हरभजन, युवराज र रैनाको डान्स स्टेप विवादमा, अपांगताको खिल्ली उडाएको भन्दै प्रहरीमा उजुरी
काठमाडौं । अपांगताको खिल्ली उडाउने खालको डान्स स्टेपले भारतका तीन दिग्गज क्रिकेटरहरु विवादमा परेका छन् । हालै आयोजित वर्ल्ड च्याम्पियन्स अफ लिजेन्ड्समा उपाधि जितेपछि उनीहरुले गरेको डान्स स्टेपविरुद्ध प्रहरीमा उजुरीसमेत परेको छ ।
उक्त प्रतियोगिताको फाइनलमा भारतले पाकिस्तानलाई हराएको थियो । उपाधि जितेपछि भारतीय टीमका कप्तान हरभजन सिंहले सामाजिक सञ्जालमा भिडिओ पोस्ट गरेका थिए ।
उक्त भिडिओमा हरभजनसहित युवराज सिंह, सुरेश रैनाले एउटा सेलिब्रिसनका नाममा अपांगको हाउभाउसहित डान्स गरेका छन् । खासमा यो डान्स स्ेटप उनहिरुले हालै रिलिज भएको बलिउड फिल्म ‘ब्याड न्यूज’ बाट कपि गरेका थिए ।
उक्त भिडिओलाई भारतकै अपांग समुदायबाट आलोचना भएको छ । पारा स्वीमर साम्स आलमले यो कार्यलाई खेदजनक र अस्वीकार्य बताए ।
उनले इन्स्टाग्राममा लेखेका छन्, ‘हरभजन र सम्मानित टिम सदस्यहरु । खेलपछि शरीरमा हुने थकान र पिडालाई हामी बुझ्न सक्छौं, तर जुन तरिकाले तिमीहरुले सोसल मिडियामा अशक्त समूदायलाई होच्याउने गरी प्रस्तुत गरेका छौ त्यो हामीलाई स्वीकार्य छैन । मलाई थाहा छ कि मेरो प्रतिक्रियाले तिमीहरुलाई केही फरक पर्नेवाला छैन । तर कल्पना गर कि तिमीहरुको कोही नजिकको व्यक्तिलाई यस्तो भएको होस । त्यो अवस्थामा पनि उनीहरुको पीडालाई यसैगरि खिल्ली उडाउन सक्छौ ?’
पछि प्यारालम्पिक इन्डियाले पनि उक्त पोस्टमा रियाक्ट गर्दै यो कार्य असंवेदनशील र घृणित भएको बताएको छ ।
उसले लेखेको छ, ‘यो व्यवहार घृणित र असंवेदनशील छ । स्टार सेलिब्रिटीहरुले सकारात्मक उदाहरण प्रस्तुत गर्नुपर्ने हो । तर अशक्तहरुको अभिनय गरेर र उनीहरुको शारीरिक दुर्वलताको खिल्ली उडाएर भिडिओ बनाउने विभेदको एउटा रुप हो । उनीहरुले आफ्नो कार्यका लागि क्षमायाचना गर्नुपर्छ ।’
आलोचनापछि प्रष्टीकरण दिँदै हरभजनले आफूहरुले अपांगताको खिल्ली उडाएको नभएर प्रतियोगितामा खेल्दाको थकान र पीडालाई अभिव्यक्त गरेको बताएका छन् । उनले माफी माग्दै भिडिओ पनि हटाएका छन् ।
यसैबीच तीन क्रिकेटरविरुद्ध भारतीय प्रहरीमा उजुरी परेको छ । नेसनल सेन्टर फर प्रमोसन अफ इम्प्लोइमेन्ट फर डिसएबल पिपलका अध्यक्ष अरमान मलिकले उजुरी दिएका हुन् ।
उनले संसारमा सबैभन्दा बढी अपांगहरु भारतमा नै भएको भन्दै क्रिकेटरहरुको कार्यले भारतका १० करोड अपांगहरुको अपमान भएको बताए । संसद सदस्यसमेत रहेका हरभजनको यो हर्कत लाजमर्दो भएको उनको टिप्पणी छ ।