प्राध्यापन छोडेर राजनीतिमा आएकी विद्यालाई शिक्षा मन्त्रालयको बागडोर – Nepal Press

प्राध्यापन छोडेर राजनीतिमा आएकी विद्यालाई शिक्षा मन्त्रालयको बागडोर

पोखरा । नेकपा एमालेकी नेतृ विद्या भट्टराईले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद भट्टराईले सोमबार पद तथा गोपनीयताको सपथ लिएकी छन् ।

दोस्रो पटक प्रतिनिधिसभा सदस्यको कार्यकाल बिताइरहेकी विद्या पहिलो पटक मन्त्री बनेकी छन् । २०७६ सालमा उपनिर्वाचनमार्फत संघीय संसद छिरेकी उनी २०७९ मा उपसभामुखको उम्मेदवार बनेकी थिइन् । तत्कालीन समयमा कांग्रेस-माओवादी गठबन्धनको उम्मेदवारसँग भट्टराई पराजित हुन पुगिन् ।

बेलाबेलामा मन्त्री बन्ने चर्चा चले पनि उनले अवसर पाएकी थिइनन् । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दह्रो उपस्थिति देखाइरहेकी विद्याले पहिलो पटक शिक्षा मन्त्रालयको बागडोर सम्हाल्ने मौका पाएकी छन् ।

विद्यार्थी कालदेखि राजनीति

एमाले नेता राज भट्टराईकी बहिनी विद्या विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय थिइन् । राष्ट्रिय पञ्चायत सदस्य एवं सिन्धुपाल्चोकको सिन्धु गाउँका प्रधानपञ्च हेमराज र भगवती भट्टराईकी छोरी विद्या कक्षा ७ मा अध्ययन गर्ने बेलादेखि विद्यार्थी राजनीतिमा होमिएकी थिइन् ।

एसएलसी पास गरेर विद्या २०४६ सालमा पद्मकन्या क्याम्पसमा भर्ना भइन् । त्यहाँबाट उनको राजनीतिक यात्रा सुरु भयो । १६ वर्षकै उमेरमा उनी २०४६ सालमा पञ्चायती व्यवस्थाविरोधी आन्दोलनमा सहभागी भइन् ।

पोखरामा २०४८ सालमा भएको अनेरास्ववियुको सम्मेलनबाट उनी राष्ट्रिय परिषद् सदस्य निर्वाचित भइन् । २०४९ सालमा आफूले पढिरहेको पद्मकन्या क्याम्पसको स्ववियु सभापतिको उम्मेदवार बनिन् । तर, सफल भने हुन सकिनन् ।

हेटौंडामा २०५१ सालमा भएको अनेरास्ववियुको १२औं सम्मेलनबाट योगेश भट्टराई अध्यक्ष र रवीन्द्र अधिकारी कोषाध्यक्ष चयन भए । त्यसै बेला विद्याले महिला विभाग प्रमुखको जिम्मेवारी पाइन् । २०५५ सालमा भएको अनेरास्ववियुको राष्ट्रिय सम्मेलनबाट विद्या केन्द्रीय सचिव चयन भइन् । त्यस बेला रवीन्द्र अधिकारी अनेरास्ववियुको महासचिव थिए ।

विद्याले २०५९ सालमा पोखरामा बसेर समाजशास्त्र विषयमा स्नातकोत्तर गरिन् । सोही वर्षदेखि पृथ्वीनारायण क्याम्पसमा विद्याले पढाउन थालिन् । २०६२ सालमा पुनः काठमाडौं फर्किइन् । त्यसपछि काठमाडौंका विभिन्न क्याम्पसमा उनले पढाउन सुरु गरिन् ।

त्यसपछि विद्या अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य, बुद्धिजीवी परिषद् सदस्य हुँदै प्राध्यापक क्षेत्रमा प्रवेश गरिन् । २०६२÷६३ को जनआन्दोलनपछि एमालेको सङ्घीय मामिला विभागको सदस्य भएर काम गर्ने अवसर विद्याले पाइन् । उनले राजनीतिक र प्राज्ञिक यात्रा सँगसँगै लगिन्, तर पति रवीन्द्र अधिकारीले राजनीति गर्ने सल्लाहसँगै विद्या सक्रिय राजनीतिबाट शिक्षण पेशातिर लागिन् । त्रिभुवन विश्वविद्यालयको खुला सेवा आयोग परीक्षा पास गरी २०७२ सालदेखि रत्नराज्य क्याम्पसमा स्थायी रूपमा उपप्राध्यापकको जागिर सुरु गरेकी थिइन् ।

पतिको निधनपछि राजनीतिमा फर्किएकी विद्या

२०७५ सालसम्म शिक्षण पेसामै थिइन् । २०७२ मा समाजशास्त्रमा एमफिल गरेकी उनले २०७४ मा त्रिभुवन विश्वविद्यालय सेवा आयोगबाट खुला प्रतिस्पर्धामा उपप्राध्यापक पदमा नाम निकालिन् । रत्नराज्य क्याम्पसमा त्रिविमा पनि अध्यापन गर्थिन्, तर जब २०७५ सालमा पति रवीन्द्र अधिकारीको निधन हुन पुग्यो, त्यसपछि भने उनले शिक्षण पेसा छोडेर राजनीतिमा पाइला चालिन् । तत्कालीन पर्यटनमन्त्री अधिकारीको निधन २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा भएको थियो ।

रवीन्द्र अधिकारीकाे निधनपछि उक्त ठाउँमा २०७६ मा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाले विद्यालाई अघि सार्‍यो । उम्मेदवार बन्ने पक्का भएपछि सो समयमा विद्याले उपप्राध्यापकको जागिरबाट राजीनामा दिइन् । उनले त्यो समयमा कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४०३ मतान्तरले हराउँदै संसद छिर्न सफल भइन् ।

पहिलो कार्यकालपछि उनी २०७९ सालमा पुनः सोही क्षेत्रमा एमालेबाट उम्मेदवार बनिन् । दोस्रो पटक पनि उनी सफल भइन् । रास्वपाका उम्मेदवार माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतले पराजित गर्दै विद्या दोस्रो पटक संसद छिरेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर