सन्न्यास लिनेबारे मेस्सी भन्छन्- यो त भगवानलाई मात्र थाहा छ – Nepal Press

सन्न्यास लिनेबारे मेस्सी भन्छन्- यो त भगवानलाई मात्र थाहा छ

काठमाडौं। अर्जेन्टिना फुटबल टीमका कप्तान लियोनल मेस्सीले आफ्नो १९ वर्ष लामो सिनियर अन्तर्राष्ट्रिय खेल जीवनमा पाँचौँपटक कोपा अमेरिकाको फाइनल खेल्दैछन्, सोमबार ।

नेपाली समयअनुसार बिहान पौने ६ बजे सुरु हुने उपाधि भिडन्तमा अर्जेन्टिना कोलम्बियालाई हराएर इतिहास रच्ने दाउमा छ । सिनियर राष्ट्रिय टोलीबाट खेल्न थालेको १६ वर्षपछि, तीन वर्षअघि मेस्सीले कोपा अमेरिकाका रुपमा उपाधि जितेका थिए । त्यसयता उनले विश्वकप पनि जितेका छन् ।

यतिबेला मेस्सीले कोपाको फाइनलपछि सन्न्यास लिन सक्ने अनुमानहरु पनि भइरहेका छन् । त्यसको कारण उनको उमेर र खेलाडीले सन्न्यासका लागि कुर्ने उत्तम समय हो । मेस्सी ३७ वर्षका भइसकेका छन् । मेस्सीभन्दा पछाडि अर्जेन्टिनाको टोलीबाट डेब्यु गरेका एन्जेल डी मारियाले सोमबारको खेल आफ्नो अन्तिम अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुने बताइसकेका छन् ।

मेस्सी भने सन्न्यास लिने मुडमा छैनन् । ‘मैले पहिला पनि भनिसकेको छु की म निरन्तरता दिन चाहन्छु’, सेमिफाइनलमा क्यानडालाई हराएपछि सन्न्यासबारे सोधिएको प्रश्नमा मेस्सीले भनेका थिए ।

उनले आफु भविष्य सोचेर नबाँचेको बताए । ‘म भविष्यबारे नसोची वा मैले निरन्तरता दिने छु की दिने छैन भन्ने कुरालाई वास्ता नगरी हरेक दिन बाँच्न चाहन्छु’, मेस्सीलाई उदृदृत गर्दै एएस डटकम लेख्छ, ‘म अहिले ३७ वर्षको भएँ र अन्त्य कहिले हुने छ भन्ने भगवानलाई मात्र थाहा छ ।’

मेस्सी सन् २००५ देखि अर्जेन्टिनाको सिनियर राष्ट्रिय टोलीमा छन् । उनले उमेरस्तरमा यू-२० विश्वकप र यू–२३ टोलीबाट ओलम्पिक स्वर्ण जितेका थिए । सन् २००७, २०१५ र २०१६ को कोपा अमेरिकामा फाइनलसम्म पुगेर पनि उपाधि जित्न सकेका थिएनन् । यस्तै, सन् २०१४ को विश्वकपमा अर्जेन्टिना फाइनलसम्म पुगेर जर्मनीसँग निराश भएका थिए ।

त्यतिबेला उनले सर्वोत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल जितेका थिए । सन् २०२१ को कोपा अमेरिका अर्जेन्टिनाले ब्राजिल पुगेर घरेलु टोलीलाई हराउँदै जितेको थियो । अर्जेन्टिनाले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा २८ वर्षपछि जितेको पहिलो उपाधि थियो त्यो ।

त्यतिबेला मेस्सी सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता दुवै भएका थिए । डेढ वर्षअघि अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई हराउँदै ३६ वर्षपछि विश्वकप जित्दा मेस्सी फेरी सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । मेस्सीले अर्जेन्टिनाका लागि एक सय ८६ खेल खेल्दै एक सय ९ गोल गरेका छन्। जारी प्रतियोगितामा उनले एक गोल र एक असिस्ट गरेका छन् ।

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलोनी मेस्सीलाई अझै टीममा रहेको हेर्न चाहन्छन् । ‘म उनले यति चाँडै सन्न्यास लिउन् भन्ने चाहन्नँ किनभने हामी अहिले नै रुन चाहन्नौँ’, सेमिफाइनलपछि स्कोलोनीले भनेका थिए । स्कोलोनी सन् २०१८ देखि अर्जेन्टिनाको प्रशिक्षक छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर