भूमिमन्त्री अधिकारीको पहिलो निर्णय- महारानी झोडाको जग्गा विवाद समाधान
रुपन्देही । नवनियुक्त भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले झापा जिल्ला गौरादह नगरपालिका वडा नं ४ र ५ मा जग्गा दर्तामा देखिएको समस्या समाधानका लागि गठन आदेश गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
सोमबार मन्त्रालयमा पदबहाली गर्दै मन्त्री अधिकारीले भूमि क्षेत्रमा लामो समयदेखि रहेका समस्याको दीर्घकालीन समाधानका लागि ठोस योजनाका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
करिब ८ हजार स्थानीयवासी भूमि अधिकारसँग जोडिएको महारानी झोडाको जग्गा विवाद समाधानका लागि पटकपटक प्रयास भए पनि उक्त समस्या समाधान हुन सकेको थिएन । विभिन्न प्रशासनिक समस्याले समाधान हुन नसकेको उक्त समस्या समाधानका लागि मन्त्री अधिकारीले पहलकदमी लिने सोचका साथ पहिलो निर्णयमा हस्ताक्षर गरेको जनाएका छन् ।
पदबहालीपश्चात मन्त्री अधिकारीले मन्त्रालय मातहतका निकायहरुलाई जनताले अनुभूत गर्नेगरी सेवा प्रवाह गर्न निर्देशन दिए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा समेत भूमि व्यवस्थामन्त्री रहेका अधिकारीले दोस्रो इनिङमा भूमि आयोग गठन गरी १ वर्षमा ५ लाख भूमिहीनलाई जग्गा वितरण गर्ने, सहकारी क्षेत्रका समस्याको ठोस समाधान गरी बचतकर्ताको बचत फिर्ता गर्ने र देशबाट गरिबी निवारण गर्ने गरी पूर्ण रुपमा काम गर्न सबै सरोकारवालाबीच समन्वय र सक्रियता आवश्यक रहने बताए ।
यसकारण दोहोरिए अधिकारी !
कपिलवस्तुका अधिकारीले दोहोरिएर उही मन्त्रालय पाएका छन् । यसअघि फागुन २४ गते माओवादी नेतृत्वको सरकारमा पनि अधिकारी भूमिमन्त्री नै थिए । महासचिव शंकर पोखरेलको नजिक मानिएका अधिकारी यसअघि छोटो समय मन्त्री बनेकाले उनी दोहोरिएका हुन् ।
२०७९ सालको निर्वाचनमा उनले तत्कालीन सत्तारुढ गठबन्धन दलको ‘हेभिवेट’ उम्मेदवारका रुपमा रहेका नेकपा माओवादीका सचिव बलदेव खनाललाई फराकिलो मतान्तरले हराएका थिए ।
विसं २०३३ देखि एमालेको विद्यार्थी राजनीतिबाट आन्दोलनमा लागेका अधिकारी कपिलवस्तु निर्वाचन क्षेत्र नं १ बाट सङ्घीय संसदमा प्रतिनिधित्व गर्छन् । उनले २०५४ सालदेखि २०७९ सम्म एमाले कपिलवस्तुको मुख्य जिम्मेवारीमा रहेर काम गरेका थिए ।
अधिकारी २०७० देखि २०७७ सालसम्म अञ्चल, प्रदेश कमिटी, २०७८ सालदेखि एमाले केन्द्रीय सदस्य तथा एमाले कपिलवस्तुको इन्चार्जको जिम्मेवारी छन् । २०५६ र २०६४ मा क्रमशः क्षेत्र नं ३ र १ बाट सांसदको उम्मेदवार बनेप नि विजयी हुन नसकेका नेता अधिकारी २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
कास्कीमा जन्मेर कपिलवस्तु बसाइ सरेका उनी शिवगढी सुन्दरीडाँडामा प्रधानाध्यापक भएका थिए । शिक्षक संगठनको अध्यक्ष भएर काम गरेका उनी शिक्षण छाडेर राजनीतिमा होमिएका हुन् ।