इतर पक्षलाई तीन मन्त्रालय दिने देउवाको तयारी, शेखर-गगनले छाडेनन् अडान – Nepal Press

इतर पक्षलाई तीन मन्त्रालय दिने देउवाको तयारी, शेखर-गगनले छाडेनन् अडान

काठमाडौं । नेपाली कांग्रेसमा इतर पक्षले कम्तीमा ४ मन्त्रालय पाउनुपर्ने अडान राखेपनि सभापति शेरबहादुर देउवाले तीन मन्त्रालयभन्दा थप नदिने रणनीतिका साथ अघि बढेका छन् ।

इतर पक्षका नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहको आज बसेको बैठकले परम्परागतरूपमा पार्टीभित्र चल्दै आइरहेको ६०/४० को हिस्सा पाउनुपर्ने माग अघि सारेको थियो।
बैठकपछि नेता अर्जुननरसिंह केसीले चार मन्त्रालयको अडान नछाड्ने अडान राखेको बताएका थिए । तर, साना दल पनि सरकारमा सहभागी हुने भएपछि कांग्रेसले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा ९ मन्त्रालय मात्रै पाउने भएको छ ।

देउवा निकट एक नेताका अनुसार सभापति देउवाले इतर पक्षलाई तीन मन्त्रालय मात्रै दिने तयारी गरेको बताए ।

ती नेताले भने, ‘उहाँहरूले चार मन्त्रालयको मागसहित नाम पनि सिफारिस गरिसक्नुभएको छ । संस्थापन पक्षबाट चार जनाको नाम निश्चित भइसकेको छ । त्यसैले तीन मन्त्रालय भन्दा दिन नदिने मूडमा उहाँ देखिनुभएको छ ।’

कांग्रेसबाट प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने तयारी छ ।गृहमन्त्रीमा रमेश लेखक र देउवापत्नी आरजु देउवाको परराष्ट्र मन्त्रालयमा चर्चा छ । यस्तै, अजय चौरासिया पनि कांग्रेसबाट मन्त्री बन्ने निश्चित भइसकेको छ ।

पार्टीले सरकारमा पठाउने मन्त्रीको विषयमा सभापतिले नेताहरूसँग छलफल गरिरहेको सांसद रामहरि खतिवडाले बताए । देउवाले पार्टीभित्र एकमत बनाएर नाम सिफारिस गर्ने उनको भनाइ छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरिसकेका छन् । उनको शपथ भोलि बिहान ११ बजे हुँदैछ । सम्भव भएसम्म भोलि नै मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी मन्त्रालय र मन्त्री टुंग्याउन कांग्रेस एमाले गृहकार्यमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर