‘कांग्रेस-एमालेले अविश्वास बिर्सिएर देशका लागि केही जोखिम उठाउनुपर्ने थियो, उठाए’ (भिडिओ) – Nepal Press

‘कांग्रेस-एमालेले अविश्वास बिर्सिएर देशका लागि केही जोखिम उठाउनुपर्ने थियो, उठाए’ (भिडिओ)

मिनेन्द्र रिजाल भन्छन्- एउटै दलले बहुमत ल्याउन सक्नेगरी समानुपातिक संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले राजनीतिक नेतृत्वबाट नागरिकमा परेको निराशा चिर्न नेपाली कांग्रेस र नेकपा एमालेले जोखिम उठाएको बताएका छन् ।

अहिलेको राजनीति र राजनीतिबाट देशमा चुलिएको निराशालाई चिर्नका लागि कुनै न कुनै बेला कांग्रेस-एमाले एक हुनुपर्ने अवस्थालाई मध्यनजर गरी एकपटक एक ठाउँमा उभिएको जिकिर उनको छ । एमाले र कांग्रेसले आफ्ना बीचका अविश्वासलाई बिर्सेर देशप्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर जोखिम उठाएको भन्दै रिजालले एमाले र कांग्रेसका शीर्ष नेताहरू देशका लागि आफ्नो छाप छोड्न एक ठाउँमा उभिएको बताए ।

आगामी दिनमा पनि दुवै नेता (देउवा र ओली) जोखिममा रहेको भन्दै उनले जोखिमका बाबजुत पनि संविधानलाई कहीँ न कहीँ अहिलेसम्मको अभ्यासबाट समृद्ध बनउन आवश्यक रहेको बताए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा रिजालले अहिलेको संविधान छुँदै नछोएको नभई अहिलेसम्म दुई पटक संशोधन भइसकेको बताएका छन् ।

शासनलाई ठीक बाटोमा नलग्दासम्म समस्या आइरहने भएकाले कांग्रेस र एमालेले शासनलाई ठीक बाटोमा लैजान आवश्यक रहेको उनले बताए । एउटाले अर्कोलाई झुक्याउन खोज्न र सत्ताकै लागि मात्रै झगडा गर्ने कुराबाट जनता आजित भइसकेको भन्दै अब देश विकासका लागि काम गर्नुपर्ने रिजालले बताए ।

रिजाल भन्छन्

जोखिम छ दुवैलाई । एउटालाई मात्रै छ भन्दिनँ मैले । हामी कहाँ बढी होला जोखिम । किनकी हामी कुरेर बस्ने पार्टी छौं । ओलीजीले अहिले नै सुरू गर्नुहुन्छ । त्यसकारण जोखिम छ, नभएको होइन । तर, जोखिमको बाबुजुत हामीले पहिला बनाएको संविधानलाई कहीँ न कहीँ अहिलेसम्मको अभ्यासबाट अझ समृद्ध गर्नुछ । परिमार्जन गर्नुछ । यो संविधान छुँदै नछोएको संविधान होइन । दुई वटा संशोधन भइसक्यो । त्यसमध्ये एउटा संशोधन त मैले हालेको संशोधनलाई स्वीकार गरेर भएको हो । त्यसैले यो जीवित दस्तावेज हो । पहिले २०४७ सालको संविधान नचलाउने भन्दा त्यसलाई हामीले फाल्नुपर्ने अवस्था सृजना भयो ।

त्यसैले संविधानलाई अहिलेसम्मको अनुभव, संघीयताको अनुभव, स्थानीय तहको प्रभावकारिताको अनुभव, अन्तर प्रदेशको समन्वयको अनुभव, संवैधानिक निकाय र अंग, न्यायालयहरुको नियुक्ति । र त्यो नियुक्तिमा आवश्यक सुधार नहुने हो भने ती निकायहरु कार्यकारिणीप्रति नतमतस्क हुने जस्तो बाध्यता सृजना हुन्छ थाल्छ । त्यतातिर ध्यान दिनुछ । केही काम गर्नुछ । त्यो काम गर्नका लागि काँग्रेस र एमाले कसरी तयार हुनुपर्छ भने एउटा पार्टी सत्तामा जाने, एउटा पार्टी प्रतिपक्षमा बस्ने हो । त्यो प्रतिपक्षमा बस्ने पार्टीले भोलि प्रतिपक्षमा बस्दापनि लोकतन्त्रको मुल आधारभुत मान्यताहरुमा तलमाथि नहुने स्थितिमा आश्वस्त रहनसक्छ भनेर यो जोखिम उठाउनुपरेको थियो । त्यसैले यो जोखिम उठाउनुभएको छ । दुवै नेताहरुलाई त्यस अर्थमा मैले बधाई दिनुपर्छ ।

संविधानलाई अझ बढी समृद्ध बनाउन कांग्रेस र एमालेले पूरै देशलाई आश्वस्त पार्न सक्नुपर्छ

देश विकासका लागि काम नगर्ने हो भने आगमी निर्वाचन दुवै पार्टीका लागि कठिन हुने रिजालले बताए । कांग्रेसका लागि अझ बढी कठिन बन्ने उनको निष्कर्ष छ । निर्वाचनमा जाने क्रममा मधेश, शहरी क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले दुवैले आफ्नो बलियो आधार गुमाएको जिकिर गर्दै नेता रिजालले आधार गुमाउँदै जाँदा आगामी दिनमा दुवै दलको राजनीति सहज नहुने स्वीकारे ।

दुवै दलका नेताले आफ्नो कार्यकाललाई अब जनताले स्मरण गर्नसक्ने गरी योगदान दिनसक्नुपर्ने पनि उनले बताए । संविधानलाई अझ बढी समृद्ध बनाउने कुरामा कांग्रेस र एमालेले पूरै देशलाई आश्वस्त पार्न सक्नुपर्ने भन्दै उनले पार्टीको तर्फबाट सबै नेताहरूको सहयोग वर्तमान सरकारलाई रहने प्रष्ट्याए ।

रिजालको थप भनाइ यस्तो छ

मेरो पार्टीका लागि बढी जोखिम छ यसकारणले कि हामीहरू यो निर्वाचनमा जाने क्रममा एउटा बलियो आधारलाई हामीले गुमाएका छौं । शहरी क्षेत्रमा हाम्रो निकै नै आधार गुमेको छ । हुन त दुवै पार्टीको हेर्दा हाम्रो ७ प्रतिशत गुम्यो, एमालेको ६ प्रतिशत गुम्यो । एमालेको ६ प्रतिशतमध्ये ३ प्रतिशत माधवजीको पार्टीले लगेको मत हो नि ! त्यस अर्थमा उहाँहरूले ३ प्रतिशत गुमाउनु भयो । हामीले ६ प्रतिशत गुमायौं । २०६४ सालदेखिको अनुभवमा मधेशमा र अन्य ठाउँमा हामीले राम्रो मत पाउँथ्यौं । मधेसमा त्यो मत पाउँदा हामीले थुप्रो जित्थ्यौँ । त्यो आधार हामीले गुमाएका थियौं ।

आजको दिनसम्म मेरोको सट्टा हाम्रो हुन्छ । हाम्रो भन्दा कांग्रेस र एमालेको हुन्छ । तर, त्यो जिम्मेवारी मेरो हो भन्ने ठाउँसम्म नपुर्‍याउँदा जनता आश्वस्त हुँदैनन् । जनता आश्वस्त नहुँदासम्म जनताले अहिले पनि आशंका गरिरहेका छन् कि अर्को सत्ता परिवर्तनको खेलमात्रै हो भनेर । अनि हामी त्यसको बन्दी बन्न जान्छौं । त्यसकारण पहिला जनतामा चुलिएको निराशालाई कम गरौं ।

यसरी आधार गुमाउने हो भने हाम्रा लागि आगामी दिनको राजनीति सहज नहुने अवस्था छ । ओलीजीको आफ्नो शैलीले एमाले चाहीँ माथितिर लागिराखेको छ भन्ने एउटा इम्प्रेशन दिन सक्नुभएको छ । त्यस किसिमले आश्वस्त गर्न सक्नुभएको छ । र आफ्नो लिडरसिपको समय पनि उहाँको लागि अलि धेरै छ । हाम्रो पार्टीको सभापति अन्तिम कार्यकालका लागि हुनुहुन्छ । उहाँले सबै काम सकेर पार्टीले निर्वाचनमा जित्न सक्ने खालको, देशमा कुनै दुर्घटना नपर्ने खालको र आफूले पार्टी र देशमा छोड्न चाहेको उतरदानलाई सुनिश्चित गर्नुपर्ने खण्ड छ । तर, सँगसँगै कठिनाई छ । यसकारण छ कि संविधानलाई सबैभन्दा अगाडि राखिदिउँ भने हामीले त्यसका बारेमा शंका गर्ने आधार बढी हुन्छ । जनताले हामीसँग खोजेको संविधानमा के छ, त्यो नेताले हेर्लान् । संविधानले एउटा प्रोसेस खोज्छ । हिजो संविधान सभाबाट बनाएको संविधान आज मान्छेसँगको कुराकानी गरेर प्रेसेसमा अघि लैजानुपर्छ । त्यो भन्दा अगाडि एउटा राजनीतिक पुँजी निर्माण गर्नुछ । त्यो भनेको शासनलाई ठीक बाटोमा नलाग्दासम्म, कि यो जिम्मेवारी मेरो हो भन्ने ठाउँमा नपुर्‍याउँदासम्म ।

आजको दिनसम्म मेरोको सट्टा हाम्रो हुन्छ । हाम्रो भन्दा कांग्रेस र एमालेको हुन्छ । तर, त्यो जिम्मेवारी मेरो हो भन्ने ठाउँसम्म नपुर्‍याउँदा जनता आश्वस्त हुँदैनन् । जनता आश्वस्त नहुँदासम्म जनताले अहिले पनि आशंका गरिरहेका छन् कि अर्को सत्ता परिवर्तनको खेलमात्रै हो भनेर । अनि हामी त्यसको बन्दी बन्न जान्छौं । त्यसकारण पहिला जनतामा चुलिएको निराशालाई कम गरौं । कांग्रेस र एमालेले आफ्नो आधारलाई फेरि पुनःजागृत गर्न सकोस् । त्यो पुनःजागरण भएपछि अनि प्राप्त भएको राजनीतिक पुँजीबाट हामीले संविधानको अभ्यासबाट पाएका कठिनाईहरुलाई बदल्ने काममा लाग्यौ भने हामी सहज रुपमा जान्छौं । अहिले पनि भन्छु-मूल कुरा एउटाले अर्कोलाई झुक्याउन खोज्ने हो भने दुई वटै पार्टीका लागि जति पनि ठाउँ छ । अलिकति बढी प्रधानमन्त्रीको पार्टीलाई होला । सत्ताको शुरुवात छ । हाम्रो पछिल्लो चरण हुन्छ ।

तर, त्यस खेलबाट जनता आजित छ । त्यो खेलमा मात्रै हामी सीमित भयौँ भने हामीले जुन विरासतमा प्राप्त गरेको पार्टी हौं । यो विपी कोईरालाले स्थापना गरेको पार्टी, आजसम्म विरासतमा छ । उताको पार्टीले पनि ठूल्ठूला नेताहरुले, ठूल्ठूला आन्दोलनबाट ठूल्ठूला वैचारिक दृष्टिकोणबाट यहाँसम्म आईपुगेको पार्टी हो । त्यो शिलशिलाको एउटा बलियो नेता ओलीजी हुनुहुन्छ । अब छोड्ने कुरा त उहाँका लागि पनि महत्वपूर्ण छ नि । अब के छोड्ने होला योगदानका रुपमा । त्यसैले यो संविधान बनाउने बेलामा कांग्रेस र एमालेसँगै थियो । यो संविधानलाई अझ बढी समृद्ध बनाउने कुरामा काँग्रेस र एमाले पूरै देशलाई आश्वस्त गर्न सकोस् । र साना पार्टीहरुलाई आज मैले केही पनि भन्दिनँ । यति भन्छु कि आफ्नो काम बिग्रँदाखेरी ग्रेस चाहिन्छ । काम सप्रिँदाखेरी ह्युमिनिटी चाहिन्छ । अभिमान होइन । अभिमान देखाउँदैनौ हामी । तर यति चाहीँ भन्छौं–जनताको म्याण्डेटको व्याख्या १३८ सांसद मसँग छ भनेर हुन्न भन्ने कुरालाई स्वीकार गरेर गयौं भने उहाँहरुले पनि आफ्नो भुमिका र आफूले प्राप्त गरेको जनमत र आफ्नो जनमतलाई बिस्तारित गर्ने भोलिका सम्भावनाहरुलाई जोगाएर राख्न सक्नुहुन्छ । यही काममा जुटौं ।

उनले परिवर्तनकारी शक्तिको नाम लिएर उदाएका नयाँ राजनीतिक दलहरूको परिवर्तनको एजेण्डा कमजोर भएको टिप्पणी गरे । नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै उनले २०६४ सालमा उदाएका राजनीतिक दलहरूको परिवर्तनकारी एजेण्डा ओझेलमा परेको बताए । सत्तादेखि सत्तासम्मका लागि राजनीतिक हुँदा परिवर्तनको नाममा उदाएका कुनैपनि शक्तिले आफ्नो अन्तिम बिन्दुसम्म पुग्न नसकेको रिजालको जिकिर छ । परिवर्तनलाई प्रतिनिधित्व गरेर बलियो प्रतिपक्ष बन्न आग्रह गर्दै उनले मधेशी राजनीतिक दलहरुले पनि सत्तामोहमा फसेर आफ्ना एजेण्डाहरु बिर्सिएको बताए ।

गत निर्वाचनमा ओलीले कांग्रेस-एमाले एक्लाएक्लै चुनाव लड्न आग्रह गरेको स्मरण गर्दै आफू पनि सोही पक्षमा रहेको रिजालले बताएका छन् । तर, सभापति देउवाले माओवादीसँग मिलेर चुनाव नलड्दा माओवादी एमालेसँग मिल्न जाने कुरालाई मध्यनजर गरी सँगै चुनाव लड्नुपरेको उनले सुनाए । परिणामतः निर्वाचनलगत्तै प्रचण्ड एमालेसँग मिलेर सरकार बनाउन गएको पुष्टिले सभापति देउवाको सोचलाई स्वीकार गर्न बाध्य भएको रिजालको भनाइ छ ।

त्यसैले पनि अहिलेको निर्वाचन प्रणालीलाई परिमार्जन र संशोधन गर्न आवश्यक रहेको उनी बताउँछन् । संशोधन र परिमार्जन भनेको अहिले बाहिर आएको भ्रम जस्तै नरहेको भन्दै उनले समुदाय, पहिचान, महिला, आदिवासी, जनजातिमध्ये पनि अल्पसंख्यकको, मधेसीहरूमध्ये पनि अल्पसंख्यकको प्रतिनिधित्वको बाटो यथावत राखी एउटा पार्टीले एक्लै बहुमत पाउन सक्ने गरी समानुपातिकको संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् । त्यो हुनसके मात्रै कुनै एक पार्टीले बहुमत नजिक वा बहुमत प्राप्त गर्नसक्ने रिजालको बुझाइ छ ।

नेता रिजालले जनताले खोजेको परिवर्तन, विकास र समृद्धिलाई मध्यनजर गरी वर्तमान सरकारले काम कारबाही अघि बढाउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर