नयाँ इतिहास रच्न ओलीसामु चार आयाम – Nepal Press

नयाँ इतिहास रच्न ओलीसामु चार आयाम

मार्क्सवाद र कम्युनिष्ट विचारधाराको बारेमा पुँजीवादी र दक्षिणपन्थी निकै आलोचनात्मक भए पनि विगत ४० वर्षमा चीनले गरेको समृद्धि निर्माणको बारेमा उनीहरु नतमस्तक हुन्छन् । यो चमत्कारिक सामाजिक आर्थिक रुपान्तरणको लागि देङ सियाओपिङको गतिशीलताको मुक्तकण्ठले प्रशंसा गर्दछन् । देङले सत्ता सम्हाँल्दाको चीन र आजको नेपालका सामाजिक आर्थिक परिसूचकको तुलना गर्ने हो भने करिब उस्तै देखिन्छ । आज भएको सूचना तथा प्रविधिको विकास र खुला विश्वको भाइचारा, भूमण्डलीय सहयोग र समन्वयको कारण सामाजिक आर्थिक विकासका लागि पर्याप्त अवसर सिर्जना भएका छन् ।

आजको नेपाल पुँजी, प्रविधि, जनसंख्या, बजार, भौतिक पूर्वाधार सबै हिसाबले उन्नत अवस्थामा छ । चिनियाँ नेता देङ र कमरेड ओलीको राजनीतिक दर्शन र आस्था उस्तै हो भने पार्टीमा पद र शक्तिको हैसियत पनि उस्तै हो । पार्टी उपाध्यक्षका रुपमा सम्पूर्ण शक्ति आफ्नो हातमा लिनुपूर्व देङले जुन सास्ती र हण्डर व्यहोर्नुपरेको थियो, कमरेड ओलीले त्योभन्दा धेरै व्यहोरेर आउनुभएको छ । देङ सत्तामा आउँदा विशुद्ध भावनाका साथ आउनुभएको थियो भने यसपालि कमरेड ओली भावना, अनुभव र चाहनाका साथ आउनुभएको छ । म आशा गर्दछु, विगतका कमरेड ओलीका सुखद अनुभवले यस पटक नेपालको आर्थिक विकासमा नयाँ पदमार्ग कोरिनेछ, जसले गर्दा विकसित नेपालको नयाँ इतिहासमा कमरेडलाई आधुनिक विकसित नेपालका पिता भनेर स्मरण गरिने गरी आधार निर्माण हुनेछन् ।

स्मरण रहोस्, चीनमा त्यति वेला सीमित स्रोत र साधन थियो भने अहिले नेपालसँग सकारात्मक रुपान्तरणको लागि पर्याप्त स्रोत र साधनको उपलब्धता छ । यहाँ स्रोत र साधनको कमी होइन, व्यवस्थापन र उपयोगको अज्ञानता र असक्षमताले देशलाई पछाडि धकेलेको हो । नेपाललाई विकास गर्न स्रोत र साधनको अभाव छैन, खाली सोच र प्रतिबद्धताको मात्रै अभाव हो । निहत्था भएर पनि २५० वर्षको राजतन्त्रको अन्त्य गर्न र वैरी र शत्रुले नचाहँदानचाहँदै पनि नयाँ संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नु र टुटफुटका बाबजुद पनि पार्टीलाई नेतृत्वदायी रुपमा स्थापित गर्न सक्ने कमरेड ओलीको शौर्य र सामर्थ्यमाथि किञ्चित प्रश्न छैन । तपाईंको विगतको इतिहास, त्याग एवम् दृष्टिकोण र सपनाप्रति गौरव नै छ, तर सत्तामा पुगेपछि प्राथमिकता बदलिने नेपाली राजनीतिको परम्परागत शैलीसँग तपाईं जुध्न चाहनुहुन्छ कि चाहनुहुन्न भन्ने कुराले निकै चिन्तित बनाउने गर्छ ।

अहिले नेपालसँग सकारात्मक रुपान्तरणको लागि पर्याप्त स्रोत र साधनको उपलब्धता छ । यहाँ स्रोत र साधनको कमी होइन, व्यवस्थापन र उपयोगको अज्ञानता र असक्षमताले देशलाई पछाडि धकेलेको हो । नेपाललाई विकास गर्न स्रोत र साधनको अभाव छैन, खाली सोच र प्रतिबद्धताको मात्रै अभाव हो ।

यदि सीमित दलगत स्वार्थ र केही राजनीतिक आफन्त (जो तिकडमका लागि सक्षम तर, विकास र सुशासनका लागि वहियात)लाई तपाईंको प्रधानमन्त्रीत्व कालसम्म राजकाजबाट टाढा राखेर ऐतिहासिक जिम्मेवारी वहन गर्नसक्ने दक्ष र उच्चस्तरको नैतिकता र व्यवसायिकता प्रदर्शन गर्न सक्ने, संयोजन र समन्वयकारी भूमिका खेल्न सक्ने, समाज र तपाईंको नेतृत्वप्रति उच्चस्तरको जवाफदेहिता बहन गर्नसक्ने उत्कृष्ट व्यक्तिलाई छनोट गरेर त्यस्ता व्यक्तिको बीचमा आफूलाई राखेर उत्कृष्ट नतिजाको लागि अधिकार प्रत्यायोजन गर्दै आफना निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गर्न सक्नु भयो भने नयाँ इतिहास रच्नबाट तपाईंलाई कसैले पनि रोक्न सक्दैन । यसको ठीक उल्टो तपाईंको शौर्य र प्रतिष्ठाको आडमा विपक्षीलाई हेप्ने र चिड्याउने, असक्षम र अयोग्य व्यक्तिको बीचमा बस्न रुचाउनु भयो भने एक प्रशासनिक प्रधानमन्त्रीभन्दा बढी केही पनि गर्न सक्नुहुन्न भने मिसन ८४ पनि उडायो सपना सबै हुरीले हुने कुरामा कुनै शंका रहँदैन । म आशा गर्छु र तपाईंलाई शुभकामना पनि व्यक्त गर्न चाहन्छु कि यो दुर्लभ अवसरलाई यो देश र जनताको मुक्तिका लागि कुनै कसर बाँकी नराखी उपयोग गर्नुहुनेछ ।

अन्य विकसित देशको विकासको इतिहास हेर्दा हाम्रो देशको आमूल रुपान्तरणका लागि सरकारले चार आयाममा स्पष्ट, पारदर्शी र जवाफदेही हुनैपर्छ । पहिलो- नीति, ऐन तथा कानून, दोस्रो- संस्थागत संरचना, तेस्रो- संस्थागत क्षमता र चौथो- नागरिक एवम् सबै तहको नेतृत्वको क्षमता । जब सरकारले यी चार पक्षलाई सुखी नेपाली समृद्ध नेपालको संरचनाअनुसार विकास गछ, तब देश जादुमयी तरिकाले विकासको मार्गमा दौडिन्छ । यसको विपरीत लहड र हचुवा शैलीमा गर्ने बजेट विनियोजन, नीति तथा कार्यक्रमले यथास्थितिभन्दा माथि उठ्न दिँदैन । दुर्भाग्य नै भन्नुपर्छ, योभन्दा अगाडिका कुनै पनि सरकारले यी चार आयामको समीक्षा गरेर सो मुताविकका नीति कार्यक्रम र बजेट ल्याएका छैनन् । यसलाई देशको दुर्भाग्य नै भन्नुपर्छ । नेपाली कांग्रेसले २०४७ सालमा अंगालेको नवउदारवादी मार्गमै त्यसपछिका सबै सरकार निरन्तर हिँडिरहेका छन् । सैद्धान्तिक रुपमा नेपाली कांग्रेस र नेकपा एमाले दुवै समाजवादप्रति निष्ठा भएका पार्टी हुन्, तर किन यी पार्टीको नेतृत्वमा सरकार बन्दा समाजवादी कार्यक्रम ल्याइँदैन ?

उच्च वर्ग र नयाँ मध्यम वर्गलाई त नवउदारवादी बाटोमा हिँडे पनि केही फरक नपर्ला, तर विदेश पलायन भएका लाखौं युवा र हालसालै जीवनयापन सर्वेक्षणले देखाएका गरिबीको रेखामुनि रहेका ६० लाख नागरिकलाई गरिबीको मारबाट मुक्त गराउन सकिएला ? कदापि सकिँदैन । जसरी कागती रोपेर आँपको आश गर्न सकिँदैन, त्यसरी नै नवउदारवादी बाटो हिँडेर सुखी नेपाली समृद्ध नेपालको यात्रा तय हुँदैन । अहिले देशले एउटा प्याराडाइम सिफ्ट खोजेको र त्यो सिफ्ट गर्नसक्ने व्यक्ति तपाईं हो । यदि तपाईंले चाहनुभयो भने देश नयाँ युगमा प्रवेश गर्नसक्छ भन्ने कुरामा कुनै शंका छैन, खालि प्रश्न तपाईंले चाहनुहुन्छ कि हुन्न भन्ने हो । निश्चित रुपमा तपाईंले प्याराड्याइ सिफ्ट रोज्नुभयो भने मुलुकमा १० रेक्टरको भूइचालो जान्छ । नजानिँदो तरिकाले लोकतन्त्रको आवरणमा सार्वजनिक र राष्ट्रिय सम्पत्तिमा हालीमुहाली गरेको अभिजात्य वर्ग, सत्ता र शासनको सामिप्यबाट अवान्छित लाभ उठाइरहेका दलाल विचौलियाको उठिबास हुनेछ । शताब्दियौंदेखि हेपिएका, चेपिएका, गरिब, भोकाको मुहारमा चमक आउनेछ र सुखी नेपाली समृद्ध नेपालको आधार निर्माण हुनेछ । तपाईंको एक चालले मिसन ८४ अत्यधिक सफल हुनेछ र गठबन्धनमा रहेर गर्न नसकेका सबै काम ८४ पछिको एकल दुईतिहाइको सरकारले सहज तरिकाले गर्न सक्नेछ ।

नेपाली कांग्रेसले २०४७ सालमा अंगालेको नवउदारवादी मार्गमै त्यसपछिका सबै सरकार निरन्तर हिँडिरहेका छन् । सैद्धान्तिक रुपमा नेपाली कांग्रेस र नेकपा एमाले दुवै समाजवादप्रति निष्ठा भएका पार्टी हुन्, तर किन यी पार्टीको नेतृत्वमा सरकार बन्दा समाजवादी कार्यक्रम ल्याइँदैन ?

पछौटेपन र भ्रष्टाचारलाई तिलाञ्जली दिएर अग्रगामी दिगो र द्रुत विकासको लागि नयाँ संविधान जारी गरिए पनि आज १० वर्ष बितिसक्दा पनि यो संविधानले परिकल्पना गरेअनुसारका नीति, ऐन-कानून र कार्यक्रम तर्जुमा हुन सकेका छैनन् । त्यसकारण सर्वप्रथम यस संविधानले र तपाईंको पार्टीले परिकल्पना गरेको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न हाल विभिन्न क्षेत्रलाई निर्देशित गर्ने ८२ वटा नीतिलाई नयाँ तरिकाले परिमार्जन गरी सोहीअनुरुपमा ऐन-कानून तथा कार्यक्रम निर्माण गर्न ध्यान दिनुपर्छ । केही शब्द लेखिएको भए पनि विगतको १५औं योजना र अहिले १६औं योजना न समाजवादउन्मुख छ न त सुखी नेपाली समृद्ध नेपालको आधार नै निर्माण गर्न सहजीकरण गर्ने छ, यो केवल एक कर्मकाण्डी दस्तावेज हो र विगतकै पञ्चायतीकाल र एकात्मक व्यवस्थामा बनाइएका केन्द्रीकृत योजनाको निरन्तरता हो ।

अहिले पनि दर्जनौं ऐन-कानून ‘सबै नेपाली पञ्च र सबै पञ्च नेपाली’ भन्ने पञ्चायती र बलियो केन्द्रको र सामन्ती व्यवस्थाको वकालत गर्ने २०४७ सालकै संविधानअन्तर्गत छन् । ती ऐनको संशोधन गरेर होइन, नयाँ ऐन निर्माण गरेरमात्रै सुखी नेपाली समृद्ध नेपालको आधारशीला निर्माण हुन्छ । प्रतिगामी ऐनलाई खारेज गरी द्रुत गतिमा नयाँ ऐन निर्माण गर्नुपर्छ र यदि आवश्यक पर्छ भने पुराना ऐनको बदलमा अध्ययादेशबाट भए पनि नयाँ ऐन तर्जुमा गरेर नागरिकलाई परिवर्तनको आभास दिलाउनुपर्छ र दण्डहीनताको अन्त्य भएको र सामाजिक न्यायसहितको व्यवस्था स्थापना भएको अनुभूति दिलाउनुपर्छ । तपाईंलाई थाहै छ, खोक्रा भाषण र गर्जनले मात्रै न परिवर्तनको अनुभूति गराउँछ न त यो व्यवस्थालाई नै बचाउन सक्छ ।

नयाँ संविधानले परिकल्पना गरेको सस्थागत संरचनाअनुसार तीन तहको सरकार र सोहीमुताविक स्थायी सरकारको रुपमा सक्षम र योग्य कर्मचारीतन्त्रको परिकल्पना गरेको छ । वर्तमान संविधानमा तीन तहका सरकारका अधिकार क्षेत्रमा द्वैधता रहेको यो १० वर्षमा स्पष्ट देखिएको छ भने आजसम्म पनि कर्मचारी ऐन नबन्दा स्थानीय तहमा कर्मचारीको अभावमा कार्य सम्पादन हुन सकेको छैन भने संघ र प्रदेशमा कर्मचारीले जिम्मेवारी पाएका छैनन । त्यसकारण तीनै तहको सरकाको अधिकारको क्षेत्र स्पष्ट पारी केन्द्रलाई नीति निर्माण, प्रदेशलाई अनुगमन तथा मूल्याङ्कन र स्थानीय तहलाई विकास निर्माणको जिम्मेवारीसहित अधिकारको सुनिश्चित गरेर कर्मचारी ऐन जारी गरी त्यसैमुताविक योग्य, सक्षम र दक्ष कर्मचारीको व्यवस्था गर्नुपर्छ । देश निर्माण गर्ने कुरामा बोल्ड भएर निर्णय गर्नुपर्छ । स्मरण होस्, पञ्चायतकालीन र समान्तवादी व्यवस्थाकालीन संस्थागत संरचना लिएर संघीय नेपाल र सुखी नेपाली समृद्ध नेपालको आकांक्षा पूरा हुँदैन भने हाल भएको प्रशासनिक बजेटलाई नघटाई विकास गर्न सकिँदैन ।

प्रतिगामी ऐनलाई खारेज गरी द्रुत गतिमा नयाँ ऐन निर्माण गर्नुपर्छ र यदि आवश्यक पर्छ भने पुराना ऐनको बदलमा अध्ययादेशबाट भए पनि नयाँ ऐन तर्जुमा गरेर नागरिकलाई परिवर्तनको आभास दिलाउनुपर्छ र दण्डहीनताको अन्त्य भएको र सामाजिक न्यायसहितको व्यवस्था स्थापना भएको अनुभूति दिलाउनुपर्छ ।

ध्यान दिनुपर्ने करा के हो भने कुनै पनि प्रकारका विकास भूगोलमा गर्ने हो । त्यसकारण स्थानीय सरकारलाई मजबुत बनाएर बजेट विनियोजन गर्दा हालको विकास बजेटमा ५० प्रतिशत रकम थप हुनसक्छ भने कामै नगरी तलब सुविधा लिने हालका प्रभावहीन संस्थालाई प्रशासन सुधार आयोगले (जिल्ला विकास समिति, नगर विकास समितिलगायतका दर्जनौं संस्था र मन्त्रालय) सिफारिस गरेबमोजिम विघटन गर्न सक्नुपर्छ । सरकार बन्ने बेलामा र निर्वाचनमा जति नै प्रतिबद्धता व्यक्त गरे पनि यो संरचना रहुञ्जेलसम्म न विकास बजेट सदुपयोग हुन्छ, न भ्रष्टचार घट्छ न त असारे विकास रोकिन्छ । त्यसकारण यस्तो देशकै क्यान्सरको रुपमा रहेको अवस्था रोक्न संस्थागत संरचनामै व्यापक धावा बोल्न जरुरी छ । जुन एक सक्षम र दूरदर्शी प्रधानमन्त्रीसँग मात्रै आश गर्न सकिन्छ । क्रान्तिकारी लफ्फाजी हाँक्ने, तर मौका पाउँदा भाइ, भतिजा र धुपौरेलाई राजदूत र जीएम सिफारिस गर्नेसँग यी कुनै पनि कुरा आश गर्न सकिँदैन ।

नेपालको यही प्रकारको संस्थागत क्षमताले नयाँ नेपालको निर्माण गर्छु भन्नु गोरु पालेर डेरी सञ्चालन गर्छु भन्नु जस्तै हो । वास्तवमा हाल देशलाई चाहिनेभन्दा बढी संस्थागत संरचना र आवश्यकभन्दा बढी जनशक्ति सरकारले पालिरहेको छ, तर पनि न कहिल्यै गुणस्तरीय काम हुन्छ न त विकास बजेट नै सदुपयोग हुने गरेको छ । स्थायी सरकारको रुपमा रहेको कर्मचारी प्रशासन कति जनप्रिय, उत्तरदायी र जवाफदेही छ भन्ने कुरा स्वयम् महालेखा परीक्षकको, एम्नेष्टी इन्टरनेशनलका प्रतिवेदन र देशका सुशासनका सूचकले नै बताएका छन् । सरकारलाई सफल बनाउन भनेर हचुवाको भरमा गरिने विनामापदण्डका राजनीतिक नियुक्तिले राजनीतिक पद्धतिको नै बदनाम गरेका छन् । कर्मचारी तथा स्वयम् राजनीतिकर्मीको सही मूल्याङ्कनको अभावमा मेहनत गरेर काम गर्ने तथा फटाहा र कामचोरबीच फरक हुन नै छोडेको छ । असक्षम नेता तथा कर्मचारी भनेको भावी पुस्ता र देशको भाग्यका ग्रहण हुन् । यस्तो प्रतिस्पर्धी समयमा असक्षम व्यक्तिले निरन्तर अवसर पाउनु नै सबैभन्दा ठूलो दुर्भाग्य हो र विगत लामो समयदेखि यसैको शिकार हुँदै आएको छ यो देश र समाज ।

सार्वजानिक पदधारण गर्ने (सरकारको वा राजनीतिक पार्टी, सामाजिक संघसंस्था) सबैको भूमिकाको आवधिक मूल्याङ्कन गरी सक्षम र असक्षमको सूची सार्वजनिक गर्ने र असक्षमलाई नेतृत्वको अवसरवाट वञ्चित हुनुपर्ने व्यवस्था अनिवार्य रुपमा गर्नुपर्छ । विगतमा यसबारेमा केही-कसैले पनि सोचेको देखिँदैन । त्यसकारण यो पक्षलाई यहाँले महत्वका साथ कार्यान्वयन गर्नुपर्नेछ । सार्वजनिक सरोकारका विषयमा काम गर्ने सबै संस्थाको लेखाजोखा अनिवार्य रुपमा गर्नुपर्नेछ । नेपाली संंघसंस्था सार्वजनिक नीति वा सामाजिक सबैको क्षमता अत्यन्त न्यून भएको कारण नेपालमा दिइने सेवाको गुणस्तर न्यूनस्तरको छ, जसले गर्दा नागरिकमा निराशा र विदेशी पर्यटकमा अविश्वास पैदा भएको छ, जसको प्रत्यक्ष प्रभाव देशको अर्थतन्त्र, सुरक्षा प्रणाली र प्रतिष्ठामा परेको छ ।

देशकै क्यान्सरको रुपमा रहेको अवस्था रोक्न संस्थागत संरचनामै व्यापक धावा बोल्न जरुरी छ । जुन एक सक्षम र दूरदर्शी प्रधानमन्त्रीसँग मात्रै आश गर्न सकिन्छ । क्रान्तिकारी लफ्फाजी हाँक्ने, तर मौका पाउँदा भाइ, भतिजा र धुपौरेलाई राजदूत र जीएम सिफारिस गर्नेसँग यी कुनै पनि कुरा आश गर्न सकिँदैन ।

नेपाल जस्तो भर्खर साक्षरता र अध्ययनको संस्कृति विकास हुँदै गरेको देशमा नागरिक तथा सबै तहका नेतासँग कसरी आफनो जिम्मेवारी प्रभावकारी रुपमा बहन गर्ने र देश र जनताप्रति उत्तरदायि हुने भन्ने ज्ञान र सीपको अभाव रहेको छ । यस्तो अवस्थामा प्रत्येक नागरिक र सबै तहका नेतालाई सुखी नेपाली समृद्ध नेपाल कसरी बनाउन सकिन्छ ? प्रत्येक व्यक्तिको जिम्मेवारी र जवाफदेहिता के हो ? अहिलेको सामाजिक तथा आर्थिक संरचना बदल्न प्रत्येक वडादेखि राष्ट्रपतिसम्मका नेताले के कस्तो काम, कर्तव्य र जिम्मेवारी बहन गर्नुपर्छ ? कस्तो प्रकारको नैतिकता र आचरण हुनुपर्छ ? सो प्रकारको नैतिकता, आचरण, योग्यता, क्षमता र दक्षता कसरी विकास गर्न सकिन्छ भन्ने कुरा व्यापक रुपमा सिकाउनुपर्छ । विशेषतः नागरिक तथा नेताको क्षमता अभिवृद्धि माउ पार्टीको भूमिका महत्वपूर्र्ण हुन्छ ।

पार्टीका गाउँ-टोलदेखि केन्द्रीय समिति तहअनुसारका सामाजिक, सांस्कृतिक, आर्थिक तथा पर्यावरणीय एजेण्डा निर्धारण गरी ती एजेण्डामाथि नियमित रुपमा पार्टीका सदस्य तथा मतदातासँग नियमित अन्तरक्रिया गर्ने र पार्टीको आचारसंहिताभन्दा तलमाथि गर्ने नेतालाई निगरानी गरी राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई सामाजिक बहिष्कार गर्न सकेमा स्थानीय तहदेखि नै राजनीतिप्रति जनआस्था सकारात्मक हुन्छ भने स्थानीय नागरिक पनि स्थानीय एजेण्डामा सक्षम हुन सक्छन् । सबै तहका नेता र सर्वसाधारण नागरिकको क्षमता अभिवृद्धि नभइञ्जेलसम्म अन्धविश्वास र रुढीवादी परम्परामा रुमल्लिएको नेपाली समाजमा परिवर्तन आउँदैन र बेतुकका कुराले समाजलाई निर्देशित गरी नै रहन्छन् । सरकारले भौतिक पूर्वाधार निर्माण गरे पनि नागरिकले त्यसको उपयोग गर्न सक्ने छैनन् भने बोक्सी, दाइजोप्रथा, छुवाछूत, छाउपडी, बाल विवाह, बहुविवाह, जातीय छुवाछूत, महिला हिंसा, भ्रष्टाचार जस्ता सामाजिक गलत प्रथा र सामाजिक अवरोधको शिकार भई नै रहन्छन् । त्यसकारण पार्टी र सरकारले संगठित रुपमा यस्ता कुप्रथामाथि सामाजिक रुपमा निर्मम रुपले प्रहार गर्नुपर्छ ।

यहाँ उल्लेख गरिएका यी चार आयाम एकदम साधारण र सजिला, तर विगतमा कुनै पनि सरकारले ध्यान नदिएका कुरा हुन् । देशको सकारात्मक रुपान्तरणका लागि जति साधारण भए पनि यी नगरी नहुने कुरा हुन् । निश्चित रुपमा मोजा वा अण्डरवेयर शरीरमा लगाइने कपडा हुन् र अन्य पोशाकको तुलनामा साधारण र सस्ता हुन्छन्, तर त्यसको अभावमा जतिसुकै महँगो पोशाक लगाए पनि वा बाहिर देखिने गरी लगाए पनि व्यक्तित्वको आत्मविश्वास वढ्दैन । त्यसैगरी राज्य सञ्चालनका यी चार आयामलाई सही तरिकाले व्यवस्थापन नगरी सुखी नेपाली, समृद्ध नेपालको नारा साकार हुन सक्दैन ।

असक्षम नेता तथा कर्मचारी भनेको भावी पुस्ता र देशको भाग्यका ग्रहण हुन् । यस्तो प्रतिस्पर्धी समयमा असक्षम व्यक्तिले निरन्तर अवसर पाउनु नै सबैभन्दा ठूलो दुर्भाग्य हो र विगत लामो समयदेखि यसैको शिकार हुँदै आएको छ यो देश र समाज ।

एक असल राजनेताले स्पष्ट र प्रेरणादायी दृष्टिकोण निर्माण गरेर सबै नागरिकलाई सहभागी गराई सामाजिक न्यायसहितको मार्गचित्रमा देशलाई अगाडि बढाउँछ, जहाँ फरक जात, लिंग र राजनीतिक आस्थाका बाबजुद सबै नागरिकले आत्मसम्मानित भएको र सुरक्षित भएको महसुस गर्छन् । पारदर्शी शासन प्रक्रियाको माध्यमले वर्षौंदेखिका अन्याय, अत्याचार, भ्रष्टाचारको समूल नष्ट गर्दै सिर्जनशील समाजको निर्माण गरेर समग्र देशको उत्पादकत्व अभिवृद्धि गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्छन् । स्थानीय समुदायलाई अधिकार सम्पन्न र सशक्तीकरण गरेर जलवायुमैत्री विकासका नीतिमार्फत दिगो विकासका लागि अवसर सिर्जना गर्दछन् ।

एक असल राजनेता भनेको सामाजिक अभियन्ता र वैज्ञानिक दुबै रुपमा प्रस्तुत हुन सक्छन् । वास्तवमा नेपाली प्रधानमन्त्रीका अगाडि नेपालको रणनीतिक भूगोल, युवा जनशक्ति, पर्याप्त मात्रामा प्राकृतिक स्रोत र साधनको सदुपयोग गर्ने अद्वितीय अवसर छन् । एक व्यवसायिक, दक्ष, इमानदार र सकारात्मक सोचसहितको सिर्जनशील व्यक्तिको सहयोगी समूह निर्माण गरेर संसारलाई चकित पार्ने विकास विकास रणनीति बनाएर अगाडि बढ्ने दुर्लभ अवसर यहाँलाई उपलब्ध भएको छ । वास्तवमा तपाईं जस्तो उच्च मनोबल र कल्पनाशील व्यक्तिले नै सकारात्मक सोच, काम र व्यवहारले नयाँ इतिहास निर्माण गर्न सक्छन् । पार्टीको सानो घेरा तोडेर बाहिर निस्केर दलीय व्यवस्थामा पनि सर्वमान्य नेतृत्व हुन्छ र विकासमा चमत्कार गर्न सक्छ भन्ने मानक स्थापना गरेर हामीलाई समाजवादी नयाँ नेपाल दिने तपाईंको चाहना बुलन्द बनोस् र शक्ति मिलोस्, तपाईलाई यही शुभकामना !

(डा.लामिछाने इस्टर्न रिसर्च इन्स्टिच्युट अफ पोजिटिभ साइन्सका प्रमुख कार्यकारी हुन् ।)


प्रतिक्रिया

One thought on “नयाँ इतिहास रच्न ओलीसामु चार आयाम

  1. सदाचार विचारकाे लागि पढ्ने पात्र काेहि छन् र यस्काे लागु हाेला संका लाग्छ मलाई त किन कि सत्ता साझेदारले देशका सबै अध्याेगिक आधारहरू खुला अर्थतन्त्रकाे नाममा सिध्दायका हाेईन्न र । अहिलेकाे सेयर बजार के पुजिकाे आधारमा उछालिएकाे हाे ? यस्ता अड्चन छन । सरल र मिठाे लेखकाे लागि धेरै धन्यबाद । अन्य नेताहरूकाे लागि पनि चेत खुलाेस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *