विपद्जन्य अवस्थाको परिचालन र समस्या: स्वदेशी गोताखोरलाई कहिलेसम्म उपेक्षा ?
सम्भावित विपद्को पूर्वानुमानबमोजिम सुरक्षा निकायको तयारी सदैव चुस्त दुरुस्त रहन्छ । विपद्जन्य अवस्थाको जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीहरू तुरुन्तै मुभ हुन्छन् र विपद् उद्धारमा परिचालन हुन सुरक्षाकर्मीले रत्तिभर ढिलो गर्दैनन् । यस कार्यका लागि सुरक्षा निकायहरूको उपल्लो तहसम्मको चेन अफ कमाण्ड तत्कालै सक्रिय भैसकेको हुन्छ भने स्थानीय रुपमा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समिति तथा विपद् व्यवस्थापन समिति र सम्बन्धित पालिकासमेत आवश्यक उद्धार कार्यका लागि सक्रिय भैसकेको हुन्छ । त्यस्तैगरी विपद्जन्य अवस्थामा समाचार सम्प्रेषणका लागि सञ्चार मिडिया एवं पत्रकारहरूको महत्वपूर्ण र सक्रिय भूमिका रहन्छ ।
हरेक विपद्सँग पीडा र मानवीय संवेदना जोडिएको हुन्छ । भूकम्पमा परेका, आगलागीले डढेका, पोलिएका, अङ्गभङ्ग भएका, सवारी दुर्घटनामा परेका, बाढीले बगाएका, पहिरोमा पुरिएर हराइरहेका वा ज्यान गुमाएका व्यक्तिका आफन्तजनबाट छिटोभन्दा छिटो हराएकाको खोजी होस्, घाइतेलाई चाँडो अस्पताल पुर्याइयोस्, मृतकका आश्रित परिवारलाई राहत दिलाइयोस् भन्ने अपेक्षा सधैं रहन्छ भने राज्यका अङ्गहरू निकायगत रुपमा आआफ्नो जिम्मेवारीअनुसारका उद्धार, सहकार्य र समन्वयमा तल्लीन रहेका हुन्छन् । यस्तो अवस्थामा नेपाल रेडक्रस सोसाइटी र स्थानीयवासीबाट प्राप्त हुने सहयोग र भूमिका जति नै मुक्तकण्ठले प्रशंसा गरे पनि कम हुन जान्छ ।
भौगोलिक बनावट र मौसमअनुसार घटनाका प्रकृति भिन्न हुन सक्छन् । तथापि ती सबै प्रकृतिका घटनाहरूमा पीडित पक्षले छिटोभन्दा छिटो नतिजाको अपेक्षा गर्दै उद्धारकर्मीले गर्दै गरेको र भैरहेको काममा चित्त बुझाइरहेको नहुन सक्छ । एउटै घटनामा पनि धेरै व्यक्ति घाइते भएको वा हराइरहेको हुन सक्छ, तर पीडित पक्षका हरेक व्यक्तिले आफ्नै मान्छेको छिटो उपचार गराउन पाए हुन्थ्यो, हराइरहेको आफ्नै मान्छे छिटो भेटिए हुन्थ्यो भन्ने अपेक्षा राखेको पाइन्छ । उहाँहरूको अपेक्षा जायज मान्न सकिन्छ, तर उद्धारकर्मीको नजरबाट हेर्ने हो भने उद्धारकर्मीले कुनै भेदभाव नराखी सबैलाई समान सम्झेर आफ्नो ज्यानको समेत पर्वाह नगरी, भोकप्यास नभनी उद्धार कार्यमा खटिएका हुन्छन् ।
पीडित पक्षले आफ्नो व्यक्तिगत अपेक्षासँग मेल नखाएको ठानेमा निजको पहुँचको आधारमा राजनीतिक नेतृत्वसमेतबाट दबाब दिने वा खोजी र उद्धार कार्य राम्ररी हुन नसकेको भनी मिडियाबाजी गर्ने कार्यले भने मरिमेटेर परिचालन भएका उद्धारकर्तामा सकारात्मक ऊर्जा प्रवाह हुन सक्दैन ।
मौसम, भूबनोट, पहिरो, बाढी सधैं एकै किसिमको नहुनसक्छ । कतिपय अवस्थामा उद्धारकर्मीको काबु बाहिरको स्थिति सृजना हुन्छ । उद्धारकर्मी आफू सुरक्षित हुन सक्यो भने न अरुलाई उद्धार गर्न सक्छ, तर पीडित पक्ष उद्धारकर्मीको सुरक्षाको विषयभन्दा पनि आफ्नै मान्छेको पिरले घोत्लिएको हुन्छ । यस्तो अवस्थामा पीडित पक्षले आफ्नो व्यक्तिगत अपेक्षासँग मेल नखाएको ठानेमा निजको पहुँचको आधारमा राजनीतिक नेतृत्वसमेतबाट दबाब दिने वा खोजी र उद्धार कार्य राम्ररी हुन नसकेको भनी मिडियाबाजी गर्ने कार्यले भने मरिमेटेर परिचालन भएका उद्धारकर्तामा सकारात्मक ऊर्जा प्रवाह हुन सक्दैन । खोजी कार्यमा तल्लीन उद्धारकर्मीहरूको मेहनतको प्रशंसा गर्दै समाचार प्रकाशन हुँदा भने मेहनतको कहीँ न कहीँबाट प्रशंसा पनि हुँदैछ भनेर परिचालन भएका सबै उद्धारकर्मी हर्षित पनि हुन्छन् । तसर्थ हरेक घटना घट्दा अग्रमोर्चामा खट्ने गरेका रेडक्रसकर्मी, स्थानीयवासी र सुरक्षाकर्मीलाई हौसला दिई थप सशक्त रुपमा खट्न र खटिन सक्ने बनाउनु जरुरी छ ।
विभिन्न प्रकृतिका विपद्जन्य घटनामा खोजी र उद्धार कार्यमा परिचालन हुँदा उद्धारकर्ताहरूले नै ज्यान गुमाउनु परेको पीडा हरेक वर्ष व्यहोरेका छौं । केही प्रतिनिधि उदाहरणको रुपमा लिने हो भने बाढीमा डुबेका व्यक्तिको उद्धारसम्बन्धी अभ्यास गर्ने क्रममा बझाङमा अघिल्लो महिनामा सशस्त्र प्रहरी जवानले ज्यान गुमाएका थिए । त्यस्तै केही महिनाअघि डोल्पामा आगलागी नियन्त्रणमा खटिएका नेपाली सेनाका अग्नि उद्धारकर्ताहरूले ज्यान गुमाउनुपर्यो । गोरखापत्र अनलाइनले यसै बैशाखमा प्रकाशित गरेको समाचारलाई आधार मान्दा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो जानकारीमा आगलागी र डढेलो नियन्त्रणमा खटिएकामध्ये २४ जनाको निधन भएको छ । यसरी विपद्जन्य अवस्थामा परिचालनको तयारी गर्दा होस् वा परिचालित हुँदाका बखत मृत्युवरण गर्नुपरे पनि उद्धारकर्ताहरू कहिल्यै पछि हट्दैनन् । उनीहरू सदैव दत्तचित्त र कटिबद्ध भई उद्धारमा खटिएका हुन्छन् ।
हामीले हालै पीडादायक सीमलताल घटना व्यहोरेका छौं । दुइटै बस हालसम्म फेला परेका छैनन् । सीमलताल घटनामा सुरक्षा निकायका तालिम प्राप्त गोताखोर टोली उपलब्ध साधनस्रोतसहित परिचालित छन् । उनीहरू आफ्नो कर्म र धर्म नछाडी खोजी कार्यमा जुटेका छन् । बगेका र डुबेका व्यक्तिका शव अनुमान गरिएकोभन्दा फरक ठाँउसम्म पुगेको हुनसक्छ । जुन कुरा सीमलतालबाट खोजी गरिएका व्यक्तिको शव पश्चिम नवलपरासीको सुस्तासम्म पुगेको पाइएपछि खोजी कार्यको दायरा बढेको छ । त्यसैगरी नदीमा डुबेका बस पनि अनुमान गरिएभन्दा परै पुगेको हुनसक्छ । उक्त बसको खोजी कार्यका लागि प्रकाशित समाचारहरूका अनुसार नेपाल सरकारले पछिल्लो समय भारत र बंगलादेशलाई अनुरोध गरेको छ । विपद्जन्य अवस्थामा आवश्यकताअनुसार मित्रराष्ट्रहरूको सहयोग लिन चाहनु सकारात्मक पक्ष हो । कामना गरौं, छिट्टै विज्ञ टोलीहरू आई उक्त बस फेला पार्न सफल होऊन् । यो घटनालाई सबैको साथ र सहयोगले मल्हमपट्टी लगाउने कार्य गरौं ।
विपद्जन्य अवस्थामा परिचालनको तयारी गर्दा होस् वा परिचालित हुँदाका बखत मृत्युवरण गर्नुपरे पनि उद्धारकर्ताहरू कहिल्यै पछि हट्दैनन् । उनीहरू सदैव दत्तचित्त र कटिबद्ध भई उद्धारमा खटिएका हुन्छन् ।
यसलाई अर्को पाटोबाट हेर्दा प्रश्न उठ्नु स्वाभाविक हो, नदीमा खसेको बस खोज्न बाह्य मुलुकलाई गुहार्नुपर्ने अवस्थाको अन्त्य कहिले हुने त ? नदीजन्य उद्धारमा नेपालका गोताखोरहरूलाई कम आंकलन गरियो भने अन्याय हुन्छ । बंगालादेशबाटै तालिम लिई आएका सशस्त्र प्रहरी बल नेपालका गोताखोरहरू छन् । उनीहरूसँग नेपालकै तीव्र बहावका नदीमा परिचालन हुनसक्ने खुबी छ । यसरी क्षमतावान गोताखोरहरू नेपालमै छन् । दुई साताअघि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले नेपालमा गोताखोरको संख्या ११० पुगेको जानकारी दिनुभएको थियो । नेपालका गोताखोरहरूले बहावको हिसाबले उद्धार कार्यमा अप्ठेरो मानिने नदीहरू कोशी, त्रिशूली, कर्णालीमा निरन्तर अभ्यास गरेर आफूहरूलाई खरो रुपमा प्रस्तुत गरिरहेका छन् । उनीहरू चुस्त दुरुस्त र अनुभवी छन्, तर पनि कतिपय उपकरणको अभावमा प्रभावकारी सम्पादनमा कठिनाइको सामना गरेको हुनसक्छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय योजना तयार गरी विपद् व्यवस्थापनको नेतृत्वदायी भूमिकामा रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केन्द्रमा बसेर बनाउने कार्ययोजनाले फिल्ड तहमा खटिने गोताखोर र विपद्मा परिचालन हुने उद्धारककर्मीलाई सहज हुने नीति नियम बन्यो कि बनेन केलाउनु जरुरी छ ।
उद्धारकर्मीलाई फिल्डमा खटिरहेको बखत लाग्छ कि यो किसिमको नयाँ सामान भएमा हामी यतिसम्मको जोखिम मोलेर अगाडि बढ्न सक्छौं । इक्युप्मेन्टको अभावमा गोताखोर र उद्धारकर्मी खुम्चनुपर्ने अवस्थाको अन्त्यका लागि पहल गर्नु जरुरी छ । प्राधिकरणको कार्ययोजनामा सुरक्षा निकायलाई दिइएको जिम्मेवारीअन्तर्गत आवश्यक उपकरण, औजार, सामग्रीसहित दक्ष जनशक्तिलाई तयारी अवस्थामा राख्ने उल्लेख गरिएको छ, तर यसमा आवश्यक उपकरण औजारहरूमा के कस्ता कुराहरू पर्छन् भन्ने खुलाएको पाइँदैन । विपद् उद्धारमा खटिने प्रत्येक सुरक्षा निकायका युनिटहरूलाई भूबनोट र मौसमअनुसारका आवश्यक सामग्री उपलब्ध गराउन सक्नुपर्ने हुन्छ । उद्धारमा खटिने सुरक्षाकर्मीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बनाएको नीतिले उपयुक्त सम्बोधन गर्न सक्नुपर्छ । जीउज्यानको प्रवाह नगरी जोखिम मोलेर विपद्जन्य अवस्थामा खटिने उद्धारकर्मीहरूलाई सहज किसिमले काम गर्ने वातावरण दिन सक्नुपर्छ । आवश्यक सामग्री, उपकरण र औजारहरूको अभावको कारणले जनताले दुःख खेप्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ । प्राधिकरणले आगामी दिनमा विभिन्न चरणमा गोताखोरलगायत अन्य उद्धारकर्मीसँग अन्तरक्रिया गरी भावी योजना तयार गर्न सकेमा विदेशबाट गोताखोर झिकाउनुपर्ने अवस्थाको अन्त्य हुनसक्छ ।
(पौडेल सशस्त्र प्रहरी बल नेपालका पूर्व डीएसपी हुन् ।)
नेपाली र नेपाल दुबै लाई बिश्वास गर्नु पर्छ दाजु । बिदेश र बिदेशी मात्रै राम्रो र गतिलो देख्ने हाम्रा आँखा को दोष हटाउनै पर्छ । लेख मन पर्यो ।