ओलीको चौथो कार्यकाल: भारत, चीन र अमेरिकी मिडियाले के के लेखे ? – Nepal Press

ओलीको चौथो कार्यकाल: भारत, चीन र अमेरिकी मिडियाले के के लेखे ?

काठमाडौं । आइतबार चौथो पटक प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीको समाचार विश्व मिडियाहरुले प्रकाशन गरेका छन् । यसरी प्रकाशन गर्नेहरुमा भारत, चीन, अमेरिका, पाकिस्तानलगायतका विश्व मिडियाहरु छन् ।

भारतको हिन्दूस्तान टाइम्स डेक्सले बनाएको समाचारमा ओली को हुन् भनेर जानकारी दिइएको छ । भारतीय सरकारी समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इण्डिया (पीटीआई)को समाचार साभार गरेर हिन्दूस्तान टाइम्सले नेपालमा सन् २००८ मा गणतन्त्र आएपछिका १३ वर्षमा १३ सरकार फेरिएको उल्लेख गरेको छ ।

संविधानको धारा ७६ (२) अन्तर्गत ओली प्रधानमन्त्री भएको तथा सदनका २७५ संख्यामा १६५ को साथ ओलीलाई भएको समाचारमा बताइएको छ । सन् २०१५ को भारतले लगाएको नाकाबन्दीमा कडा प्रतिक्रिया दिएका ओलीलाई भारतले चीन पक्षधर देख्ने हिन्दूस्तान टाइम्सले उल्लेख गरेको छ । समाचारमा ओलीको नेतृत्वमा जारी भएको नक्सामा बेइजिङको आड भएको बताएको छ, तर समाचारमा चीनले नयाँ नक्सालाई मान्यता नदिइएको कुरा भने लेखिएको छैन ।

भारतको एनडीटीभीले पनि ओलीको समाचार प्राथमिकताका साथ बनाएको छ । उसले ७२ वर्षका ओलीले हिमाली देशमा राजनीतिक स्थायित्व दिने जोखिमपूर्ण जिम्मेवारी बहन गर्नुपर्ने उल्लेख गरेको छ । नेपाली कांग्रेसको साथमा प्रधानमन्त्री बनेका ओलीको क्याबिनेट सोमबार बन्ने समाचारमा उल्लेख गरिएको छ ।

चिनियाँ सञ्चारमा पनि ओली प्रधानमन्त्री भएको समाचार प्रकाशन भएको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वामा लेखिएको समाचारमा पूर्वप्रधानमन्त्री ओली प्रधानमन्त्री बन्ने उल्लेख गरिएको छ । प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत गुमाएपछि ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको समाचारमा उल्लेख छ । चीनकै विश्व च्यानल सीजीटीएनले ओली प्रधानमन्त्री भएको खबर नेपाली मिडियाहरुलाई साभार गरेर प्रकाशन गरेको छ ।

पाकिस्तानी अखबार डनले ओली प्रधानमन्त्री भएको खबर प्रकाशन गरेको छ । फ्रान्सेली सरकारी समाचार एजेन्सी एएफपीको समाचारलाई आधार बनाएर डनले समाचार बनाएको छ । पाकिस्तानको सबैभन्दा प्रभावशाली अंग्रेजी भाषाको अखबारले ओलीले सेन्टर लेफ्ट नेपाली कांग्रेससँग मिलेर सरकार बनाएको बताएको छ । समाचारमा भारत र चीनसँगको दुई विशाल छिमेकको बीचमा रहेको नेपाली प्रधानमन्त्रीको रुपमा यस अगाडि भारतसँगको निर्भरता घटाउन ओलीले चीनसँग सम्पर्क बढाएको लेखिएको छ ।

सन् १९७३ मा २१ वर्षको उमेरमा पक्राउ परेर सन् १९८७ मा १४ वर्ष लामो जेल जीवन सकेका ओलीले एमालेबाट आफ्नो राजनीतिक उचाइ बढाएको डनले लेखेको छ । ओलीको राजनीति जीवन किशोर समयबाटै सुरु भएको उसले लेखेको छ ।

ओली प्रधानमन्त्री भएको खबर बंगलादेशमा प्राथमिकताका साथ प्रकाशन भएको छ । बंगलादेशको एक नम्बर अंग्रेजी भाषाको अखबार डेली स्टारले ओलीभन्दा अगाडिका प्रधानमन्त्री प्रचण्डले १८ महिनामै विश्वासको मत गुमाएपछि उनी प्रधानमन्त्री भएको लेखेको छ । यो संसदको कार्यकालको अन्तिमतिर ओलीले पाँच पटक प्रधानमन्त्री भइसकेका ७८ वर्षका शेरबहादुर देउवालाई पद हस्तान्तरण गर्ने सहमति भएको समाचारमा उल्लेख गरिएको छ ।

कतारी विश्व च्यानल अलजजिराले नेपालको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको नेता प्रधानमन्त्री भएको हेडलाइन बनाएको छ । समाचारमा देशका सबैभन्दा ठूला दुई दल मिनेर सरकार बनाइएको भन्दै ओलीले चौथो कार्यकालको लागि प्रधानमन्त्री भएको उल्लेख गरेको छ । पहिलो पटक सन् २०१५ मा प्रधानमन्त्री भएका ओली दोस्रो पटक सन् २०१८ र तेस्रो पटक सन् २०२१ मा प्रधानमन्त्री भएको समाचारमा उल्लेख छ ।

टर्कीको समाचार एजेन्सी आनादालुले ओली प्रधानमन्त्री भएको खबर प्रकाशन गरेर ओली चौथो पटक १६६ सांसदको साथ लिएर २७५ सीट भएको सदनमा बहुमतका साथ प्रधानमन्त्री भएको उल्लेख गरेको छ । समाचारमा ओलीको प्रधानमन्त्री चयनसँगै देशको हप्तौं लामो राजनीतिक सकस अन्त्य भएको बताइएको छ ।

अमेरिकी अखबार न्यू योर्क टाइम्सले आफ्नो डिजिटल तथा फिजिकल दुवै संस्करणमा प्रधानमन्त्रीमा ओली नियुक्त भएको समाचार प्रकाशन गर्दै भारतलाई ओलीभन्दा पुष्पकमल दाहाल प्रचण्ड नै हस्तक्षेप गर्न सजिलो पात्र भएको बताएको छ । ओली नेतृत्वमा सत्ता गठबन्धनमा पुगेका नेपालका दुई सबैभन्दा ठूला दलहरुले संविधान संशोधन गरेर संसदको आकार घटाउने, केही पालिका विलय गर्ने, निर्वाचन प्रणालीमा हेरफेर गर्ने तयारी गरेको समाचारमा उल्लेख गरिएको छ ।

सन् २०१५ मा भारतले नेपालमा नाकाबन्दी लगाउँदा ओलीले कडा अडान लिएको पनि न्यू योर्क टाइम्सको समाचारमा लेखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर