ओली क्याबिनेटमा सुदूरपश्चिमका चार मन्त्री-  त्यो बेला र यो बेलाको संयोग – Nepal Press

ओली क्याबिनेटमा सुदूरपश्चिमका चार मन्त्री-  त्यो बेला र यो बेलाको संयोग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौथो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिएका छन् । प्रधानमन्त्री ओलीसँगै सोमबार २ उपप्रधानमन्त्री र १९ जना मन्त्रीले शपथ लिएका छन् । ओली क्याबिनेट २२ सदस्यीय भएको छ ।

ओली नेतृत्वको सरकारमा यो पटक सुदूरपश्चिमबाट ४ जना मन्त्री भएका छन् । गृह, परराष्ट्र, उद्योग र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सुदूरपश्चिम प्रदेशका जिल्लाबाट निर्वाचित सांसदहरुले पाएका छन् ।

सुदूरपश्चिमबाट एकै पटक संघीय क्याबिनेटमा ४ जना मन्त्री भएको यो पहिलो पटक भने होइन । यसअघि नेकपाकालमा ओली नेतृत्वको सरकारमै सुदूरपश्चिमका ४ जना सांसद मन्त्री भएका थिए । त्यो बेला लेखराज भट्ट, प्रेम आले, गणेश ठगुन्ना र गौरीशंकर चौधरी मन्त्री भएका थिए ।

अहिलेको क्याबिनेटमा रमेश लेखक, आरजु देउवा, दामोदर भण्डारी र बद्रीप्रसाद पाण्डे मन्त्री भएका छन् । जसमा दामोदर भण्डारीबाहेक रमेश, आरजु र बद्री कांग्रेसका सांसद हुन् ।

कांग्रेसबाट रमेश लेखक गृहमन्त्री भएका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहेका लेखक कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।

उनी नेपाली कांग्रेसबाट २०४८, २०६४, २०७० र २०७९ को निर्वाचनमा निर्वाचित भएका थिए । २०३७ सालदेखि नेविसंघमा आवद्ध लेखकले सोही समय महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसमा स्ववियु सभापतिमा उम्मेदवारी दिएका थिए ।

२०५६ सालमा पहिलो पटक प्रतिनिधिसभामा निर्वाचित उनी नेकपा माओवादी शान्ति सम्झौतामा आउनु अगाडि वार्ताका लागि गठन भएको टोलीका सदस्य थिए ।

सोही समयमा गिरिजाप्रसाद कोइरालको नेतृत्वको सरकारमा सुरुमा श्रमराज्य मन्त्री लेखक पछि फुल मन्त्री भएका थिए ।

२०७४ सालको निर्वाचन हुनुअघि उनी पुष्पकमल दाहाल प्रचण्ड क्याबिनेटमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए । २०७४ सालको निर्वाचन भने लेखक पराजित भएका थिए ।

उनीसँग संविधान मस्यौदा समिति, कार्यदल समितिलगायत विभिन्न समितिमा काम गरेको अनुभव छ । संविधान सभाअन्तर्गत न्यायपालिका हेर्ने समितिमा उनी संयोजकसमेत भए ।

यसैगरी परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी कांग्रेस नेतृ आरजु देउवाले पाएकी छन् । आरजु कांग्रेस सभापति शेरबहादुर देउवाकी धर्मपत्नी हुन् । वि.स. २०५३ सालमा कांग्रेस राजनीतिमा प्रवेश गरेकी उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा खस/आर्य समूहबाट समानुपातिक सांसद बनेकी थिइन् । त्यसअघि २०६४ देखि २०७४ सम्म उनी व्यवस्थापिका-संसदको सदस्य थिइन् ।

यसअघि पटक पटक सांसद भए पनि देउवा पहिलो पटक मन्त्री बनेकी हुन् । संविधान मस्यौदा समिति सदस्य र महिला संसदीय समन्वय समितिको अध्यक्ष भएर काम गरेको अनुभव उनीसँग छ । नेपालमा महिला तथा बालबालिकासम्बन्धी धेरै गैरसरकारी संस्थाहरु स्थापना गरी महिला हिंसा उन्मूलनका लागि काम गरेकी छन् ।

उद्योगमन्त्री दामोदर भण्डारी नेकपा एमालेका सांसद हुन् । बैतडीबाट लगातार तीन पटक निर्वाचन जितेका भण्डारीले एमालेबाट लगातार तीन पटक नै उद्योग मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएका छन् ।

यसअघि २ पटक पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व र एक पटक ओली नेतृत्वकै सरकारमा उद्योगमन्त्री बनेका भण्डारी एक पटक भने ओली क्याबिनेटमा राज्यमन्त्री बनेका थिए । उनी २०७२ सालमा ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री थिए ।

२०४८ सालमा अनेरास्ववियु बैतडी जिल्ला कमिटीको अध्यक्ष बनेका भण्डारी २०५० मा एमालेको बैतडी जिल्ला कमिटी सदस्य बने । बैतडी जिल्ला अध्यक्ष हुँदै उनी २०७५ सालमा नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बनेका थिए ।

बद्रीप्रसाद पाण्डेले नेपाली कांग्रेसबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन् । बाजुरा १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित पाण्डे पहिलो पटक मन्त्री बनेका हुन् ।

यसअघि २०७० मा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य भएका पाण्डे २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए । २०४९ सालमा वाल्मिकी क्याम्पस नेविसंघ इकाइ सचिव भएका उनी २०५० सालमा बाजुरा जिल्ला अध्यक्ष भएका थिए ।

२०५३ सालमा पाण्डे वाल्मिकी क्याम्पसको स्ववियु सभापति भएका थिए । २०५७ मा नेविसंघ सहमहामन्त्री, २०५९ मा उपाध्यक्ष र २०६२ सालमा महामन्त्री भएका उनी अहिले कांग्रेस सहमहामन्त्री छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर