आरजु रोजेको मन्त्रालयसहित पहिलोपटक सरकारमा, ओलीलाई राजनीतिक अनुकूलता – Nepal Press

आरजु रोजेको मन्त्रालयसहित पहिलोपटक सरकारमा, ओलीलाई राजनीतिक अनुकूलता

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा पहिलोपटक मन्त्री बनेकी छन् । केपी ओलीको सरकारमा उनले परराष्ट्रमन्त्री पदको शपथ खाइन् । रोजेको मन्त्रालय पाएकी आरजु मन्त्रीपरिषदको सातौं वरियतामा रहने छिन् ।

६२ वर्षीया आरजु नेपाली कांग्रेसकी समानुपातिक सांसद हुन् । कांग्रेस र एमालेको गठबन्धन निर्माणमा उनको महत्वपूर्ण भूमिका र चलखेल रहेको मानिन्छ । एमाले अध्यक्ष ओलीसँग ‘निर्णायक’ वार्ता गर्न उनी श्रीमान देउवासँगै बालकोट पुगेकी थिइन् । देउवाका श्रीमान-श्रीमती गत १५ असारको राति ओली निवास छिरेर लामो वार्तालाप गरेपछि नै राजनीतिमा नयाँ ट्वीस्ट आएको थियो ।

यसअघि प्रचण्ड सरकारको पालामा आरजुको नाम भुटानी शरणार्थी प्रकरणदेखि टीकापुर जग्गा काण्डसम्ममा मुछिएको थियो । उनलाई पक्राउ गर्ने तयारी रहेकोसम्मको हल्ला चलेको थियो । यद्यपी आरजूका संलग्नता कहिँ कहिल्यै देखिएका भने पाइदैनन् । तर, राजनीतिक समीकरण फेरिएपछि उनी आफैं शक्तिमा उदाएकी छन् । उनको फाइल खोल्न तम्सिएका रवि लामिछाने सत्ताबाट धकेलिएका छन् र आफ्नै फाइल खुल्ने त्रासमा पिल्सिएका छन् ।

अहिलेसम्म कुनै शक्तिशाली पदमा नपुगेको भए पनि आरजु विगतदेखि नै नेपालकी एक शक्तिशाली महिलाको रूपमा चिनिँदै आएकी छन् । उनको शक्तिको स्रोत भने श्रीमान शेरबहादुर नै हुन् । देउवा बारम्बार प्रधानमन्त्री बन्दा उनले राज्यसत्तामा राम्रै हालिमुहाली गरिन् । मन्त्रालयहरूको सरुवाबढुवादेखि ठेक्कापट्टासम्ममा उनको हस्तक्षेप हुन्थ्यो । कथित ‘फर्स्ट लेडी’ का रूपमा उनले राज्यसंयन्त्रहरूमा सबैतिर आफ्नो प्रभाव विस्तार गर्न सफल भएकी छन् ।

आरजुको राजनीतिक लिगेसी पनि पति देउवासँगै जोडिन्छ । उनी आफ्नो बलबुतामा राजनीतिमा स्थापित भएकी होइनन् । २०५० सालमा तत्कालीन गृहमन्त्रीसँग बिहे गर्नुअघिसम्म उनी राजनीतिबाट टाढै थिइन् । यद्यपि, आरजुकी आमा प्रतिभा राणा राप्रपाकी नेतृ हुन् । विवाहपश्चात पनि लामो समय आरजुले प्रत्यक्ष राजनीतिमा चाख राखिनन् । एनजीओ-आईएनजीओमा नै व्यस्त भइन् । देउवाले २०५९ सालमा कांग्रेस फुटाएर प्रजातान्त्रिक कांग्रेस गठन गरेपछि भने आरजु पनि राजनीतिमा हेलिएकी हुन् ।

श्रीमानको आडमा आरजुले राजनीतिमा छलाङ मार्दै आएकी छन् । २०६४ साल र २०७० सालमा समानुपातिक सूचीमा परेर संविधानसभा सदस्य बन्न सफल भएकी उनले २०७४ सालमा प्रत्यक्ष चुनाव लड्ने रहर गरिन् । देउवाले त्यो पनि पुर्‍याइदिए । तर, हार खाइन् । करिब ५ हजार भोटले चुनाव हारेपछि उनको राजनीतिक यात्रामा अलिकति ठहराव उत्पन्न भएको थियो ।

गत संसदीय चुनावमा फेरि समानुपातिकमा फर्किइन् आरजु । पार्टी केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भइन् । विगतमा पनि देउवाले आरजुलाई परराष्ट्रमन्त्री बनाउने प्रयास गरेका थिए । तर, सफल हुन सकेका थिएनन् । अहिले चाहीँ सबै अनुकूलता मिल्यो । विरोध गर्ने कोही भएनन् ।

आरजुलाई आफ्नो राजनीतिक उत्तराधिकारीसमेत बनाउन चाहन्छन् कांग्रेस सभापति देउवा । त्यही रोडम्याप अनुसार आरजुलाई खुड्किलो चढाउँदै लगेका छन् । परिवारवादको आरोप खेप्नु परे पनि आरजू आफैंमा क्षमता भएकी महिला नेता हुन् ।  कांग्रेसमा परिवारवाद कुनै नयाँ अभ्यास पनि होइन । गिरिजाप्रसाद कोइराला शक्तिमा हुँदासम्म उनकी छोरी सुजाताले सत्तामा हालिमुहाली गरिरहेकै थिइन् ।

राजनीतिक कोणबाट हेर्दा आरजुको सरकारमा सहभागिता प्रधानमन्त्री ओलीका लागि अनुकूल हुन सक्ने देखिन्छ । एमाले-कांग्रेसबीच भएको सहमति तोडेर बीचमै देउवाले काँध फेर्लान् कि भन्ने भयबाट ओली धेरै हदसम्म मुक्त हुन सक्छन् । ओलीले दुई वर्षपछि देउवालाई पालो दिनुपर्ने सहमति छ । देउवाले आफैं नेतृत्व गर्ने सरकारमा पत्नीलाई मन्त्री बनाउन शोभनीय हुँदैन । त्यसैले आरजुलाई दुई वर्ष ढुक्क मन्त्री पदमा आसिन गराउनका लागि पनि ओली सरकार ढाल्ने कसरत उनले सायद गर्ने छैनन् ।

पहिलोपटकमै परराष्ट्रजस्तो संवेदनशील मन्त्रालय आरजुको हातमा पुगेको छ । शक्ति केन्द्रहरूलाई सन्तुलनमा राखेर नेपालको राष्ट्रिय हित रक्षा गर्नु यो मन्त्रालयको मुख्य चुनौती हो । मनोविज्ञानमा विद्यावारिधि गरेकी आरजुले शक्ति केन्द्रहरुको मनोविज्ञान बुझेर नेपालको कुटनीति बलियो बनाउन सक्लिन् त ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर