बलियो गठबन्धनको परिणामः पहिलो चरणमै पूर्ण बन्यो मन्त्रिपरिषद् – Nepal Press

बलियो गठबन्धनको परिणामः पहिलो चरणमै पूर्ण बन्यो मन्त्रिपरिषद्

राप्रपा, जसपा नेपाल, जनमत र नाउपा ओली सरकारमा अटाएनन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा नै सरकारलाई पूर्णता दिएका छन् । आजै २१ जना मन्त्रीहरूले शपथ ग्रहण गरेपछि मन्त्रिपरिषद् पूर्ण बनेको हो ।

राष्ट्रिय सरकारको चर्चा भए तापनि ओलीले चारवटा दलहरूलाई मात्रै सरकारमा लगे । कांग्रेस र एमालेसँगै जसपा र लोसपा सरकारमा जाँदा अन्य दल छुटेका छन् । २२ मन्त्रालय सबै भरिएकाले अब संविधानतः ३ जना राज्यमन्त्री मात्रै थप्न सकिन्छ । यसर्थ अन्य दलहरूको सरकारमा जाने सम्भावना करिब अन्त्य भएको छ ।

यसअघि सरकारको नेतृत्व गरेको माओवादी प्रतिपक्षमा रहने निश्चित थियो । चौथो ठूलो दल रास्वपाले पनि सरकारमा नजाने निर्णय गरिसकेको थियो । पाँचौ दल राप्रपाले कुनै निर्णय लिएको थिएन । उपेन्द्र यादवको जसपा नेपाल, जनमत र रेशम चौधरीको नाउपा सरकारमा जान इच्छुक थिए ।

राप्रपालाई सरकारमा लैजान ओलीले चासो नदिएको बुझिएको छ । स्रोतकाअनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा नेतृत्वसँग संवाद गरिरहेका थिए । सरकारमा आउनुपर्छ भनिरहेका थिए । तर, औपचारिक रुपमा राप्रपालाई प्रस्ताव गएन ।

जसपा नेपाल, जनमत र नाउपाले पनि सरकारमा भाग पाएनन् । कांग्रेस र एमालेबीच बलियो गठबन्धन निर्माण भइसकेपछि साना दलहरूलाई समेटिरहनुपर्ने बाध्यता ओलीलाई थिएन । साना दलहरूको बार्गेनिङ सहनु नपरेपछि ओलीले पहिलो चरणमै मन्त्रिपरिषद्लाई पूर्णता दिन सफल भए ।

यसअघि हरेक प्रधानमन्त्रीले पहिलो चरणमा सानो मन्त्रिपरिषद् विस्तार गरेर सरकारलाई औपचारिक दिने गर्थे । त्यसपछि पटक-पटक मन्त्रिपरिषद विस्तार हुने गरेको थियो । हरेकपटकको विस्तारमा लेनदेनको किचलो हुन्थ्यो । ओलीले त्यो झण्झट व्यहोर्नु नपर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर