नेकपा एसमा २५-४५ उमेर समूह छनोटको मापदण्ड र जनवादी केन्द्रीयताको आधार – Nepal Press

नेकपा एसमा २५-४५ उमेर समूह छनोटको मापदण्ड र जनवादी केन्द्रीयताको आधार

२०७८ भदौ ९ गते निर्वाचन आयोगमा दर्ता भएको नेकपा (एकीकृत समाजवादी) ले ३४ महिनापछि २०८१ असार (१६-२१) मा १०औं महाधिवेशनको औपचारिक जमघट सम्पन्न गर्‍यो । अन्तिम दिन साविकको पोलिटब्युरोलाई केन्द्रीय कमिटीमा चयन गर्दै केन्द्रीय सदस्य हुन बाँकी रहेका २०६ जना १० दिनभित्र टुंगो लगाउने भनिएको छ । नेतृत्व चयनको यस प्रक्रियालाई पार्टी जनवादी केन्द्रीयताको अभ्यासतर्फ फर्किएको भनेर बुझाउने प्रयत्न गरिएको छ ।

हाल पार्टीको केन्द्रीय कार्यालय र वरिष्ठ नेताहरूको निवासतिर केन्द्रीय सदस्य बन्नको लागि दाबी पेश गर्नेको संख्या पनि बढेको छ । तर, साविकको ३४७ सदस्यीय कमिटीलाई २९९ को बनाउने र त्यसमा पनि २० प्रतिशत संख्या ४५ वर्षमुनिको हुनुपर्ने भएपछि करिब ५० जना बाहिरनेछन् भने करिब ५० जना नयाँ सदस्य आउनेछन् ।

केन्द्रीय कमिटीले पूर्णता नपाएसम्म प्राविधिकरूपमा महाधिवेशन पनि सम्पन्न नहुने भएकाले नेता कार्यकर्ताले कस्तो कमिटी बन्ला भनेर चासोपूर्वक हेरिरहेका छन् । एकतर्फ छनोटको पहिलो मापदण्डको रूपमा आफ्ना गुटप्रतिको बफादारितालाई मानिनेछ र वरीपरी घुम्ने गणेशहरूलाई प्राथमिकता दिइनेछ भन्ने आशंका रहेको छ भने अर्कोतर्फ योग्य, पार्टीको योजना एवं विचारलाई प्रवाह गर्न सक्ने क्षमता तथा क्रियाशीलता र निरन्तरताको आधारमा नेताहरुले जनवादी केन्द्रीयताको प्रयोग गरी केन्द्रीय सदस्यहरू चयन गर्नेछन् भन्ने अपेक्षा पनि कायमै छ ।

नेकपा (एस) को नेतृत्वले यस प्रक्रियालाई जति बढी पारदर्शी र अनुमानयोग्य बनाउनेछ त्यति नै स्केलमा स्वीकार्यता र विश्वसनीयता आर्जन गर्नेछ । एक जिल्लाबाट एकजना केन्द्रीय सदस्य हुनैपर्ने एवं विभिन्न क्लष्टरसमेत मिलाउँदा केन्द्रीय कमिटीभित्र प्रतिनिधित्व हुने कमरेडहरूमा झापा विद्रोहको आसपासदेखि जोडिएका र २०४६ सालपाछि जन्मिएको पुस्ताको समूह हुनेछ ।

सक्रियता र योगदान तथा सम्भावनालाई आधार बनाइनुपर्दछ र पार्टीले सोही अनुसारको जिम्मेवारी दिएर सम्बन्धित कमरेडहरुलाई थप परिष्कृत गराउँदै पार्टीको नीति निर्माण तथा विचार प्रवाहको लागि खटाउनुपर्दछ र सोही अनुसारको कार्यसम्पादनलाई आधार बनाई मूल्यांकन गरिनुपर्छ ।

पार्टीले सुरूमा युवाहरूको समूह बनाउने भन्यो तर महाधिवेशनसम्म पुग्दा यसलाई उमेर समूहमा बदलिदियो । युवा भनेपनि, उमेर समूहको भनेपनि पार्टीले स्थान दिने भनेको उपरोक्त २० प्रतिशत केन्द्रीय सदस्यको पहिचान, परिचय, क्षमता र सक्रियताले आम जनता र नयाँ पुस्ताको मतदातालाई ठूलो तहमा आकर्षण वा विकर्षण गर्ने हैसियत राख्छ । तसर्थ, केन्द्रीय कमिटी चयनमा जनवादी केन्द्रीयताको प्रयोग गर्दा केही निश्चित, मापनयोग्य आधार र मापदण्ड कायम गरिनु वान्छनीय हुन्छ ।

यस कार्यमा जनवादी केन्द्रीय केन्द्रीयताको प्रयोगलाई कसरी परिणाममुखी बनाउन सकिएला ? यो विषयलाई सहज बनाउन कस्तो उपाय प्रभावकारी होला ? नेपाली समाजको चरित्र, चिन्तनप्रणाली एवं समाजवादी कार्यक्रमको लक्ष्य समेतलाई ध्यानमा राखेर पार्टीको निर्दिष्ट कार्यभार सम्पादन गर्नसक्ने योग्यता भएका, क्षमतावान् एवं सक्रिय कमरेडहरूलाई नेतृत्वले पहिचान गरी जिम्मेवारी दिने ढाँचा कार्यान्वयन गर्नु सान्दर्भिक हुन सक्छ ।

यसको लागि पार्टीले तय गरेको भौगोलिक, गैरभौगोलिक र समावेशी समूहभित्र वैचारिक, सांगठनिक र राजनीतिक एवं जनपरिचालनको क्षेत्र तोकेर उपसमूह बनाउन सकिन्छ । यो ३ वटै उपसमूहको नेतृत्वकर्ता कमरेडहरूमार्फत पार्टीले नयाँ ढंगबाट काम गर्दैछ भन्ने ब्रान्डिङ गर्न सक्नुपर्दछ । ३ वटा उपसमूह बनाउने क्रममा कुल केन्द्रीय सदस्यमध्ये २० प्रतिशत कायम गर्दा हुने आउने ५९ जनाबाट ३ वटा उपसमूहको संख्या निर्धारण सकिन्छ । उदाहरणको लागि वैचारिक कार्यभार सम्पादन गर्न ५ जना, सांगठनिक कार्यभार सम्पादन गर्नको लागि हरेक प्रदेश र क्षेत्र समेटिने गरी १५ जना र राजनीतिक एवं जनपरिचालनको कार्यभार सम्पादन गर्नको लागि ३९ जनाको कोटा निर्धारण गर्न सकिन्छ ।

यसरी उपसमूहको चयन गर्दा नेकपा (एस) को नेता/कार्यकर्तामा हुनैपर्ने गुणका आधारभूत शर्त बाहेक निम्नानुसारको मापदण्ड एवं आधारलाई कायम गर्न सकिन्छ ।

१) वैचारिक कार्यभारको नेतृत्व गर्ने उपसमूहको चयन

वैचारिक राजनीतिक कार्यभार सम्पादन गर्नको लागि कम्युनिष्ट आन्दोलनको अन्तराष्ट्रिय इतिहास, नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास, संसारभरको न्यायपूर्ण संघर्षको इतिहास, मार्क्सवादी तथा लेनिनवादी दर्शन, नेपाली समाजको चरित्र, पार्टीको रणनीतिक एवं कार्यनीतिक लक्ष्य तथा कार्यक्रमको बारेमा गहिरो ज्ञान र रुचि भएका, अध्ययनशील एवं वैचारिक विर्मश तथा नीतिगत खोज अनुसन्धानमा रुझान भएका कमरेडहरूलाई चयन गरिने मापदण्ड बनाइनुपर्छ । यसको लागि हालसम्म सो क्षेत्रमा सम्बन्धित कमरेडहरुले देखाएको सक्रियता र योगदान तथा सम्भावनालाई आधार बनाइनुपर्दछ र पार्टीले सोही अनुसारको जिम्मेवारी दिएर सम्बन्धित कमरेडहरुलाई थप परिष्कृत गराउँदै पार्टीको नीति निर्माण तथा विचार प्रवाहको लागि खटाउनुपर्दछ र सोही अनुसारको कार्यसम्पादनलाई आधार बनाई मूल्यांकन गरिनुपर्छ ।

अन्तिम दिन साविकको पोलिटब्युरोलाई केन्द्रीय कमिटीमा चयन गर्दै केन्द्रीय सदस्य हुन बाँकी रहेका २०६ जना १० दिनभित्र टुंगो लगाउने भनिएको छ । नेतृत्व चयनको यस प्रक्रियालाई पार्टी जनवादी केन्द्रीयताको अभ्यासतर्फ फर्किएको भनेर बुझाउने प्रयत्न गरिएको छ ।

२) सांगठनिक कार्यभारको नेतृत्व गर्ने उपसमूहको चयन

सांगठनिक कार्यभार सम्पादन गर्नको लागि पार्टी स्कुलको बारेमा राम्रो ज्ञान भएका, लेनिनवादी संगठनात्मक सिद्धान्त बमोजिम चल्नको लागि अभ्यस्त भएका, सदैव पार्टीको अनुशासनमा रहेका, संगठन निर्माण एवं संगठन परिचालनको क्षेत्रमा अनुभव भएका र पूर्णकालीन रूपमा पार्टीको लागि समय उपलब्ध गराउन सक्ने कमरेडहरुलाई चयन गरिने मापदण्ड बनाइनुपर्छ । यसको लागि हालसम्म सो क्षेत्रमा सम्बन्धित कमरेडहरुको भूमिका, योगदान एवं पार्टीपंक्तिभित्र सम्बन्धित कमरेडको बारेमा रहेको आम धारणालाई आधार बनाइनुपर्दछ । यस उपसमूहका नेतृत्वकर्ताहरूलाई सांगठनिक कार्यभारको जिम्मा दिएर सोही आधारमा कार्यसम्पादनको मूल्यांकन गरिनुपर्छ ।

३) राजनीतिक एवं जनपरिचालनको नेतृत्व गर्ने उपसमूहको चयन

राजनीतिक एवं जनपरिचालनको कार्यभार सम्पादन गर्नको लागि पार्टीको जनसंगठन वा मोर्चा संगठनहरुमा आवद्ध भई विभिन्न तहमा जनपरिचालनको नेतृत्व गरेका वा पार्टीको कुनै पनि कमिटीमा आवद्ध भई जनपरिचालनको नेतृत्व गरेका र पूर्णकालिन रुपमा पार्टीको लागि समय उपलब्ध गराउने कमरेडहरूलाई चयन गरिने मापदण्ड बनाइनुपर्छ । यसको लागि हालसम्मको योगदान तथा सक्रियता र सम्भावनालाई मूख्य आधार बनाइनुपर्दछ । पार्टीलाई जनतामा स्थापित गराउने आधारभूत क्रियाकलापको नेतृत्व गर्ने यस उपसमूहभित्र नमुना कार्य गरिरहेका स्थानीय तहका जनप्रतिनिधिहरुलाई समेटिनुपर्छ । पार्टीको अग्रदस्ताको रुपमा यस उपसमूहका नेतृत्वकर्ताले वर्गीय मुद्धाहरु उठाउने र संघर्षको अगुवाइ गर्नुपर्छ ।

निष्कर्ष

नेकपा (एस) ले यस महाधिवेशनमार्फत मूलतः पार्टीको केन्द्रीय नेतृत्व चयनको प्रक्रियालाई तत्कालीन नेकपा (एमाले) को बुटवल महाधिवेशन अगाडिको अवस्थामा फर्काइदिएको छ । पार्टीको नेतृत्व चयनमा महाधिवेशन प्रतिनिधिहरूले प्रत्यक्ष मतदान गर्ने प्रक्रियाको साटो पार्टीको नेतृत्वलाई आफ्ना कमिटी पूर्ण बनाउने जिम्मेवारी थपिदिएको छ । हरेक पद्धतिको केही राम्रा र नराम्रा पक्ष हुन्छन् । यदि जनवादी केन्द्रीयताको अभ्यास गर्ने क्रममा आगामी दिनमा पार्टीले हरेक संगठित सदस्य र हरेक कमिटीको छुट्टाछुट्टै वैयक्तिक विवरण नियमित रूपमा अनलाइनमार्फत अद्यावधिक गर्ने प्रणाली बनाउने हो भने पार्टीको निर्णयको आधारहरु पारदर्शी हुनेछन् र सक्रियता एवं योगदानको अभिलेखीकरण हुनेछ ।

उदाहरणको लागि हरेक संगठित सदस्यले वार्षिक रुपमा वैयक्तिक विवरण अद्यावधिक गनुपर्ने, वडा कमिटीले हरेक ६ महिनामा एक पटक, स्थानीय कमिटीले हरेक ३ महिनामा एक पटक, जिल्ला कमिटीले हरेक दुई महिनामा १ पटक, प्रदेश कमिटीले हरेक महिना र केन्द्रीय कमिटीले हरेक २ हप्ताको समयसीमामा रहेर सम्बन्धित कमिटीले गरेका काम र सदस्यमार्फत सम्पादन भएका कामको वैयक्तिक विवरण अद्यावधिक गर्ने व्यवस्था गर्न सकिन्छ । यसरी दोहोरो अभिलेखीकरण गर्दा सम्बन्धित कमिटीहरु एवं पार्टीका सबै संगठित सदस्यको योगदान र सक्रियता स्पष्ट हुन्छ र जनवादी केन्द्रीयताको आधारमा निर्णय गर्दा अपनाइने प्रक्रिया पारदर्शी, अनुमान योग्य एवं विश्वसनीय हुने आधार तयार हुन्छ ।


प्रतिक्रिया

One thought on “नेकपा एसमा २५-४५ उमेर समूह छनोटको मापदण्ड र जनवादी केन्द्रीयताको आधार

  1. पार्टी नै त बन्दै बन्दैन हो । न केन्द्रीय समिति, न उमेर समूह । एमाले लाइ गाली गरेर बनेको पार्टि मा एमालेकै सिको। एमालेकै विरासत । अझ एमालेमा हुदाकै जस्तो लफडा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *