पदभार ग्रहण गर्दै उद्योगमन्त्री भण्डारीले भने- काम नगर्ने छुट छैन (भिडिओ)
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पदभार ग्रहण गर्दै काम नगर्ने छुट नभएको बताएका छन् । सोमबार मन्त्री भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पदभार ग्रहण गर्दै आफूलाई काम नगर्ने छुट नभएको बताएका हुन् ।
मन्त्री भण्डारी तेस्रो पटक उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भएका हुन् । यसअघि गत फागुनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दोहोरिएका भण्डारी पुन: सोही मन्त्रालयमा तेस्रोपटक मन्त्री भएका हुन् ।
मन्त्री भण्डारीले भने, ‘अब काम नगर्ने छुट छैन् । काम गर्नैपर्ने बाध्यता छ । मलाई फेरि उद्योग मन्त्रालयको जिम्मेवारी दिनुको कारण छ । मैले यस मन्त्रालयको महत्त्व र जिम्मेवारी बुझेको छु । त्यसैले मेरो पार्टीले मलाई पुन यस मन्त्रालयको जिम्मेवारी सुम्पिएको हो । यस मन्त्रालयकोटीमसँग विगतमा काम गर्ने निकै सहज भएको थियो । र अब पनि यस टीमले मलाई बुझेको छ ।’
उनले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गर्दै साथै निकासी तथा पैठारी नियन्त्रणसम्बन्धी कानूनमा संशोधन र परिमार्जन गर्न बनेको विधेयकमा अर्थ र कानून मन्त्रालयको सहमतिको लागि पठाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।