका देखिनुपर्ने बताए।

नेता केसीले थपे, ‘पार्टी एकमत भएर सरकारमा पार्टीको कांग्रेसको उपस्थिति देखिने, त्यहाँभित्र कांग्रेसको पोेजिसनमा सुदृढतापूर्वक प्रस्तुत गर्ने प्रतिनिधित्व हाम्रोबाट पठाउनुपर्छ त्यसका लागि पार्टी एकजुट हुनुपर्छ।’

अहिलेको समसामयिक समस्यालाई जनस्तरमा पनि सम्बोधन हुने गरेर काम कारबाहीको निम्ति परिस्थिति निर्माण गर्नुपर्ने बताए।

उनले भने, ‘मिलेर सरकार बनाएपछि दुवै पार्टीको विषयमा समन्वय, पार्टी जनता र कार्यकर्ताबीचको समन्वय गर्नको लागि स्थिति निर्माण गर्नको लागि सबैले आआफ्नो ठाउँबाट प्रयत्न गरौँ भन्ने निष्कर्ष निकालेका छौँ।’

बैठकमा शेखर गगनसहित धनराज गुरुङ, जीवन परियार, बद्री पाण्डे, अर्जुननरसिंह केसी, दिलेन्द्र बडू, बलबहादुर केसी, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर