ओलीलाई सुशील कोइरालाको त्यो ‘धोका’, देउवाको यो साथ – Nepal Press
टिप्पणी

ओलीलाई सुशील कोइरालाको त्यो ‘धोका’, देउवाको यो साथ

काठमाडौं । नेपालको सबैभन्दा पुरानो दल नेपाल प्रजापरिषद् अस्तित्वमा छैन । भएकाहरुमा सबैभन्दा पुरानो नेपाली कांग्रेस नै हो । सबैभन्दा जेठो दल कांग्रेसले सबैथोक हेर्नुपरेको छ । राष्ट्रिय अस्तित्वको दल बन्ने समानुपातिक मत नपाएको नेकपा एकीकृत समाजवादीलाई १० को सानदार उठानमा कांग्रेसको मत छ ।

उसो त माधव, झलनाथहरुलाई जति प्रतिशत आउँछ, त्यत्ति प्रतिशतै एमाले चोइट्याउने कानूनी माहोलको आर्किटेक कांग्रेस हो । एमाले र माओवादीको विशाल जनमत आएको वाम गठबन्धन युगकै जस्तो बलियो नभए पनि माओवादीलाई तेस्रो शक्तिमै कायम राख्न कांग्रेसकै चुनावी मतले काम गरेको छ ।

प्रचण्ड परिवारमा मेयर उत्पादनमा त कांग्रेसको त्याग ऐतिहासिक छ, तर कांग्रेसले यस्तो त्याग एमालेलाई गरेको थिएन । एमालेमा पनि खास ओलीलाई चैँ गरेकै थिएन । दुई स्थानमा चुनाव हारेका तत्कालीन एमाले महासचिवलाई संविधानसभामा चोर बाटोबाट लगेर प्रधानमन्त्री बनाउने गुण त कांग्रेसले लगाएकै हो । कांग्रेसले प्रधानमन्त्री बनाएका पहिलो एमाले अनुहार माधव नेपाल नै हुन् । दोस्रो अनुहार ओली हुन् ।

पहिलो जनआन्दोलन २०४६ पछि र दोस्रो जनआन्दोलन २०६२/६३ पछि बनेका संक्रमणकालीन सरकार छाड्दा एमाले र कांग्रेस मिलेर बनेको यो पाँचौं सरकार हो । २०५५ सालको गिरिजाप्रसाद कोइरालाको क्याबिनेट, २०६१ को देउवा क्याबिनेट, २०६६ को माधव नेपाल क्याबिनेट, २०७० को सुशील कोइराला क्याबिनेट हुँदै आजको ओली क्याबिनेटमा एमाले र कांग्रेसले सहकार्य गरेका छन् । माधव नेपालको समयमा दोस्रो र तेस्रो ठूला दलको रुपमा उनीहरुको सत्ता साझेदार भए पनि बाँकी वर्षहरुमा भने पहिलो र दोस्रो ठूलो दलको रुपमै सत्ता साझेदारी भएको थियो ।

सुशीलले ओलीलाई धोका दिएर ‘पज’ भएको एमाले-कांग्रेस सत्ता सहकार्य

दोस्रो संविधानसभाको चुनावले दोस्रो ठूलो दलको कांग्रेसलाई पहिलोमा उकाल्यो । दलका सभापतिको रुपमा जनमतको कदर हुनेगरी सुशील कोइराला प्रधानमन्त्री बने । २०७० माघ २८ मा कोइराला सबैभन्दा ठूलो दलको नेताको रुपमा प्रधानमन्त्री बन्दाको सरकारमा दोस्रो ठूलो दल एमाले पनि थियो । एक वर्षमा संविधान बनाउने र बनेपछि एमालेलाई प्रधानमन्त्री हस्तान्तरण गर्ने सहमति भएको थियो ।

२०७० माघ २१ मा ओली एमालेको संसदीय दलको नेता चयन भएका थिए । उनी तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाललाई हराएर संसदीय दलको नेता भएका थिए । त्यसको आधा वर्ष नपुग्दै भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्ष निर्वाचित भए । उनी २०७१ असार १७ मा अध्यक्ष निर्वाचित भएका थिए । २०७२ असोज ३ मा नयाँ संविधान जारी भयो ।

संविधान बनेपछि प्रधानमन्त्री बन्ने लाइनमा थिए ओली, तर सुशील कोइरालाले वचन पूरा गरेनन् । उनी ओलीसँग प्रधानमन्त्रीमा चुनाव लड्न हाजिर भए । ओलीले २०७२ असोज २४ मा कोइरालालाई पराजित गरेर प्रधानमन्त्री बने । नाकाबन्दी समयमा प्रधानमन्त्री भएका थिए ओली । संविधानसभाबाट व्यवस्थापिका-संसदमा रुपान्तरण भएको हलबाट ओलीले ३३८ मत ल्याउँदा कोइरालाको पक्षमा २४९ मत आएको थियो ।

बहालवाला पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई ओलीले संसदीय दलको नेतामा हराए । लामो समय एकछत्र एमालेमा राज गरेका महासचिव तथा पूर्वप्रधानमन्त्री माधव नेपाललाई हराएर ओली दलको अध्यक्ष भए । यस्तै प्रधानमन्त्री रहेकै बेला सुशील कोइरालालाई हराएर उनी पहिलो पटक प्रधानमन्त्री भएका थिए । तीन पूर्वप्रधानमन्त्रीहरुलाई तीन मोर्चामा हराएर पहिलो पटक प्रधानमन्त्री बनेका थिए ओली, तर ओली र प्रचण्ड खटपटले ओलीको प्रधानमन्त्रीत्व काल एक वर्ष पनि टिकेन । कांग्रेस र माओवादी सरकार बन्यो ।

सुशील कोइरालाले प्रधानमन्त्री बन्ने वचन दिएर तोडेपछि एमाले र कांग्रेसको संयुक्त सरकार बन्न छोडे । एमाले र माओवादीका भने किस्ताकिस्तामा बन्न थाले, किस्तैकिस्तामा भत्कन पनि थाले । एमालेसँग सरेक हुँदा एमालेतिर मिल्ने, कांग्रेससँग सरेक हुँदा कांग्रेससँग मिलेर प्रचण्ड प्रधानमन्त्री भइरहे । देशका दुई प्रमुख दल एक कित्तामा हुन नसकेको फाइदा लिन प्रचण्ड खप्पिस देखिए ।

अर्को शब्द भन्दा जसरी माधव नेपाल नेतृत्वको एमाले पहिलो संविधानसभापछिका सबै सरकारमा सहभागी भयो, ठीक त्यसैगरी दोस्रो संविधानसभापछिको माओवादी सबै सरकारमा सहभागी भयो । तेस्रो दल हुनुको ‘म्याजिकल नम्बर’ माओवादीले प्रयोग गरिरह्यो । यसले माओवादीको चुनावी मत प्रतिशत पहिलो संविधानसभाको ३१ प्रतिशतदेखि पछिल्लो चुनावको ११ प्रतिशतसम्म आइपुग्दा पनि माओवादी सत्ताच्युत भने भएन ।

यद्यपि हालसालै ओलीलाई प्रधानमन्त्री बनाउने गरी एमाले र कांग्रेस एक ठाउँमा उभिएपछि भने माओवादी लामो समयपछि सत्ताबाट विमुख भएको छ । माओवादीसँगै राप्रपा, रास्वपा र अरु ससाना दलहरुको सिंहदरबार सत्ता बार्गेनिङ शक्ति भने स्वात्तै घटेको छ ।

अबको सत्ता सवालमात्रै दुईखाले छन् । एक- के यो सत्ता गठबन्धन अर्को चुनावसम्मै जान्छ ? दुई- कांग्रेसको तर्फबाट आफूले सुशील कोइरालाबाट पाएको धोका जस्तै धोका ओलीले कांग्रेसलाई, देउवालाई दिन्छन् कि दिँदैनन् ?

खैर, कांग्रेस-एमाले सत्ता समीकरणले देश कत्ति बन्छ ? हेर्नै बाँकी छ । तत्काल हेर्न सकिने भनेको कांग्रेस एमालेको सत्ता हनिमुन हो, माओवादीको सत्ता होलिडे हो ।


प्रतिक्रिया

One thought on “ओलीलाई सुशील कोइरालाको त्यो ‘धोका’, देउवाको यो साथ

  1. खैर, कांग्रेस-एमाले सत्ता समीकरणले देश कत्ति बन्छ ? हेर्नै बाँकी छ । तत्काल हेर्न सकिने भनेको कांग्रेस एमालेको सत्ता हनिमुन हो, माओवादीको सत्ता होलिडे हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *