बिदाई हुँदै नारायणकाजीले भने- नयाँ परराष्ट्रमन्त्रीले मलाई भोलेन्टियर सल्लाहकार बनाए हुन्थ्यो (भिडिओ)
काठमाडौं । उपप्रधान एवम परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अब आउने परराष्ट्रमन्त्री समक्ष स्वयमसेवी सल्लाहकार बन्न निवेदन दिन मन लागेकाे बताएका छन् । परराष्ट्र मन्त्रीबाट बिदाई हुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘मैले त भनेको पनि थिएँ, अर्को मन्त्रीज्यू आउनुहोला । एउटा निवेदन त मैले हाल्नै पर्ला जस्तो लाग्यो । मलाई भोलेन्टियर भने पनि सल्लाहकार बनाउनुस् न तपाईंले केही समयका लागि । पुरै समय त म दिन सक्दैन । मान्छे को–को के गर्ने पनि तपाईं नै गर्नुहोस् । सिस्टम स्थापित गर्नुस् भन्ने चाहिँ मेरो हुन्छ । तर यो केही कामहरु चाहिँ परराष्ट्र मन्त्रालयको पूरा गर्नका लागि मलाई भोलेन्टियर तपाईले सल्लाहकार बनाउनुस् न भन्नुपर्ला जस्तो मलाई लागिरहेको छ ।’
त्यसरी भने पनि नभने पनि आफुले सुरुवात गरेका काम पूरा गर्नका लागि दृढतापूर्वक राज्यका सबै पक्षसँग वार्ता, छलफल तथा संवाद र अन्तरिक्रयामा हुने उनले बताए । त्यसमा आफ्नो प्रयत्न रही रहने परराष्ट्रमन्त्री श्रेष्ठले बताए ।