चितवन मेडिकल कलेजमा रोकिएको स्वास्थ्य बीमा कार्यक्रम सुरु – Nepal Press

चितवन मेडिकल कलेजमा रोकिएको स्वास्थ्य बीमा कार्यक्रम सुरु

चितवन । देशभरमा निजीतर्फ सबैभन्दा पहिले स्वास्थ्य बीमा कार्यक्रम सुरु भएर दुई वर्षदेखि रोकिएको चितवन मेडिकल कलेजले स्वास्थ्य बीमा कार्यक्रम पुनः शुरु गरेको छ ।

कलेजले आज साउन १ गते मङ्गलवारदेखि लागु हुनेगर स्वास्थ्य बीमा कार्यक्रमको पुनः सञ्चालन गरेको हो । चितवन मेडिकल कलेजमा २०७४ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको थियो ।

तर, स्वास्थ्य बीमा बोर्डले २०८९ सालदेखि कलेजसँग गरेको सम्झौता रोकी बीमा कार्यक्रमबाट हात झिकेको थियो । अस्पतालका निर्देशक प्राध्यापक डाक्टर दरायराम लम्सालले स्वास्थ्य बीमा बोर्डसँग गत जेठ १८ गते सम्झौता गरी पुनः स्वास्थ्य बीमा कार्यक्रम थालनी गरेको बताए ।

बीमा कार्यक्रम लागु भए पनि उपचारको लागि आकस्मिक बाहेकको अवस्थामा गएका बिरामीले पहिलोपटक बीमाको उपचार भने पाउँदैनन् । प्रा.डा. लम्सालका अनुसार अन्य सरकारी स्वास्थ्य संस्थामा जाँच गरी त्यहाँ उपचार सम्भव नभएको रिफर र अस्पतालको नाम सहित आएमा मात्रै सिएमसीमा उपचार लिन सकिन्छ ।

‘हामी रेफरल अस्पताल हौँ, मङ्गलवार अस्पतालले गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. लम्सालले भने, ‘अस्पतालको नामसहित रिफर लिएर कागजपत्रसहित आएका बिरामीले उपचार पाउँछन् । अहिले स्वास्थ्य बीमा बोर्डले बीमाबाट उपचार हुने अस्पतालमा नागरिकको र सरकारको साझेदारीमा उपचार हुने व्यवस्था गरेको छ । जस अनुसार सरकारी अस्पतालमा उपचार गर्न जाने बिरामीले लागेको रकमको १० प्रतिशत भुक्तानी गर्नुपर्छ भने निजी अस्पतालमा बीमाबाट नै उपचार गर्न जाने बिरामीले कुल रकमको २० प्रतिशत शुल्क आफैले भुक्तानी गर्नुपर्छ । सोही अनुसार चितवन मेडिकल कलेजमा उपचार गर्न जाने बिरामीले पनि २० प्रतिशत खर्च रकम आफैले बेहोर्नुपर्ने व्यवस्था छ ।’

विभिन्न अस्पतालहरूमा बीमा र सामान्य अवस्थाका बिरामीको उपचारमा फरक व्यवहार हुने गुनासोकोबीच पुनः सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमबारे बताउँदै अस्पतालका निर्देशक डा. लम्सालले भने, ‘शतप्रतिशत बिरामीको बीमामार्फत उपचार हुन्छ भन्ने मान्यतामा सिएमसीले काम गरिरहेकोले हामीहरूले उहाँहरूमा गर्ने व्यवहारमा केही भिन्नता हुँदैन ।’

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले यसअघि स्वास्थ्य बीमा बोर्डबाट लामो समय बीमाको भुक्तानी लामो समयसम्म नआउँदा बीमा कार्यक्रम अगाडि बढाउन नसकिएको बताए ।

उनले भने, ‘पहिलेको पनि केही रकम अझै आउन बाँकी छ । अबको बीमा कार्यक्रममा भने दुई दुई महिनामा भुक्तानी आउने गरी सम्झौता भएको छ ।’

चितवनको भरतपुरमा रहेको मेडिकल कलेजले गत आर्थिक वर्षमा एक लाख ८४ हजार बिरामीलाई बहिरंग सेवामा उपचार दिएको जनाएको छ । सोही वर्ष एक लाख रुपियाँसम्म छुट लिने बिरामीको संख्या ९ सय ९१ र ६ हजार २ सय ३१ जनाले निःशुल्क डाइलाइसिस सेवा लिएका पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर