सडक खनेर अलपत्र छाडेपछि सडक डिभिजन लहानमा गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधि धर्नामा – Nepal Press

सडक खनेर अलपत्र छाडेपछि सडक डिभिजन लहानमा गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधि धर्नामा

जनकपुरधाम । सडक खनेर अलपत्र पारेको भन्दै सडक डिभिजन कार्यालय लहानमा सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधिहरू धर्ना बसेका छन् ।

गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी वडाध्यक्ष र वडा सदस्यहरू लिएर सडक डिभिजन कार्यालय लहान परिसरमा धर्ना बसेका हुन् ।

उनीहरूले रुपनी-छिन्नमस्ता सडक सडक निर्माण पुरा गर, लापरबाही गर्ने ठेकेदारलाई कारबाही गर, निर्माण काममा गम्भीरता देखाऊ जस्ता नारा लगाएका छन् ।

दुई वर्षदेखि राजविराज-छिन्नमस्ता सडक खनेर ठेकेदार कम्पनीले अलपत्र पारेकोले बाध्य भएर धर्ना बस्नुपरेको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष चौधरीले जानकारी दिए । उनका अनुसार सडकमा जताततै खाल्डाखुल्डी परेको छ । आवतजावत गर्न हम्मेहम्मे पर्छ ।

‘ठेकेदार कम्पनीले सडक निर्माण समयमा नसक्दा प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरसम्म पुग्न श्रद्धालुले ठूलो समस्या झेल्नु पर्छ,’ उनले भने, ‘सडकमा यात्रा गर्दा दुर्घटनाको जोखिम छ । सडक तत्कालै निर्माण कार्य सुरु होस् भनेर दबाबका लागि धर्ना बसेका छौं ।’

सडक डिभिजन लहानका प्रमुख, प्राविधिकहरू, सडक विभागसहितका सरोकारवाला निकायमा सडक निर्माणका लागि पटक(पटक आग्रह गर्दा पनि बेवास्ता गरेको अध्यक्ष चौधरीको गुनासो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *